वामदेवलाई केपी ओलीको प्रश्न-मैलेचाहिँ के गर्ने नि !

वामदेवलाई केपी ओलीको प्रश्न-मैलेचाहिँ के गर्ने नि !

नेकपा एमालेको आज बालुवाटार सम्पन्न बैठकमा अध्यक्ष केपी ओली र उपाध्यक्ष वामदेव गौतमले एक-अर्काप्रति कटाक्षपूर्ण टिप्पणी गरेका छन् । पार्टी विवादमा तटस्थ रहँदै आउनुभएका गौतम सहभागी पहिलो बैठकमै ओलीले कटाक्षपूर्ण टिप्पणी गर्नुभएको हो । गौतमले शीर्ष नेतालाई अपमान गरेर पार्टी एकताको वातावरण नबन्ने भन्दै माधव नेपाल पक्षको बचाउ गर्दा ओलीले भने विपक्षी गठवन्धनमा लागेर पार्टी एकता नजोगिने दाबी गर्नुभयो ।

गौतम निकट स्रोतका अनुसार, ओलीले बैठक हलभित्र छिर्नेबित्तिक्कै गौतममाथि कटाक्ष गर्दै ‘अर्को बैठकमा पनि आउनुहोला’भन्नुभएको थियो । बैठकको निर्धारित समय ११ बजे नै पुग्नुभएका गौतम दौरा, सुरुवालमा ठाँटिएर अघिल्लो लहरको कुर्सीमा बस्नुभएको थियो । सँधैजस्तै ढिला बैठक हलमा पस्नुभएका प्रधानमन्त्री ओलीले वामदेवलाई स्वागत गर्दै ‘तपाइँ आउनुभएछ,अब अर्को बैठकमा पनि आउनुहोला,आउने र जाने नगर्नुहोला’ भनी उहाँको तटस्थ भूमिकालाई व्यंग गर्नुभएको बताइन्छ ।

तपाईं चै तटस्थ बस्छु भन्नुहुन्छ,अब काँग्रेस सभापतिलाई प्रम बनाउने कि एमालेको बनाउने भन्नेमा पनि तटस्थ बसेर होला त कमरेड ?’

अरु दिनजस्तै आज पनि ओली एक्लैले सम्बोधन गरेर बैठक समापन गर्ने कार्यसूची बनाइएकोमा उपाध्यक्ष गौतमले पनि बोल्ने इच्छा प्रकट गरेपछि उहाँलाई पनि समय दिइएको थियो । ओलीभन्दा पहिले बोल्नुभएका गौतमले अदालतको रिटमा हस्ताक्षर गरेका माधव नेपाल समूहका सांसद (विघटित प्रतिनिधिसभा) हरुलाई हस्ताक्षर फिर्ता गर्न सोमबारसम्मको समयसीमा दिने प्रस्तावको विरोध गर्नुभयो । गौतमले शीर्ष नेताहरुको अपमान गरेर पार्टी एकता कायम नहुने भन्दै आपत्ति जनाएपछि मौखिक निर्देशन दिए पनि बैठकले हस्ताक्षर फिर्तालाई प्रस्तावका रुपमा पास नगरेको स्रोतले बताएको छ ।

बैठकलाई सम्बोधन गर्दै गौतमले माधव नेपाल र प्रचण्डसहितको बृहत कम्युनिष्ट एकताका पक्षमा धारणा राखेकोमा ओलीले त्यसको खण्डन गर्दै स्वीकार गर्न नसकिने बताउनुभयो । कांग्रेस सभापतिलाई प्रधानमन्त्री बनाएर कम्युनिष्ट आन्दोलनको रक्षा र प्रचण्डलाई नेता मानेर लोकतन्त्रको रक्षा नहुने भन्दै ओलीले वामदेवको प्रस्ताव ठाडै खारेज गरिदिएको स्रोतले बतायो ।

ओलीको भनाइ उधृत गर्दै बैठक स्रोतले भन्यो, ‘कम्युनिष्ट आन्दोलनको एकताको लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री अनि लोकतन्त्रको रक्षाका लागि प्रचण्डलाई नेता ? यो हुनै सक्दैन । यो किमार्थ स्वीकार्य छैन । हस्ताक्षर यथावत राख्ने र पार्टी एकता पनि गर्ने कुरा सम्भव छँदै छैन ।’

प्रयास गर्नुस् तपाईंलाई छुट छ,तर तोकेरै तपाईंलाई जिम्मा दिएपछि मैले के गर्ने ? महासचिवले के गर्ने ? अरु साथीहरुले के गर्ने ? त्यसैले एउटा व्यक्तिलाई जिम्मा दिने कुरा हुँदैन कमरेड !’

आफू तटस्थ बसेर पार्टी एकताका लागि भूमिका खेलेको गौतमको दाबीको पनि ओलीले खण्डन गर्नुभयो । “नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीमा माधव खेमा ९ सीटले मात्रै पछि परेको र त्यही पोजिशन अहिले पनि बिध्यमान रहेको,यौटा शक्तिलाई कमजोर अाँकेर पेलपाल गर्न नहुने” यथार्थ स्मरण गराउँदै पार्टी एकताका लागि धेरै पटक धेरै सुझाव दिएपनि ओलीले नमानेकोमा असन्तुष्टि जनाउनुभएका गौतमले अब पार्टीमा रहेर एकताका लागि पहल गर्ने बताउँदा ओलीले भने गौतम तटस्थ बसेकै कारण पार्टी विभाजनमा पुगेको आरोप लगाउनुभयो ।

‘ठीकै छ,तपाईं लागेपछि लाग्नुहुन्छ तर पहिले नै यसरी प्रष्ट ढंगले लागिदिएको भए नेकपा नै विभाजित हुने थिएन । एमालेमा त झन् हुने नै थिएन । तपाईं चै तटस्थ बस्छु भन्नुहुन्छ,अब काँग्रेस सभापतिलाई प्रम बनाउने कि एमालेको बनाउने भन्नेमा पनि तटस्थ बसेर होला त कमरेड ?’, ओलीको भनाइ सुनाउँदै बैठक स्रोतले भन्यो ।

पार्टी एकताका लागि आफूलाई जिम्मा दिन गरिएको गौतमको आग्रह पनि ओलीले स्वीकार गर्नुभएन । ‘तपाईंलाई जिम्मा दिए मैले चैं के गर्ने नि ! एउटालाई जिम्मा दिने कुरा हुँदैन कमरेड’, ओलीको भनाइ उद्धृत गर्दै स्रोत भन्छ, ‘एकताका लागि प्रयास गर्नुस् तपाईंलाई छुट छ,तर तोकेरै तपाईंलाई जिम्मा दिएपछि मैले के गर्ने ? महासचिवले के गर्ने ? अरु साथीहरुले के गर्ने ? त्यसैले एउटा व्यक्तिलाई जिम्मा दिने कुरा हुँदैन कमरेड !’

सँवोधनका क्रममा उपाध्यक्ष गौतमले आफ्नो समूहमा आफूसहित हरि पराजुली र लालबहादुर विश्वकर्मा रहेको जानकारी गराउनुभएको थियो । उहाँले केन्द्रीय सदस्य ३ जना मात्र भएपनि देशभरि हजारौँ कार्यकर्ता रहेको दाबी पनि गर्नुभयो ।

ओलीले एकताका लागि आफूले सक्दो प्रयास गरे पनि माधव नेपालका कारण सफल नभएको दावी गर्नुभएको थियो । हिजो राति फोनमा नेता नेपालसँग २५ मीनेट कुरा गरेर आज भेट्न प्रस्ताव गर्दा अस्वीकार गरेको ओलीले बैठकमा सुनाउनुभयो । नेपालसँगको फोनवार्ताबारे खुलासा गर्दै भन्नुभयो, ‘हिजो राती २५ मीनेट कुरा भयो । आज भेटौँ भन्दा मान्नुभएन । उहाँले त तपाईंको फोनै उठाउन मन थिएन, साथीहरुको दबाबले उठाएको भन्नुभयो । साथीहरुले दिमाग चाटेर मात्र तपाईंको फोन उठाएको हुँ भन्ने कुरा आयो उहाँको ।’

यता,नेपाल समूहका तीन नेताले बैठकअघि बालुवाटारमा ओलीलाई भेटेर कुराकानी गर्नुभएको थियो । जानकार स्रोतका अनुसार सो भेटमा नेपाल समूहका नेताहरु सुरेन्द्र पाण्डे,भीम आचार्य, र गोकर्ण बिष्टले माधव नेपालसँग अन्तिम पटक कुरा गर्न ओलीलाई आग्रह गर्नुभएको थियो ।

टिप्पणीहरू