सप्तकोशी नदीमा पनि पानीको सतह बढ्दै

सप्तकोशी नदीमा पनि पानीको सतह बढ्दै

विगत केही दिनयता सप्तकोशी नदीको बहावमा उतार चढाव आएको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढेको हो । सामान्यतयाः नदीको बहावमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीमा पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा गएको छ ।

आज साँझको मापनअनुसार कोशी ब्यारेजमा १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाव मापन हुँदा ब्यारेजका २४ वटै ढोका खोलिएका छन् ।

कोशीको पछिल्लो मापनअनुसार नदीको बहावमा निरन्तर वृद्धि भएको हो । सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम देखिए पनि अहिलेसम्म तटीय क्षेत्रमा भने खतराको संकेत नरहेको बतइएको छ ।

तर, निरन्तरको वर्षाको कारण नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन सूचित गराउँदै आएको सुनसरी प्रशासनले जनाएको छ ।

टिप्पणीहरू