हिलाम्मे पृथ्वी राजमार्ग,गन्तव्यमा पुग्न हम्मेहम्मे (फोटो कथासहित)

हिलाम्मे पृथ्वी राजमार्ग,गन्तव्यमा पुग्न हम्मेहम्मे (फोटो कथासहित)

-शंकर श्रेष्ठ

पृथ्वी राजमार्गको पाइला पाइलामै पहिरो छ । सडकको अधिकांश भाग हिलाम्मे छ । सडकमाथिबाट लेदो झरेको स्थानको गन्ती नै छैन । साना ठूला सवारीहरु निकै कष्टले पहिरो र लेदो पार गरिरहेका देखिन्छन् ।

आज शनिवार बिहान नौबिसेदेखि मुग्लिनसम्म साना ठूला ३० भन्दा बढी पहिरो झरेको थियो । त्यसमध्ये १० ठाउँमा सडक अवरुध्द बनेको धादिङका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले बताउनुभएको छ ।बेनिघाट रोराङ गाउँपालिकामा पर्ने जवाङखोला,तिक्राङखानी, कृष्णभीर,झिल्केडाँडा क्षेत्रमा पहिरो र खोल्साहरुबाट झरेको लेदो माटोले पृथ्वीराजमार्ग सबैभन्दा धेरै अस्तव्यस्त बनेको छ ।

गल्छी गाउँपालिका–६ को बैरेनीबजार,थाक्रे गाउँपालिका–२ को एक्लेफाँट,गजुरी गाउँपालिका–५ को घाटबेसी,वडा नं २ को फुर्केखोला क्षेत्रको ठाउँ ठाउँमा पहिरोले सवारी सञ्चालन अवरुध्द बनेको धादिङ जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र खड्काले जानकारी दिनुभयो ।मुलुकको पूर्व र पश्चिमबाट संघीय राजधानी आवतजावतको मुख्य लाइफलाइन पृथ्वी राजमार्गमा बाढी,पहिरो,सवारीजामले सवारी साधन प्रयोगकर्तालाई सधैँजसो तनाव हुन्छ । मलेखु–धादिङबेसी सडकखण्ड पनि छिनछिनमै अवरुध्द हुने गरेको छ ।

उता मुग्लिन–नारायणगढ सडकखण्ड पार गर्न ज्यानकै बाजी लगाउनुपर्ने देखिएको छ ।चार दिनदेखिको लगातार वर्षाले धादिङको बेनिघाट रोराङ–१०, जवाङखोलामा पहिरोले पाँच वटा सवारी साधन पुरिएका छन् । दुई जनाले ज्यान गुमाएका छन् भने ६ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्गमा दैनिक १३ हजार गाडी ओहोरदोहोर गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीको रेकर्डमा देखिन्छ । आफ्नो पालिकाभित्र पर्ने सडक अवरुध्द हुँदा खुलाउन बेनिघाट रोराङ गाउँपालिकाले दुई वटा डोजर तयारी अवस्थामा राखेको छ ।‘अवरुध्द राजमार्ग खुलाउन हामीले दुई वटा डोजर प्रयोग गर्दै आएका छौं’,अध्यक्ष पीत्तबहादुर डल्लाकोटीले भन्नुभयो,‘हाम्रो र सडक विभागको डोजर प्रयोग गरेर सकेसम्म छिटो पहिरो पन्छाई सवारी पास गराएका छौं ।’राजमार्गलाई जोडेर जताततै खनिएका अव्यवस्थित कच्ची सडक र बालुवा-ढुंगा खानीहरु नै राजमार्ग अस्तव्यस्त हुनुको मुख्य कारण मानिन्छ ।

तस्बिरहरु : सरिता श्रेष्ठ

टिप्पणीहरू