सडक होइन, आफ्नै ठाउँ रोजून् सबैले « Jana Aastha News Online
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022
Logo
११ जेष्ठ २०७९, बुधबार
|  Wed May 25 2022

सडक होइन, आफ्नै ठाउँ रोजून् सबैले

प्रकाशित मिति :  ३ मंसिर २०७३, शुक्रबार ०८:५९


प्रचण्डले परिवर्तनका अनेकौं आश्वासन बाँडेर युद्धमा होमेका अयोग्य लडाकुले सडकमा अवरोध सिर्जना गर्ने, अनावश्यक ढंगले जनजीवनलाई अस्तव्यस्त पार्नेजस्ता आफ्ना अग्रजबाट प्राप्त गलत शिक्षा अनुसरण नगरी जिम्मेवारीको एउटा उत्कृष्ट नमुना पेस गरेका छन् । त्यो, हो माओवादी हेडक्वार्टर पेरिसडाँडा घेर्ने विरोध कार्यक्रममा जिम्मेवारीको परिचय दिए यसकारण भनिएको हो कि विगतमा उनीहरूलाई राज्यले प्रयोग गरेको होइन, थिएन । माओवादी नेताले आफ्नो राजनीतिक लाइन परिचालन गरेका थिए र उनीहरूको वर्तमान दयनीय स्थिति त्यही नेतृत्वको कारण सिर्जना भएको हो । उनीहरूले क्षतिपूर्ति माग्न माओवादीसँगै जानु स्वाभाविक हो र जाय पनि हो ।

योसँगै उनीहरूले उठाएको कुराले के पनि पुष्टि भयो भने माओवादीले बाल लडाकु भर्ती गरेको रहेछ र न तिनीहरू बाबुरामको पालामा अयोग्य ठहरिए । यस्तो अवस्थामा त्यसरी बालबालिकाको भविष्यमाथि उनीहरूले खेलवाड गरेको विषय उठान हुन सक्छ । र, त्यो हुनु जरुरी पनि छ । संयुक्त राष्ट्रसंघलगायत सबै खालका अन्तर्राष्ट्रिय कानुन र मानवअधिकारको पनि घोर उल्लंघन हो, बाल सैनिक भर्ती गर्ने काम । तर, माओवादीले त स्वयं आफ्नै नेता प्रधानमन्त्री भएको बेला उमेर नपुगेको भन्दै ती लडाकुलाई सामान्य बाटोखर्च दिएर अयोग्य घोषणा गरी क्याम्पबाट बाहिर पठाएको हो । यसले उनीहरूमाथि युद्ध अपराध गरेजस्तो संगीन आरोप लाग्न सक्छ र यदि न्यायिक छानबिनको प्रक्रियामा जाने हो भने प्रचण्ड, बाबुरामलगायत माओवादी नेताले त्यसको भागीदार बन्नुपर्ने हुन्छ ।

कुनै एनजिओ, आइएनजिओले ती अयोग्य ठहरिएका लडाकुको आक्रोशलाई माओवादी पार्टी र त्यसको नेतृत्वविरुद्ध दरिलो रूपले प्रयोग गर्न सक्ने प्रशस्तै आधार छन् । यस्तोमा प्रचण्डले विगतमा धेरै महत्वपूर्ण र मानवीय संवेदनाका घटनालाई ठाउँअनुसार रुँदै र हाँस्दै बेवास्ता गरेझैं बसे भने यो उनका लागि काउछो बन्ने पक्का छ । हुन त सहिद बेपत्ता परिवार, अपांग, घाइतेलगायत माओवादीलाई माया गर्ने सारा जनताप्रति इमानदार नरहेको माओवादी नेतृत्वबाट कुनै जिम्मेवारी बोधको अपेक्षा गर्नु बेकार हो तर आफ्नो जीवनको सबैभन्दा उमंग र चञ्चलतालाई प्रचण्डको वृत्ति विकासका लागि तिलाञ्जली दिएका ती अयोग्य लडाकुप्रति चाहिँ यो पार्टी गम्भीर भइदिए हुन्थ्यो ।

आफ्नै अगाडि नाच्दै र आफ्नो बालापनको स्वच्छन्दतामा उडिरहेका आफ्नै नाति–नातिनी हेरेर ती (तत्कालीन) अबोध शिशुमाथि ठूलै अन्याय भयो भन्ने महसुस मात्र उनले गरिदिए पनि सायद ती अयोग्यको चहराइरहेको घाउमा मलम लाग्न सक्थ्यो । अहिले जति जिम्मेवार भएर उनीहरू पेरिसडाँडामा पुगेका छन् तिनीहरूले अर्को बाटो समाते भने त्यो माओवादी पार्टी र त्यसको नेतृत्वका लागि ठूलो चुनौती हुनेमा दुईमत छैन । माओवादीको सिंगो नेतृत्व यसप्रति गम्भीर बनोस् । उनीहरूलाई न्याय मिलोस् ।


प्रतिक्रिया दिनुहोस !