खनिएको खोलामा खाल्डोमा डुबेका बालकको मृत्यु

खनिएको खोलामा खाल्डोमा डुबेका बालकको मृत्यु

वीरेन्द्रनगर नगरपालिकास्थित ईत्राम खोलाको बुलबुले नजिकै पानीमा डुबेर बालकको मृत्यु भएको छ । दैलेखको भगवतीमाई गाउँपालिका ७ स्थायी ठेगाना भई हाल वीरेन्द्रननगर–१० बस्ने मिलन विकको ७ वर्षीय छोरा रोमन विकको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

राष्ट्रपति चुरे संरक्षण क्षेत्र अन्र्तगत पर्ने यो खोलामा अवैध रुपमा उत्खनन् गरी खाल्डो परेकोले बालकको डुबेर मृत्यु भएको स्थानीयले आरोप लगाएका छन् । ‘पहिला यसरी पानी जम्मा हुने ठूला रह (खाल्ड) थिएनन्’ स्थानीयले भने, ‘केहि दिनअघि डोजर लगाएर यहाँबाट मोरङ्ग (गिटि) निकाल्दा ठूला–ठूला रह (खाल्डा) पारेका हुन् ।’

उक्त खोलामा आएको बाढीले खेत र बस्ती समेत जोखिम पर्ने भन्दै स्थानीयले आपत्ति जनाएका छन् । ‘यसरि बस्ती र खेत जोखिममा पर्नेगरि गिटि, बालुवा लिने बाटो बनाइएको छ’ स्थानीयले बाटो देखाउँदै भने, ‘खोलामा बाढी आएर पानीको बहाव बढेपछि खेत र बस्तीमै पस्ने होलानी यसको जिम्मेवारी कसले लिने होला ।’

आफूहरुले उक्त ईत्राम खोला क्षेत्रमा बस्ती र खेत जोखिममा पर्ने खतरा देखाउँदै पटक–पटक विरोध गर्दा पनि सुनुवाई नभएको र दिउँसोमा विरोध गर्न थालेपछि रातीमा डोजर लगाएर मोरङ्ग (गिटि–बालुवा) ओसार–पसार गर्ने गरेको उनिहरुको भनाई छ ।

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ७ र १२ को सीमामा मुहान भएर वडा नम्बर ८,९ र १० का बस्तीबीचबाट बग्ने ईत्राम खोला राष्ट्रपति चुरे संरक्षण क्षेत्र अन्र्तगतको खोला हो ।

सोही खोला अन्र्तगतको बुलबुले उद्यान नजिकैको क्षेत्रमा रहेको बस्ती जोखिममा पारेर डोजर प्रयोग गरि ग्रावेल (गिटी) उत्खनन् भैरहेको समाचार दुल्लूखबरले प्रकाशन गरेको थियो । यद्यपी जेठ मसान्तदेखि खोल–नाला उत्खनन्का लागि पूर्ण निषेध गरिने कानुनी व्यवस्था छ भने चुरे संरक्षण क्षेत्रमा बाह्रै महिनाका लागि नदी उत्खनन् गर्न पूर्ण रुपमा निषेध गरिएको छ । जसको कारण सोही क्षेत्रमा भैरहेको नदी उत्खनन् कार्य अवैध मानिएको हो ।

वीरेन्द्रनगर नगरपालिका–१० का वडाअध्यक्ष रत्नबहादुर बुढाले आफ्नो निर्देशनमा ईत्राम खोला उत्खनन् भैरहेको बताएका छन् । ‘तटबन्ध गर्दा थुप्रिएको गिटि, बालुवा निकासी गर्न नगरपालिकाले सिफारिस दिएबमोजिम निर्देशन गरिएको हो ।’ वडाअध्यक्ष बुढाले भने ।

यद्यपी वडाअध्यक्ष बुढाले भनेअनुसार उक्त ईत्राम खोला क्षेत्रमा थुप्रिएको गिटि बालुवा नभै खोलामा खाल्डा पारेर नदी उत्खनन् भैरहेको थियो ।

टिप्पणीहरू