सिकौँ युवा उमेरमै संसार जितेकाहरूसित

सिकौँ युवा उमेरमै संसार जितेकाहरूसित

– रामदीप आचार्य

फ्रेडरिक एंगेल्सले क्रमशः ३० र २८ वर्षमा लेखेको कालजयी कृति कम्युनिष्ट घोषणपत्रले संसार हल्लाएको सम्झेर आफू बूढो भएको र केही गर्न नसकेको ठान्नु स्वाभाबिक हो । जतिबेला मेन्सेबिकविरुद्धको संघर्षमा सफलता प्राप्त गरेर बोल्सेबिकको जग हाल्दै थिए, लेनिन जम्मा ३३ वर्षका मात्रै थिए । भूगोलमा संसारको सबैभन्दा ठूलो र जनसंख्यामा तेस्रो ठूलो देशमा क्रान्तिको झण्डा उनैले उचाले । पहिलो समाजवादी देश निर्माण गरे । संसारको सबैभन्दा विशाल जनसंख्या भएको देश चीनको सफल क्रान्तिको अगुवाइ गर्ने कम्युनिष्ट पार्टीको मूल नेतृत्वमा पुग्दा माओ मात्र ४२ वर्षका थिए ।

मात्रै ३९ वर्षको छोटो आयु बाँचेर शहीद भएका चे ग्वेभाराको जीवनीले प्रभावित नगरेको सायदै कोही कम्युनिष्ट होला संसारमा । ३६ वर्षको उमेरमा संयुक्त राष्ट्रसंघको सभालाई संबोधन गर्दै विभेदकारी लुटेरा पुँजीवादको बदला सच्चा समाजवादको पक्षमा वैचारिक झण्डा उचालेर संसारलाई अपिल गरेका थिए । जसरी भारतमा गान्धीलाई सरलताको सगरमाथा भनेर चिनिन्छ उसैगरी भियतनाममा हो चि मिन्हलाई । अमेरिकाले हारेको महान् युद्धका नायक हुन् उनी । जनताबाट जे अभूतपूर्व विश्वास आर्जन गरे उनले सबै आफ्नो युवाकालमै गरेका थिए । ३६ वर्षको उमेरमै प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको स्थापना गरिसकेका किम इल सुङ्गकाबारे त हामी जानकार नै छौँ । उनका नाति ३८ वर्षीय किम जोङ्ग उनले त विश्व पुँजीवादका लागि एटम बम जत्तिकै काम गरिरहेका छन् ।

‘हुलाक कहाँ गयो आजकाल ? के कसैले आराम छु आराम चाहन्छु भनेर चिठी लेखिरहेको छ ? एक घण्टामा पृथ्वीकाे फन्काे मार्ने अवस्था हुँदै छ कुनै दिन त्याे पनि सजिलै टिकट काटेर’

भलै कम्युनिष्ट आन्दोलनमा वंश परम्परा कति सही होला ! भर्खरै दक्षिण कोरियाली विपक्षी दलको प्रमुख नेतृत्वमा ३६ वर्षीय युवा निर्वाचित भएको समाचार सेयर गर्नेको कमी नेपालमा पनि छैन । भारतीय स्वतन्त्रता आन्दोलनका एकजना २४ वर्षीय नायक भगतसिंहले जीवनकालमा जति चर्चा बटुले उनको सहादतपछि त्योभन्दा कैयौं गुणा बढी । भगतसिंहको फिल्म नहेर्ने को होला ?

हामीसँग यस्तो सूची लामो छ । २९ वर्षको उमेरमा संसारको सुखको खोजीमा घर छाडेर हिँडेका बुद्ध होउन् वा ३३ वर्षमा आधा विश्व जितिसकेको सिकन्दर महान् । ३२ वर्षका चर्चित इतिहासकार रटर ब्रेगम्यान होउन् वा सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने युसुफजाई मलाला वा फेसबुकको साहु मार्क जुकरबर्ग । अष्ट्रियाका ३४ वर्षीय चान्सलर, फिनल्याण्डकी ३५ वर्षीया प्रधानमन्त्री, कतारका अमीर, मंगोलियाका प्रधानमन्त्री, न्युजिल्याण्डको प्रधानमन्त्री, एल साल्भाडोरको राष्ट्रपति, जर्जियाको प्रधानमन्त्री सबै युवा छन् । फ्रान्समा पनि ३९ वर्षीय राष्ट्रपति निर्वाचित भएका थिए ।

पुष्पलाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीको गठन गर्दा मात्र २५ वर्षका थिए । बीपी कोइराला ४५ वर्षमा देशको प्रधानमन्त्री भइसकेका थिए । केवल ४२ वर्ष बाँचेका मदन भण्डारीले जे ख्याति आर्जन गरे युवाकालमै गरे । ३६ वर्षमा पार्टीको मूल नेतृत्वमा पुगेका अध्यक्ष प्रचण्डबाट त आजसम्म हामीले प्रेरणा लिइरहेका छौं नै !

अर्कोतिर, बेलायतका ९५ वर्षीय महारानी, क्यामरुनका ८८ वर्षीय राष्ट्रपति, लेबनानको ८७ वर्षीय राष्ट्रपति, ८५ वर्षीय प्यालेस्टाइनी राष्ट्रपति, प्रधानमन्त्रीको समेत काम गर्ने सउदी राजा, कुवेतको अमीर, गिनीको राष्ट्रपति सबै ८० को उमेर काटिसकेका छन् । ९४ वर्षीय मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले गत वर्ष मात्रै राजीनामा दिए । उमेरको पर्खालले उनीहरूलाई छेकेको छैन ।

अब प्रश्न उठ्न सक्छ उमेर र नेतृत्वबीच समानुपातिक वा ब्युतक्रमाणुपातिक कस्तो सम्बन्ध हुन्छ ? उमेर बढ्दै गयो भने नेतृत्वको प्रभावकारिता बढ्दै जान्छ वा घट्दै ? अनुभवले समृद्ध भएर काम गर्न सजिलो हुन्छ वा उही र उस्तै काम बारम्बार गरिरहँदा थकान, बोझ र दिक्दारी पैदा हुन्छ ? मेरो विश्लेषण छ कि उमेर र कामको प्रभावकारिताबीच समानुपातिक सम्बन्ध छैन । धेरै उमेर बढ्दै जाँदा कामको प्रभावकारिता घट्दै जान्छ । युवा नेतृत्वले भन्छ कि अब बूढाहरूको काम छैन । पाको नेतृत्वले भन्छ कि यी त बच्चै छन् । सारतः दुवै पक्षले एकअर्कालाई काम नभएको भन्छन् । हुनुपर्ने हो कि नेतृत्वको योजनाबद्ध बिकास । पुरानोको अनुभव र नयाँको सिर्जनशीलता दुवैलाई जोड्ने । रणनीतिक सवालमा पुरानोको भूमिका बढाउने र कार्यकारी भूमिकाहरूमा नयाँ टिमको अभ्यास गर्ने । एकले अर्कालाई निषेध होइन कि पूरकको भूमिका निर्वाह गर्ने । के हामी नेतृत्व प्रणालीमा नयाँ खाले अभ्यास गर्न सक्छौँ ? सक्नुपर्छ ।

युवा नेतृत्वले आजको दुनियाँमा नेतृत्व बिकासका लागि के के गर्नुपर्ला ? पहिलो काम हो विचारको बिकास । दृष्टिकोणको निर्माण । नेतृत्वले मूलतः नीतिको अगुवाइ गर्ने हो । नेतृत्वले समयको पदचाप बुझ्नुपर्छ र अगाडि बढ्नेपर्छ । जनता सँगसँगै तर अगाडि । जस्तो अहिले हामी डिजिटल युगमा छौँ । प्रविधिले मान्छेलाई विस्थापित गरिरहेको छ । कामको अन्त्य भइरहेको छ । रोबोटले बिरामीको शल्यक्रिया गर्छ, घरको नक्सा बनाउँछ, बारीमा खेतिपाती गर्छ, विद्यार्थीलाई पढाउँछ, कारखानामा जुत्ता उत्पादन गर्छ ।

डाक्टर, इञ्जिनियर, किसान, शिक्षक र मजदुरलाई विस्थापित गरिरहेको छ । यसप्रति पीठ फर्काएर र ओठ लेब्य्राएर हिँड्ने मान्छे मैले देखेको र भेटेको छु । हुलाक कहाँ गयो आजकाल ? के कसैले आराम छु आराम चाहन्छु भनेर चिठी लेखिरहेको छ ? इमेलले हुलाकलाई सर्लक्कै निलिसक्यो । इमेल उम्दा अवस्थामा छ भने हुलाक मृत्युको दिन गनेर बसिरहेको छ । ट्र्याक्टरले गोरु, राँगा र घोडाले जोत्ने खेतको हलो, फाली र जुवा उप्काउँदै लगिरहेको छ । तेलमिलले कोल र कुटानी मिलले पानीघट्ट निल्दै गइरहेको छ । कुनै दिन आउनेवाला छ, काँसको बञ्चरो, हाते चर्खा, हुलाक, हलो, कोल र घट्ट एकै ठाउँमा भेटिनेवाला छन् अर्थात् संग्रहालयमा । अरु के के थन्कनेछन् संग्रहालयमा हामीले सूची बनाएका छौं ? अहिलेसम्म वस्तु मात्रै थन्किएका थिए, अब मान्छेको पेशा पनि थन्कियो भने यही हो कामको अन्त्य भनेको । के परिणाम आउला ? अकल्पनीय । जिवाश्मा इन्धनको युग समाप्त हुँदै छ र नवीकरणीय ऊर्जाको युग शुरु हुँदै छ । ऊर्जामा हुने क्रान्तिबारे हाम्रोमा खासै बहस भएकै छैन । निःशुल्क ऊर्जाको परिणाम के होला ?

७ अर्ब ९० करोड मान्छेलाई एउटै सञ्जालमा जोड्ने काम गरेको छ इन्टरनेटले । सञ्चार आज लगभग निःशुल्क भएको छ संसारभर । मानव जातिले यस्तो प्रयोग पहिलो पटक गर्दै छ । दुई अर्ब विद्यार्थीको एउटै कक्षा सञ्चालन गर्न सकिने अवस्था छ भर्चुअल माध्यमले । अर्बाैं किताबको पसल त नेटमा थापिएकै छ । गुगलजस्तो खोजी माध्यमले जे खोज्यो त्यो क्षणभरमै फेला पारेर चाहिएको नतिजा दिन थालेको धेरै भइसक्यो । यु ट्युब च्यानलले भिडियोहरू सजिलै र निःशुल्क उपलब्ध गराइरहेकै छ । सञ्चारको पाँचौँ पुस्ता जसलाई फाइभ जी भनेर चिनिन्छ, भूउपग्रहमार्फत निःशुल्क र तीव्र गतिमा पृथ्वीका सबै मान्छेले प्रयोग गर्दा हुने परिणामको आकलन हामीले गरेका छैनौँ । यही दशकमा संसारको प्रत्येक घरमा कम्तीमा एक दर्जन सेन्सरले विभिन्न क्षेत्रमा काम गर्नेछन् । सि जिन पिङले चिनियाँ भाषामा बोल्दा जो बाइडेनले अंग्रेजीमा त अहिले पनि सुनिरहेकै छन् । न दोभाषे चाहिन्छ न उल्था गर्ने मान्छे । गुगलमा किताब उल्था सजिलै हुने गरेको छ ।

चश्मा वा क्यामेराले अनुहारको अध्ययन गरेर कुन देशको नागरिक हो पत्ता लगाउन कठिन भएन । सामाजिक सञ्जाल हाम्रो ठूलो सञ्चारको माध्यम भएको छ । हिमाल, पहाड, समुद्रले यात्रा रोक्न सकेको छैन । एक घण्टामा पृथ्वीको फन्को मार्ने अवस्था हँुदै छ कुनै दिन त्यो पनि सजिलै टिकट काटेर । यानमा । हेलिकप्टरलाई विस्थापित गर्ने उड्ने गाडी निर्माणाधीन अवस्थामा छन् । हिजो मोबाइल फोन सम्भ्रान्त वर्गको पेवाजस्तो थियो आज आममान्छेको हातहातमा छ, निकट भोलि उड्ने गाडी हामी प्रत्येकको दैलोमा खडा हुनेछ । आजको मोबाइल फोन प्रत्येकको खल्तीमा भएजस्तै गरी ।

थ्रि डि प्रिन्टिङले घर निर्माणदेखि मानव शरीरका मस्तिष्कबाहेकका अंग निर्माण गरिरहेको छ । खेतबिनै खाद्यान्न पनि उत्पादनको तयारी गर्दै छ । यसले गर्ने कामको सूची पनि असीमित छ । मानव बौद्धिकतासँग कृत्रिम बौद्धिकताले जोरी खोजिरहेकै छ । यसको परिणाम पनि अकल्पनीय नै हुनेछ । जेनेटिक इञ्जिनियरिङ चार अर्ब वर्षदेखि चल्दै आएको प्राकृतिक छनोटको तरिकाबाट भइरहेको जीवहरूको बिकासमाथि प्रश्न खडा गर्दै आमा बाबुबाट बनेको बच्चा होइन हामीले चाहेजस्तो बच्चा बनाउन सकिने हुँदै छ । भ्रुण हत्या नगरिकनै छोरा वा छोरी जन्माउन थालेको त धेरै भइसक्यो । शुक्रकिट र डिम्बकोश राख्ने बैंकले त्यो काम सजिलै गरिरहेका छन् । बाबुको प्रत्यक्ष सहभागिताबिना पनि आमाले चाहेका बेला बाबुकै डिएनएको बच्चा पाउन कुनै कठिन भएन ।

वस्तु र मान्छे इन्टरनेटमा जोडिन थालेका मात्रै होइनन् डिजिटल वस्तु पनि बनेकै छन्, जस्तो डिजिटल मुद्रा । डिजिटल उपचार पद्धति, डिजिटल पढाइ, डिजिटल व्यापार सबका सब । युवा नेतृत्व आजको दुनियाँबारे कम्तीमा सैद्धान्तिक रूपमै भए पनि जानकार हुनै पर्छ । ज्ञानमा आएको तीव्र बदलावले १० वर्ष पढेर जिन्दगीभर धान्ने जमाना समाप्त भयो । अब ज्ञानलाई क्षण–क्षणमा नवीकरण नगर्ने हो भने विस्थापित हुने सम्भावना प्रबल हुन्छ । नेतृत्वका लागि इच्छा राख्नु एउटा कुरा हो तर वास्तबिक नेतृत्व गर्नु अर्को कुरा हो । जंगली युगमा सिकारीको सानो समूहको अगुवाइ गरे पुग्थ्यो । कृषि कार्य बिकेन्द्रित भएकाले नेतृत्व बिकेन्द्रित थियो । औद्योगिक युगमा सयौँ वा हजारौँ मजदुरलाई एकैसाथ नेतृत्व गर्न केन्द्रिकृत प्रणाली आवश्यक थियो । डिजिटल युगमा करोडौँ र अर्बौंको संख्यामा तर सामूहिक नेतृत्व प्रणाली आवश्यक र सम्भव भएको छ । दोस्रो कुरा युवा नेतृत्वले नयाँ प्रयोगबाट डराउनु हुँदैन । तेस्रो कुरा, मानव जातिले थुप्रै असम्भवलाई सम्भवमा बदलेको छ । नेतृत्व गर्न सम्भव छ । छलफल गराँै । अगाडिको बाटो तय गरौँ । भविष्य हाम्रै हातमा छ ।

टिप्पणीहरू