प्रत्येकका यी पीडा

माओवादी केन्द्रको संगठन लथालिंग छ । मंसिर २ र ३ गते बोलाइएको राष्ट्रिय भेला स्थगनसँगै अध्यक्ष प्रचण्डमाथि पार्टी बादलहरूको जिम्मा लगाएर आफू सरकारमै हराएको आरोप लाग्न थालेको छ । संगठनात्मक विषयमा छलफल गर्न ११ मंसिरमा बोलाइएको पोलिटब्युरो बैठकले पनि खासै समाधान दिने देखिँदैन । राष्ट्रिय भेलामार्फत २५ सयको जम्बो केन्द्रीय समिति घटाई ५ सयमा झार्ने र अभियान चलाएर नेता–कार्यकर्तालाई गाउँ–गाउँसम्म पठाउने प्रचण्ड योजना भेला स्थगन हुँदा बीचमै तुहिएको छ ।

३ नं प्रदेशको इञ्चार्ज रहेका बादललाई संगठन विभाग प्रमुखको समेत जिम्मेवारी तोकिएको छ । उनले केन्द्रीय कार्यालय पेरिसडाँडामा आक्कल झुक्कल आउनुबाहेक राजधानीबाहिर पाइला टेकेका छैनन् । बादलको निष्क्रियताले संगठन डामाडोल भएको र पम्फा भुसाल समूहलाई हावी बनाएर देव गुरुङ, हितमान शाक्यसहितका स्थापित नेतालाई अलपत्र पारेको आरोप लाग्न थालेको छ ।

पम्फा भुसाल पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख छिन् भने उनीनिकट श्रीराम अधिकारी प्रशान्तलाई केन्द्रीय कार्यालयको मुख्यसचिव बनाइएको छ । निर्णयको हालसम्मका मुख्यसचिव प्रह्लाद बुढाथोकी र सचिव प्रकाश पोखरेलले विरोध गरिसकेका छन् । यी दुवै जना नारायणकाजी निकट हुन् । प्रकाश पोखरेलले बादल पक्षले आफूहरू र प्रचण्डबीच झगडा चर्काएर फाइदा लिन खोजेको बताउने गरेका छन् । गत साता नारायणकाजी पक्षधर नेताको हात्तीवनमा आयोजित भेलामा प्रकाशले बादल र पम्फाले प्रचण्डलाई फकाउने तथा आफूहरूविरुद्ध कुरा लगाउने गरेको गुनासो पोखेका थिए । सो पक्षले शिक्षा मन्त्रालय आफूहरूको हातमा भए पनि प्रधानमन्त्री र अरू मन्त्रीले आफू पक्षधरलाई पूरै निषेध गरेको निश्कर्ष निकालेको थियो ।

प्रचण्डले आफूले सय दिनमा गरेका काम ३ सय दिन बराबरका भए पनि पार्टीकै नेताले साथ नदिँदा गलत प्रचार भइरहेको बताउने गरेका छन् । सोमबार केन्द्रीय कार्यालयको बैठकलाई संबोधन गर्दै यसखाले असहयोगबारे खुलेर बताएका थिए । उनले आफू असफल भए पार्टी नै पछि पर्ने भन्दै नेताको यस्तै असहयोग जारी रहे सरकारबाट बाहिरिने चेतावनी दिएको सहभागी एक नेताले जनआस्थालाई बताए ।

उनले संविधान संशोधनमा एमाले अध्यक्ष सकारात्मक देखिए पनि उनी विष्णु पौडेल, प्रदीप ज्ञवाली र शंकर पोखरेलको चेपुवामा परिसकेकाले एमालेसित सहमतिको सम्भावना टरेको सुनाए । प्रचण्डले पार्टीभित्र सबैले गुट चलाइरहेको बताउँदै गुटको कुरा छाडेर पार्टी बनाउन लागिपर्न आग्रह गरेका थिए । बैठकमा नारायणकाजीले पार्टीको भेला स्थगन भए पनि पोलिटब्युरो बसेर संगठनात्मक विषयमा निर्णय लिनुपर्ने मत राखेपछि ११ गतेका लागि बैठक बोलाइएको छ । २५ सय सदस्यीय केन्द्रीय समिति रहेको माओवादीमा ४ सय ९९ जनाको पोलिटब्युरो छ ।

दुई घण्टा दन्तबझान

सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताको बैठक दन्त बझान र घोचमेचमै टुंगिएको छ । प्रचण्डले लौ हेर्नुस् तपाईंले हरेक पन्नामा हस्ताक्षर गरेको प्रस्ताव यही होइन भनेर ओलीलाई पुरानो दस्ताबेज देखाउँदै गर्दा वामदेव गौतमले संविधानको धारा २७४ पढेर प्रदेशसभाको सहमतिविना अब सीमांकन हेरफेर हुन नसक्ने बताइरहेका थिए ।

माओवादीका नारायणकाजी र वर्षमान पुनले लोकमानविरुद्धको महाभियोग र समयमै निर्वाचन गर्ने विषयमा प्रमुख दलबीच सहमति आवश्यक पर्ने भन्दै प्रमुख दल एकै ठाउँ उभिनुपर्ने प्रस्ताव गरेका थिए ।

टिप्पणीहरू