अचम्मै भयो नि आमा, नेपालमा !

प्रमाणले बोल्छ एकथरी, न्यायाधीशको फैसला आउँछ अर्कैथरी । एउटै आमाको कोखबाट जन्मेका पाँच सन्तानमध्ये न्यायाधीशले अस्तित्वमा नभएका नक्कली बाबु खडा गरी तीन दाजुभाइलाई रोडपति र बाँकी दुईलाई करोडपति बनाइदिएको विरहलाग्दो कहानी हो यो ।

ललितपुर ठेचोका जनकलाल (खड्गी) कसाई र श्रीमती हेलथकँुका कोखबाट जन्मेका कुमारमान, पञ्चलाल, सन्तलाल, तुयुलाल, रामभक्तसमेत पाँच सन्तान । सगोलमा बसिआएका उनीहरूले कमाएको सम्पत्तिबाट पैतृक सम्पत्तिमा थप जग्गा–जमिन जोडे । पैतृक सम्पत्ति नलिई निजगढ, बारामा व्यवसाय गर्दै आएका उनीहरूले अंशबण्डा गर्न नमानेपछि जेठा छोरा कुमारमानकस् श्रीमती दिलमायासहित चक्रबहादुर र हरिबहादुरले अंशचलन मुद्दा दायर गरे ।

ललितपुरका न्यायाधीश जनार्दनबहादुर खड्काले पाँच भागको एक भाग अंश पाउने फैसला सुनाए ०५९ भदौमा । कार्यान्वयन भएन । मुद्दा पुनरावेदनका न्यायाधीश नन्दराज अधिकारी र अलीअकबर मिकरानीको बेञ्चमा पुग्यो । कुमारमान, पञ्चलाल र सन्तलाललाई जन्मदिने बाउ जनकलाल होइन । यी तीनको जायजन्म हेलथकँुको पहिलो श्रीमान् कालुचाबाट भएको हुँदा पैतृक सम्पत्तिमा कुनै हकदाबी नलाग्ने र अंशबण्डा गर्नु नपर्ने फैसला सुनाइदिए ०६२ जेठ ३१ मा ।

पुनरावेदन र सर्वाेच्चका न्यायाधीशले यो मुद्दाको फैसला गर्दा हेलथकुँको नाममा रहेको जग्गाको विवाद २००६ साललाई मात्र आधार मानिएको भेटिन्छ । मानबहादुर र हेलथकँु जग्गा दर्ता नामसारी मुद्दामा कालुचा कसाई महर्जनको मृत्यु भएको र उनको कोखबाट कुमारमान, पञ्चमान र सन्तु गरी तीन सन्तान जन्म भएको, यसपछाडि जनकलाल कसाईसँग विवाह गरेको आधार लिइएको छ । भनिएको छ, ‘कालुचाको मृत्यु १९९५ मा भएको । र, ६ सालको यो मुद्दामा जेठो छोराको उमेर ६ वर्ष, माइलोको ४ र कान्छो २ वर्ष उल्लेख भएको ।

मुद्दाअनुसार कुमारको जन्म बाबु बितेको ६ वर्षपछि, पञ्चलालको जन्म बाबु बितेको ८ वर्षपछि र सन्तलालको जन्म बाबु बितेको १० वर्षपछि हुने भयो । प्रश्न यहीँ उठ्छ, नक्कली बाबुको मृत्यु भएको ११ वर्षपछाडि तिनकै कोखबाट छोराहरूको जायजन्म कसरी  हुन सक्छ ? लाटाले समेत अक्कल काट्न सक्ने यो हिसाबमा न्यायाधीशहरू चिप्लिएको बताइन्छ ।

शेषपछिको बकसपत्रमा ०३१ साल चैत २३ गते जनकलालले आफ्ना पाँच सन्तान रहेको र बराबर अंशबण्डा गरी लिन सहीछाप गरेको प्रमाणबाट समेत पाँचै सन्तानको जनकलाल र हेलथकँुबाट जायजन्म भएको पुष्टि हुन्छ । जनकलालका दुई छोरा सन्तलाल र पञ्चलालको मृत्यु दर्ता गर्दा बाबुको नाम जनकलाल नै उल्लेख छ । यी तीनभाइ जनकलालकै छोरा हुन् भन्ने प्रमाण नागरिकताको प्रतिलिपिबाट समेत प्रस्ट हुन्छ । मृत्युदर्ता, नागरिकता, स्थानीयको भनाइलगायत सबै प्रमाणले जनकलालका पाँचै सन्तान भएको पुष्टि हुँदाहुँदै सर्वाेच्चमा अस्थायी हुँदै अवकाश पाएका न्यायाधीश कमलनारायण दासले समेत यही फैसलालाई सदर गरेका छन् । उनले निसु राखेर रामभक्त र तुहेलाललाई जनकलालको छोरा बनाई करोडपति र एउटै बाउका तीन छोरालाई रोडमा पु¥याइदिएर बिचल्लीमा पारिदिएका हुन् ।

जीवनको लामो समय एउटै छानोमुनि रहेर सुख–दुःख बाँडेका, सम्पत्ति जोडेका तीन दाजुलाई रोडमा पु¥याएर ललितपुर ठेचो, चापागाउँ, सुनाकोठीस्थित करोडौं मूल्य पर्ने जग्गा अहिले दुई भाइको नाममा छ । बूढापाकाले ठीकै भनेका हुन्, ‘बाघको मुख हेर्न मन लागे बिरालोको मुख हेर्नु, शत्रुको मुख हेर्न मन भए भाइको मुख हेर्नु ।’ आफ्नै दाजुहरूको बिचल्ली पारेर कालाकोटे मालामाल, भाइहरूको बेहाल । गाई मारेर गधा पोसाइ !

टिप्पणीहरू