पोखरामा अब ठूला विमान आउन थाल्लान् ?

पोखरामा अब ठूला विमान आउन थाल्लान् ?

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य आगामी ६ महिनामा सम्पन्न हुने भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत उक्त विमानस्थलको निर्माण कार्य ७९ प्रतिशत सकिएको छ ।

यही महिनाभित्र सम्पन्न हुनपर्ने विमानस्थलको निर्माण कार्य कोरोना महामारीका कारण पछाडि धकेलिएको हो । विदेशी जनशक्ति जुलाई अगस्टसम्म काममा फर्किने व्यवस्था मिलाइएको विमानस्थल कार्यालयका उपप्रबन्धक तथा इन्जिनियर कृष्ण पौडेलले बताउनु भएको छ । हालको निषेधाज्ञामा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर काम गरिएको उहाँले जानकारी दिनुभयो ।

कूल लागत २२ अर्ब रुपैयाँ रहेको विमानस्थलको निर्माण चिनियाँ ऋण सहयोगमा भएको हो । यहि जुलाई १० सम्ममा सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भएको थियो तर कोरोनाको कारण उक्त मिति २०२१ डिसेम्बरका लागि सारिएको छ ।

हालसम्म रन वे,ट्याक्सी पार्किङ, टर्मिनल भवन,एप्रोन (यात्रु जहाजमा चढ्ने र ओर्लने स्थान), ह्याङ्गरलगायतका काम भइसकेका छन् ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार वर्ग मीटरको छ । त्यसमध्ये ८ हजार अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार आन्तरिक उडानको निम्ति गरी १४ हजार वर्ग मीटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।

टिप्पणीहरू