हल्ला दोब्बर

सुजाता कोइरालाको स्तन क्यान्सर निको पार्न सरकारले ५० लाख रुपैयाँ दिएपछि साह्रै चर्चा भयो । दिएको त ५० लाख मात्रै हो । तर, चर्चा भने ५० करोडै दिएजस्तो भइरहेको छ । चारैतिर हाहाकारै मच्चिरहेको छ ।

यसै क्रममा केही सुजाता समर्थकले भनिरहेका छन्, जसको बाबु, बाजे, दाजु, भाइ जम्मैले देशका लागि त्यत्रो लडाइँ ग¥यो, उसैको उपचारमा ५० लाख दिँदा यत्रो बबाल ?

हो पनि । सुजाताका बुबा गिरिजाप्रसाद कोइराला प्रजातन्त्रका सेनानी हुनुहुन्छ । उहाँको स्वास्थ्य खर्च पनि राज्यले नै गरेको थियो । सुजाता कोइरालाका ठूलाबा बिपी कोइराला हुनुहुन्छ । उहाँको स्वास्थ्य खर्च पनि राज्यले नै व्यहोरेको थियो । सुजाता कोइरालाका दाजु सुशील कोइरालाको स्वास्थ्य खर्च पनि राज्यले नै व्यहोरेको थियो ।

अर्थात् सुजाता कोइरालाका सारा खान्दानकै स्वास्थ्य खर्च राज्यले व्यहोर्दै आइरहेको छ । कोइराला परिवारको स्वास्थ्य खर्च राज्यले व्यहोर्ने त एउटा परम्पराजस्तै भइसकेको छ । के यो परम्परालाई अहिले आएर तोड्न मिल्छ ? बाबु बाजेदेखि पाउँदै आएको ‘खाई पाई आएको’ सुविधा अहिले आएर कटौती गर्न त पाइँदैन नि ! के यसरी आफ्नै सुविधा कटौती गरियोस् भनेर उहाँहरूले डेमोक्रेसी ल्याएको हो ?

हेर्नाेस्, अझ सुजाताले माग्नुभएको त एक करोड हो । तर, राज्यले त्यो पनि दिएन । दियो त आधी मात्रै । तर, हल्ला भयो दोब्बर । आधी दिएर दोब्बर हल्ला गर्ने यो चलन पनि राम्रो भएन । होइन र ?

टिप्पणीहरू