जता पनि भ्वाङ टाल्न गाह्रो बरिलै

काठमाडौंबाट जाँदाका ‘विद्यार्थी’, पोखराबाट फर्किंदा ‘तरुण’ बनेपछि कांग्रेस नेताका घर–घरमा बबाल मच्चिएको छ ।
हिजो मंगलबार विहान रामशरण महतको घरमै रामचन्द्र पौडेल पक्षधर तरुणहरु पुगेर भन्दै थिए, ‘हामी समानान्तर केन्द्रीय समिति बनाउँछौँ, समर्थन चाहियो ।’ रामशरणले ‘रामचन्द्रबाट भएको गल्तीको हिसाब खोज्छौँ, तर तपाईंहरु त्यस्तो काम नगर्नुस्’ भनेर फर्काइदिए ।

चुनाव नै हुँदा पनि तरुण दल जित्ने देउवा पक्षले नै थियो । तर, पनि देउवा–रामचन्द्र ‘सेटिङ’ मा नयाँ नेतृत्व घोषणा गरिनुपछाडिको अन्तरकथा बेग्लै छ । यसअघि नेविसंघ र महिला संघमा देउवासँगको गठबन्धनमा कृष्ण सिटौला पक्षले छानी–छानी महामन्त्री लग्यो । तर, तरुण दलको पदाधिकारीका विषयमा सिटौलापक्षले दुःख दिनसक्ने अवस्था भयो । नेविसंघ र महिला संघमा पौडेल पक्ष ‘साफ’ भएपछि राजनीति जोगाउने धर्मसंकटमा पुगेका रामचन्द्रहरुलाई जसरी पनि तरुण दलमा उपस्थिति चाहिएको थियो ।

शाहीकालीन मन्त्री प्रकाश कोइरालापुत्र सिद्धार्थ, प्रकाशमानका छोरा प्रवासमान, रामशरणका भाइ रमेश महतलाई केन्द्रीय पदाधिकारी बनाउने योजनामा देउवा सहमत थिए । तर, देउवाका लागि ती मान्छे भन्दा डडेल्धुराका सभापति कर्ण मल्ल घाँडो बने । कर्ण पहिला पनि तरुण दल केन्द्रीय सदस्य हुन् । देउवा र आरजुको इच्छाविपरित दोस्रोपटक पार्टी जिल्ला सभापति भए । अहिले तरुण दलमा जसरी पनि सभापति नै उठ्ने भनेर अगाडि बढिसकेका थिए । तर, यसअघि डडेल्धुराकै नैनसिंह महर नेविसंघ सभापति बनिसकेका थिए, देउवाकै बलमा । चुनाव गराएर बागी उम्मेदवार, त्यो पनि आफ्नै जिल्लाको नेताबाट व्यहोर्नुभन्दा रामचन्द्रले पनि बाँडफाँड गरौँ भनिरहेको अवस्थामा देउवा त्यही बाटोतिर लागे । नेविसंघ सभापतिको उम्मेदवारीबाट फिर्ता गराइँदा पार्टी केन्द्रीय सदस्यको बचन दिइएका जितजंगलाई तरुण दल सभापति बनाउने कुरा देउवाले कर्ण र जितजंगलाई सँगै राखेर गरे । जबकि, जितजंग तरुण दलका साधारण सदस्य पनि हैनन् ।

यतिबेलासम्म रामचन्द्रले महामन्त्री पाए सहमतिमा आउने खबर पठाइसकेका थिए । त्यसपछि सिटौलाले उत्तम चापागाईं उपाध्यक्षमा, रामचन्द्रले महामन्त्रीमा भूपेन्द्रजंग शाही र खुमबहादुरले विद्वान गुरुङलाई कोषाध्यक्षमा प्रस्ताव गरेपछि त्यसैलाई निर्णय मानेर सार्वजनिक भयो । यसअघि गगन थापाहरु बेग्लै प्यानलसहित चुरिफुरी देखाउन थालिसकेका थिए । रामचन्द्रले देउवासँग मिल्ने गन्ध पाएपछि बल्ल सिटौला भागबण्डाका लागि सक्रिय भएका हुन् । देउवाले भारतबाट फर्किएपछि तरुण दल नेतृत्वका आकांक्षीलाई भन्दै आएका थिए । ‘उताबाट पनि कम्युनिष्टलाई कमजोर बनाउन रामचन्द्रलाई साथ लिएर हिँड भनेका छन् ।’ यस्तो खेलो चलाइँदा अर्को काम पनि फत्ते भएको विश्लेषण हुने गरेको छ । त्यो हो, लामो समयदेखि तरुण दलमा रहेको बालकृष्ण खाँणको दबदबा अन्त्य ।

विमलेन्द्र निधी, प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, पूर्णबहादुर खड्का, एनपी साउद, चन्द्र भण्डारी, किशोरसिंह राठौरहरुले देउवालाई भन्ने गरेको हो, खाँणको दबदबा अन्त्य गरौं । यस्तो गोलमालबीच देउवाका कर्ण मल्ल, पदम पालुङ, जन्मजय तिमल्सिना, रामचन्द्रतिरका दामोदर कोइराला, लक्ष्मी खतिवडा, टेकराज पौडेल, मेदिनी सिटौलाहरु हल्लामा मात्र उम्मेदवार भए । उनीहरु पोखराबाट हिस्स परेर फर्किने स्थिति बन्यो । रामचन्द्र पक्षबाट उम्मेदवार बनेकामध्ये लक्ष्मी पहिलाकी प्रजातान्त्रिक कांग्रेस हुन् भने मेदिनी कृष्ण सिटौलाका साख्खै भतिजो ।

महाधिवेशन उद्घाटनको भोलिपल्ट बन्दसत्र भयो । बाहिरबाट नेतृत्व ल्याउने छनक पाइसकेका प्रतिनिधिहरुले पहिलो दिनै हल्ला गर्दै थिए, ‘बाहिरको हुँदैन’ भनेर । अनि, भोलिपल्टदेखि बन्दसत्र पनि भएन । मतदाता नामावली पनि प्रकाशित भएन । निर्वाचन समिति बन्यो, बरिष्ठ अधिवक्ता बाबुराजा जोशी, पूर्वअध्यक्ष विनोद कायस्थहरु सम्मिलित । तर, पदाधिकारी घोषणा गरेको पत्तो निर्वाचन समितिले पाएन । विनोद कायस्थ भन्दै थिए, ‘यो कांग्रेस सिध्याउने नौटंकी हो ।’

टिप्पणीहरू