भारतबाट हत्याराहरु भटाभट……

भारतबाट हत्याराहरु भटाभट……

सरकारले ‘पारी’ लाई रिझाउन अनेक बहाना झिकिरहे पनि त्यताको राजनैतिक साथ घटेको छ, तर यही देशको प्रहरीले चाहिँ ‘पारी’ को भरपर्दो साथ पाउँदा अपराधीहरु ल्याउने–लैजाने क्रम चलिरहेको छ ।

गत कात्तिक १ गते धनगढीस्थित अस्थायी प्रहरी पोष्ट जुगेडाका असई गोविन्द बिक र जवान रामबहादुर साउद मारिएका थिए । घटना भएको १९ दिनभित्र प्रहरीले ९ जनालाई नियन्त्रणमा लियो । तीमध्ये आधा अभियुक्त भागेर भारत पुगेका थिए । अन्तिममा राजीव गुप्तालाई भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले नियन्त्रणमा लियो । तर, पत्रकार सम्मेलनमा भनियो, उनी सीमाक्षेत्रबाट समातिएका हुन् । त्यसरी भारतीय प्रहरीको सहयोगमा नेपाल प्रहरीले पर्कु भन्ने रोहित राना (क), रोहित राना (ख), राजेन्द्र राना, सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने रामगोपाल रानालाई भारतीय प्रहरीको सहयोगमा समातेको थियो ।

यस्तै भयो, सिराहामा अनेकन अभियोग लागेर भारतमा लुक्दै बसेका आरके यादवको हकमा पनि । उनी अहिले नयाँ दिल्ली प्रहरीद्वारा पक्राउ गरी विभिन्न मुद्दामा अनुसन्धानको दायरामा छन् ।

सिरहा, झिजोलका सोमनाथ यादवलाई आरके र उमेश यादवले बरियापट्टी गाउँबाट अपहरण गरी परिवारका सदस्यसँग एक करोड फिरौती मागेपछि उनको खोजीमा प्रहरी सक्रिय भएको थियो । सिराहा प्रहरीको लापरवाहीका कारण आरके त्यहाँबाट भाग्न सफल भए । तर, प्रदेश प्रहरी प्रमुख धीरजप्रताप सिंह आफैँ अभियुक्तको खोजीमा सक्रिय भएपछि उनी भारतमा फेला परेका हुन् । शुरुमा उनीे सुपौल जिल्लामा लुकेर बसेको र अपहरित सोमनाथलाई पनि त्यहीँ लुकाइएको सूचना प्रहरीले पायो । त्यसपछि नेपाल प्रहरीको टोलीले सुपौल प्रहरीका एसपी मनोजकुमारसँग सम्पर्क ग¥यो ।

शुरुमा सिराहा प्रहरीको टोलीले खोजेको सूचना पाएपछि आरके अपहरित व्यक्तिसहित त्यहाँबाट बेपत्ता भए । उनीविरुद्ध दिल्ली प्रहरीले रेडकर्नर नोटिश जारी गरेका कारण सुपौल प्रहरी पनि उनको खोजीमा जुट्यो । तर, अर्का अभियुक्त उमेश यादवलाई भने प्रहरीले नियन्त्रणमा लियो । उमेश पक्राउ परेपछि अपहरित सोमनाथलाई उमेशको निर्मलीस्थित महुआ गाउँमा लुकाइएको सूचना प्रहरीले पायो । अपहरणमा संलग्न मधुवनी जिल्लाका बासिन्दा सतिश यादव पक्राउ परे, तर आरके र अपहरित व्यक्ति फेला परेनन् । तर, सतिशबाट प्रहरीले थाहा पायो, सोमनाथको हत्या गरी उनलाई कोशी नदीमा फ्याँकिएको । प्रहरीले गोताखोरको सहयोगमा शव खोज्यो, तर भेटेन । यसबीच आरकेको सिरहा, गोठटोलस्थित ससुराली घरबाट मोबाइल बरामद भयो । यसपछि उनी सुपौल प्रहरीबाट नयाँदिल्ली चलान भएको सूचना नेपाल प्रहरीले पायो ।

आरकेविरुद्ध नेपालमा १५ वटा मुद्दा छन् । बम बिष्फोटका मुद्दा ३–४ वटा, अपहरणका ५–७ वटा । अहिले भारतीय प्रहरीले हत्या अभियोगमा कारवाही गरे पनि हत्या पुष्टि हुने भौतिक आधार नभेटिएका कारण उनी तारिखमा छुट्ने भएका छन् । त्यहाँबाट नेपाल चलान भएपछि अर्को मुद्दा तयारी छ । उनी पहिला जनतान्त्रिक मधेसी मोर्चामा लागेका थिए । सिराहा प्रहरीले सात–आठ वर्षअघि नै उनका अपराधहरु ठहर गरेको हो । तर, समात्न सकेन ।

त्यस्तै, सिराहा सदरमुकामस्थित डुम्बाखाता बस्ने प्रदीप यादवका दुई वर्षीय छोरा पियांशु पनि भारतीय प्रहरीको सहयोगमा फेला परेका थिए । प्रहरीले भारतको बिहार राज्यअन्तर्गत मधुवनी जिल्लाको खाजेडीबाट बालकको उद्धार गरेको हो ।

टिप्पणीहरू