अपांगलाई पनि निकालेका छन् शहरका घरबेटीले

अपांगलाई पनि निकालेका छन् शहरका घरबेटीले

हरि गजुरेल

भनिन्छ, ‘हरेक चोट त्योभन्दा ठूलो अवसर बोकेर आउँछ ।’ जिन्दगीमा हामी एउटा ढोका बन्द भयो भनेर रुन्छौं, चिच्याउँछौं, ‘डिप्रेस्ड’ हुन्छौं । तर, हाम्रैअगाडि रहेका अरू तीनवटा खुला ‘द्वार’ देख्दैनौं । आफू शारीरिक रूपमा असक्त भएर हिँडडुल गर्न नसक्ने पुनम मिश्रले अहिले अरुलाई गन्तव्यमा पु¥याउँदै आएकी छन् पठाओमार्फत । दैनिक हजारभन्दा बढी आम्दानी गर्छन्,घर परिवार पालेका छन् । उनीजस्तै पठाओमा ३० जनाभन्दा धेरै शारीरिक रूपमा अपांग राइडर छन्। उनीहरूझैं असक्त भएर पनि हिम्मत नहार्ने चेली हुन् सुशीला ढकाल, जसका दुबै हात चल्दैनन् तर लोकसेवा भिडेर सरकारी कर्मचारी बनिन्, अहिले नासु तहमा कार्यरत छिन् ।

एउटा हात नचलेकै कारण बल्लतल्ल प्राप्त मास्टरीको जागिरबाट निकालिएकी गोर्खाली संगीता पन्त अहिले आफूजस्तै सयौं असक्त महिलाको सारथि बनेर उदाहरणीय काम गरिरहेकी छन् । जतिखेर एक हात नचलेको कारण देखाएर बल्ल तल्ल पाएको जागिर गुमाइन् त्यतिखेर संगीता झण्डै–झण्डै डिप्रेसनको शिकार भइन् ।

तर, आत्मबल गुमाइनन् । गाउँघरमा सुनेकी थिइन्– अग्रजबाट ‘विष नभएको सर्प र इख नभएको मान्छे काम छैन ।’ जागिरबाट निकालिएपछि एकप्रकारको ‘इख’ थियो केही गरेरै देखाउने । दिमागमा तत्कालै क्लिक भयो, ‘एउटा हात नचले नि, सिंगो शरीर चल्छ, दिमाग चल्छ, मन चल्छ । त्यही जागिरबाट निकालिएको चोटले आज उनको जीवन यूटर्न भएको छ । सपांग भनिएकाहरू एक मुठी सास अडाउने र परिवार पाल्ने कर्ममा सीमित छन् तर उनी सयौं असक्तका लागि भगवान् बनेकी छन्, तिनका गाँस, बास, कपास जुटाइदिने आमा बुबा बनेकी छन् । त्यही हिजोको बज्रपात र चोटको परिणाम आज उनको जीवनमा कायापलट भएको छ । फेरिएको छ परिचय देश–विदेशमा समाजसेवी महिलाको रूपमा । तर, संगीताले यो स्थानसम्म पुग्न गरेको संघर्ष र जिन्दगीमा खाएका हण्डर–ठक्कर बेहिसाब छ ।

‘धेरै अपांग’ जम्मा भए भनेर घरबेटीले छाड्न उर्दी जारी गरे । एउटा घरबाट निकालिएकी उनी फेरि अर्काे घर चहार्दै हिँडिन् ।’

सात वर्षकै उमेरको एउटा घटना जीवनभर बिझाइरहने बन्न पुग्यो । बालापनमा खेल्दाखेल्दै लडिन् । शुरुमा बायाँ हात नराम्ररी दुख्यो । कुहिना फुटेको आशंकामा गोरखाको मिसन अस्पतालमा प्लास्टर त भयो । तर, कुठाउँमा परेछ । जोर्नी खुस्किएको प्लास्टर कुहिनामा गरियो । त्यसपछाडि हात चल्नै छाड्यो । डाक्टरबाट पार नलागेको उपचार धामीझाँक्री, वैद्यले कसरी पार लगाउन सक्थ्यो ? औषधिले काम नगरेपछि झारफुकले पनि छोएन । उपचारका लागि भौंतारिँदाभौंतारिँदै तीन महिनापछि वीर अस्पताल आउँदा मात्रै थाहा भयो –हातको जोर्नी नै खुस्किएको रहेछ । उपचार त भयो तर निको भएन । उपचारकै सिलसिलामा दिल्ली, पटनासम्म पुगिन् । तर २० को १९ भएन । बायाँ हात झन् झन् सुक्दै गयो । एकातिर यो पीडा थियो त्यसमाथि समाजको टोकसो ।

उनीहरू मायाको भावले होइन, दयाभावले हेर्थे । फरक चिज रहेछ माया र दया । अग्रज, आफन्तहरू चस्स बिझ्ने गरी भन्थे, बिचरीलाई पूर्वजन्मको श्राप लागेछ । मुटु चिमोट्ने यस्ता बज्र धेरैपटक कानमा बर्सिए । यद्यपि, आफूलाई सम्हाल्दै अगाडि बढिन् । देब्रे हातको चाल रोकियो तर पढाइ रोकिएन । गाउँबाटै एसएलसी पास गरिन् । ०५७ सालमा एसएलसी सकेर गोरखाबाट काठमाडौं आउँदा एउटै सपना थियो, ‘माष्टर बनेर गाउँ फर्किने ।’ मनभरि यही सपना बोकेर काठमाडौं आइन् । दाजुभाउजूसँगै बस्न थालिन् । सरस्वती कलेज भर्ना भइन् । प्रमाणपत्र तह सकिएपछि जागिरको खोजीमा लागिन् । अनेकन हण्डर र ठक्करसँग जुद्धै गर्दा बसुन्धरास्थित एउटा बोर्डिङ स्कुलमा पढाउने काम पाइन् । त्यो पल खुशीको सीमा थिएन तर उक्त खुशी १८ दिनबाट १९ दिन टिकेन । त्यहाँका प्रिन्सिपलले भूमिका बाँध्दै भनिन्, ‘बहिनी, तपाईं स्मार्ट हुनुहुन्छ, राम्रो पढाउनुहुन्छ । सबै ठीक छ । तर, हामीले निरन्तरता दिन सकेनौं !’ त्यो दिन बल्ल ब्यँुझिइन्, जागिरको चक्करमा लागेर आफ्ना लागि मात्रै बाँच्न सकिएला, मेरो जीवन चल्छ, अब मैले मेरा लागि होइन अरूका लागि पनि जिउनुपर्छ भन्ने सोच पलायो । भन्छन् नि जब जागे,तब सबेरा ।

प्रिन्सिपलको बिझाउने वाणी इख बनेर गढ्यो मनमा । प्रण गरिन्, केही गरेर, केही बनेर यो समाजलाई देखाउने तर, समस्याको पहाड बनेर अघि उभिएको थियो ‘पैसा’ । शहरमा पाइला पाइलामा पैसा चाहिन्थ्यो । उनीसँग थिएन फुटेको कौडी । भगवान् छन् छैनन् थाहा छैन, उनले भन्छन् रे तँ आँट् म पु¥याउँछु । मनमनै प्रण गरिन् र आँटिन् आफूजस्तै अवस्थाबाट गुज्रिएकाहरूका लागि जिउने । एउटा जागिरबाट निकालिएकी उनी फेरि जागिर खोज्दै गइन् । तर, यो पटकको जागिर आफ्नो पेट पाल्नका लागि मात्र थिएन आफूजस्तै अपांगता भएकाहरूका लागि जिउने प्रणस्वरूप थियो, अठोट र दृढ संकल्पसहितको ।

गौशालास्थित शान्ति सेवागृह नामक एउटा जर्मन प्रोजेक्टमा काम पनि मिल्यो । महिलालाई सीपमूलक तालिम दिने ठाउँ थियो त्यो । झण्डै चार वर्ष त्यहाँ गुजारिन् । धेरै काम सिकिन् । जागिरे जीवनमा धेरै ‘अपांग’ महिला सम्पर्कमा आइसकेका थिए । यसबीच त्रिचन्द्रबाट समाजशास्त्रमा बीए, एमए सकिन् । जागिर छाडिन् । सम्पर्कमा भएका केही अशक्त महिला भेला गरिन् अनि ऊन खरिद गरेर हाते बुनाइका सामान बनाउन थालिन् । साबुन अनि मैनबत्ती पनि बनाउने क्रम चल्यो । अलिअलि जागिरबाट कमाएको पैसाबाट आत्मनिर्भरताको बाटोमा बढ्दै थिइन् । शुरुमा पाँच जना महिला सम्पर्कमा थिए । सबै अपांगता भएका, कसैको एउटा खुट्टा चल्दैनथ्यो, कसैको दुईवटै । तर, हिम्मत कसैको कम थिएन । सिलाइ–बुनाइको काम सिकाउन थालिन् ।

उनको सपनामाथि तगारो बनेर आए घरबेटी । जुन घरमा कोठा लिएकी थिइन्, ‘धेरै अपांग’ जम्मा भए भनेर घरबेटीले छाड्न उर्दी जारी गरे । एउटा घरबाट निकालिएकी उनी फेरि अर्काे घर चहार्दै हिँडिन् । बल्ल–तल्ल घर फेला प¥यो । एउटा घरलाई एड्भान्स पनि दिइन् ५ हजार । तर, अपांग भन्ने थाहा पाएपछि घरबेटीले रकम फिर्ता गरिदिए । यस्ता अनगिन्ती दुःख, हण्डरले जिन्दगी घेरिए । तर, बिचलित भइनन् । घर भाडामा पाउन नसकिनेरहेछ भन्ने लागेपछि मित्रनगरको एउटा खाली जग्गा मागिन् । यही शहरमा मनकारीहरू पनि भेटिँदा रहेछन् । भेटिन् युकेमा बस्दै आएका जग्गाधनी । उनले ‘बहिनी, यस्तो पवित्र काम गर्न लाग्नुभएको रहेछ, भन्दै जग्गा दिए ।

मित्रनगरमै टिनका पाता जोडेर टहरो बन्यो । यसपछि मात्र जीवनले गति लियो । संस्था जन्मियो । शुरुमा १२ जना अपांगता भएका दिदीबहिनीलाई हस्तकलाको तालिम दिइन् । त्यहीँ सेल्टरको व्यवस्था मिलाइन् । सिलाइ बुनाइको तालिम । उत्पादन कार्य शुरु भयो । फिनेल–साबुन बन्न थाल्यो । हस्तकला, फेल्टजन्य वस्तुले तालिम केन्द्र भरिन थाले । घरभित्रै कुँजिएका अपांगता भएका महिला एकपछि अर्को सम्पर्कमा आउन थाले । सामान उत्पादन, बिक्री आफैं शुरु भयो । यही टहराबाट उत्पादित सामान ठमेलका चोक–चोकमा लगेर बेच्न थालिन् । दिन फिरे । सामान बिक्रीबाट आएको पैसाले सेल्टर चल्न थाल्यो । आत्मविश्वासको मात्रा चुलिँदै गयो । यही बीचमा आफूजस्तै अपांगता भएकाहरूलाई लिएर सामाजिक कार्यका लागि शक्ति (इप्सा) स्थापना गरिन् । ०६६ सालसम्म आइपुग्दा सामानको अर्डर भ्याइ नभ्याइ भयो । हस्तकलाका सामान विस्तारै विदेशसम्म निर्यात हुन थाले । फिनेल–साबुनको माग काठमाडौंमै बढ्न थाल्यो ।

संगीताले अपांगता भएका दिदीबहिनीलाई आत्मनिर्भर बन्न प्रेरित गर्थिन् । तालिम सिकाउँथिन् । निपुण भएपछि बाहिर रोजगारी खोजिदिन थालिन् । तालिम लिन आएका कतिपयलाई त जागिरको अफर नै आउन थाल्यो । क्षमता विकास नभएसम्म यहीं सिक्थे, खाने–बस्ने छँदै थियो । गोजी खर्च पनि थमाइदिन्थिन् । यही बीचमा घरेलु तथा साना उद्योग, विभिन्न गैरसरकारी संस्थाले दिएका तालिमको प्रमाणपत्र निकालिन् । तालिमका सीप सम्झिन थालिन् । पेन्टिङ, वस्तु डिजाइन, सिलाइ कटाइ, मैनबत्ती, कम्प्युटर, साबुन–फिनेल बनाउने सीप थिए ।

अब उनलाई पछाडि फर्केर हेर्नुपरेन । पवित्र मनले कार्य गरेपछि त्यो पूरा हुँदो रहेछ सायद, अब उनलाई कता–कताबाट सहयोग आउन थाल्यो । कसैले लुगा दिन्थे । कसैले खानेकुरा । कसैले सुत्नका लागि खाट दिए । कसैले उनीहरूले बुनेका सामानको ‘मार्केट’ बनाइदिए । कसैले ‘अर्डर’ खोजिदिए । यसरी उनको झुपडी ‘सेल्टरहोम’ भरिन थाल्यो, अपांगता भएका महिलाले, उनीहरूले बनाएका सामानले । संस्था स्थापना गरेको ४ वर्षपछि जापान जाने मौका मिल्यो । उतै बस्न अफर पनि आयो । जापानमै भएका आफ्नै भाइ । चिनेजानेका साथीहरूले पटक–पटक भनेका थिए, हामी १२ लाख खर्चेर आयौं । कमाइ पनि ठीकै छ । तपाईं सित्तैमा आउन पाउनुभएको छ । यहाँ अपांगता भएकालाई राम्रो अवसर छ । यतै बस्नुस् । उनले इन्कार गरिन् । बरु तालिमका बेला पाएको १ लाख रूपैयाँ खर्च गरिनन् । सिधै नेपाल फर्किन् । काठमाडौं उत्रेपछि फेरि संघर्ष शुरु ।

यसरी एउटा जागिरबाट निकालिएकी संगीताबाट अहिलेसम्म २५ सयभन्दा बढी अपांगता भएका महिला दिदीबहिनीले तालिम लिइसकेका छन् । सबैले रोजगार पाएका छन् । अहिले उनको आश्रममा सेल्टर लिएर बस्ने अपांग दिदीबहिनीको संख्या एक सय हाराहारी छ । केही दिनभर काम गर्छन्, साँझ फर्कन्छन् । उनले देखेको अबको सपना भनेको अपांगता भएकालाई सुविधासम्पन्न सेल्टर बनाउने हो । अपांग भएकाहरू त्यहीँ बसुन्, त्यहीँ काम गरुन् । जीविकोपार्जन गरुन् । यही उद्देश्यमा सरकारले १५ लाख, इन्दिरा रानामगर,स्काइ लाइफ फाउण्डेसनलगायत संस्थाहरूले सहयोग गरिरहेका छन् ।

बालाजु बाइपासमा सस्तोमा गुठीको जग्गा भेटेकी छन् । १२ वर्षमा एक एक पैसा जोडेको रकम थपेर ३४ लाखमा १८ आना जग्गा लिएकी छन् । त्यसमा केही सहकारीको ऋण छ । कोरोना कहर,निषेधाज्ञाको उपयोग गरी केही मनकारी इप्साको आफ्नै भवन ठडाउने योजनामा सक्रिय छन् । संस्थालाई ऋृणमाथि ऋणको भारी बढ्दै छ तर संगीता आत्तिएकी छैनन् । जीवनका ऊर्जाशील १९ वर्ष यसैगरी आफूजस्तै अपांगकै सेवामा बिताइरहेकी छन् निःस्वार्थ । बाँकी जीवन यस्तै असहायकै सेवामा बिताउने प्रण गर्छिन् । यस्तै असक्तको सेवामा रमाउँदा रमाउँदै घरजम गर्न बिर्सिएकी छन् । तिनै सयौं असक्त र बेसहाराको आमा बनेर उनीहरूकै सेवा सुश्रुषामा रमाइरहेकी छन् संगीता ।

टिप्पणीहरू