बाढीपहिरोमा हालसम्म ३८ को मृत्यु, ५१ घाइते,२४ बेपत्ता

बाढीपहिरोमा हालसम्म ३८ को मृत्यु, ५१ घाइते,२४ बेपत्ता

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि आजसम्म ३८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा २० जना पुरुष, ११ जना महिला,४ जना बालक र ३ जना बालिका रहेका छन् ।

तीमध्ये सिन्धुपाल्चोकमा ५, डोटीमा ४, रोल्पा र गोरखामा ३/३, चितवन, तनहुँ, प्युठान र रौतहटमा २/२, ललितपुर, खोटाङ, सप्तरी, काभ्रे, धादिङ, सिन्धुली, जुम्ला, अर्घाखाँची, दाङ, पाल्पा, कास्की, कालिकोट, पाँचथर, बझाङ र बाजुरामा १/१ जना रहेका छन् ।

बाढीपहिरो र डुबानमा परी देशभर ५१ जना घाइते भएका छन् जसमध्ये २७ जना पुरुष, १२ जना महिला, ९ जना बालक र ३ जना बालिका रहेका छन् । यस्तै १५ जना पुरुष, ६ जना महिला, २ जना बालक र १ जना बालिका गरि २४ जना बेपत्ता भएका छन् ।

बाढी तथा पहिरोमा परेका मनाङमा ६ सय ५६, चितवनमा ४ सय २,सिन्धुपाल्चोकमा १ सय २३, दोलखामा ३५, लमजुङ र सल्यानबाट ८/८, जाजरकोटमा ७, गोरखा र दाङमा ४/४ र कञ्चनपुरमा ३ जना गरी १ हजार २ सय ५० जनाको उद्धार गरिएको छ ।

त्यस्तै बाढीको कारण ७ सय ९० वटा घर डुबानमा परेका छन् । ५ सय १९ वटा घर, ९० वटा गोठ, ३९ वटा पुल, ३ वटा विद्यालय र ११ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ ।

१ हजार ५७ वटा घरका ५ हजार १ सय १ जना मानिस विस्थापित भएका छन् भने ८ सय १८ वटा पशु चौपायाको मृत्यु भएको छ ।

टिप्पणीहरू