बालुवाटारमा दौरा-सुरुवाल लगाउने २ जना

बालुवाटारमा दौरा-सुरुवाल लगाउने २ जना

एमालेको शुक्रवार र शनिवार बालुवाटारमा आयोजित केन्द्रीय समिति बैठकमा सबैजसो नेता अनौपचारिक पोशाकमा देखिनुभयो । तर,दुबै दिन दौरा सुरुवालमा चिटिक्क परेर प्रस्तुत हुनेचाहिँ जम्मा दुई जना हुनुहुन्थ्यो -प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतम ।

सरकारी जिम्मेवारीका हिसाबले प्रधानमन्त्रीले दौरा,सुरुवाल लगाउनु मुनासिब हो । भलै शनिवार नितान्त अनौपचारिक दिन र पार्टी कार्यक्रम थियो ।

त्यहि क्रममा अध्यक्ष ओलीले सांकेतिक रुपमा बोल्दै बघिनी त्यतिबेलासम्म चूप बस्छे जतिबेलासम्म डमरुमाथि कसैले आँखा लगाउँदैनन् भन्नुभयो । एमालेमाथि तीब्र प्रहार भएको अर्थमा उहाँले उदघोष गर्नुभयो, ‘डमरुमाथि धावा बोलियो भने असाधारण ढंगले बघिनीमा शक्ति आउँछ । हामीले बनाएको पार्टीमाथि कसैले धावा बोल्छ भने त्यतिबेला हामीमा पनि बघिनीमा झैँ शक्ति आउने छ ।’

नेताहरूलाई सशक्त बन्न आग्रह गर्दै उहाँले भन्नुभयो,‘मलाई तपाईंहरूले यसो सरसर्ति हेर्दा कपाल फुलेको देख्नुहुन्छ । हुन पनि सात,आठ ठाउँमा त पेटै चिरेको छ मेरो । अस्पताल बसेको कूल समय जोडेर भन्ने हो भने तपाईंहरू यहिँ डराउनुहुन्छ । कति औषधी खान्छु त्यसको लामै फेहरिस्त छ । तर पनि म यतिबेला १८ वर्षे युवकको जोशका साथ भिडिरहेको छु ।’

वामदेवजी आफूभन्दा अलि बढी उमेरको भएको बताउँदै सन्दर्भ जोड्नुभयो,‘उहाँ पनि १९/२० वर्षको जस्तै हुनुहुन्छ ।’त्यसपछि केशव बडालतिर हेर्दै थप्नुभयो,‘बडाल कमरेड त्यहि २०/२१ को जस्तो ।’
एकजना स्थायी समिति सदस्यका अनुसार पार्टीमा सबैभन्दा जेठो गौतम,त्यसपछि बडाल र अध्यक्ष ओली हुनुहुन्छ । त्यहि सन्दर्भमा ओलीले भन्नुभएको थियो, ‘तपाईंहरू सबै हामीभन्दा कम उमेरको हुनुहुन्छ,अहिलेको अवस्थामा थप जोश निकालेर निस्कनुपर्यो ।’

बालुवाटारले अब वडा अधिवेशन गर्दै सबैलाई समेट्ने योजना बनाएको देखिन्छ । त्यसैले अध्यक्षले सर्वोच्च अदालतको फैसला हुने दिनसम्म जो जो पार्टीमा फर्कन्छन् ती सबै फैसलाअघि पाएको पोष्ट र जिम्मेवारीमा नै रहने बताउँदै भन्नुभएको छ ‘त्यसपछि ढोका बन्द हुन्छ,फैसलापछि कुनै किसिमका वार्ता,छलफल हुँदैन ।’

टिप्पणीहरू