किन किन, यो मन अमिलो

‘नगृहं गृहमित्याहु गृहिणी गृहमुच्यते ।
गृहं हि गृहिणी हीनं अरण्यं सदृशमतम् ।।

अर्थात् घरलाई घर भनिँदैन, जहाँ गृहिणी हुँदिनन्, घर भएर पनि गृहिणी नहुने हो भने त्यो वनसमान हुन्छ भनेर नीतिशतकमा त्यसै भनिएको होइन । तर, जिन्दगीको पाटो भने अलि फरक रहेछ । लाग्छ, जिन्दगी भनेको घातै घातको कथा हो । आँखा चिम्ले पनि खुसी नमिल्ने र आँखा खोले पनि । जब आफ्नै भनिएकाहरूबाट घातरूपी छुरा रोपिन्छ तब फूलैफूलमा बाँचेको जिन्दगी पतझड बन्दोरहेछ । निरश अनि उजाड । हो, यस्तै उजाड जिन्दगी बोकेर बाँचिरहेकी एक अवला हुँ । कहाँ जाऊँ, के गरूँ, केही उपाय छैन ।

हिजो जसको साथमा खुसी थिएँ, आज उसैविरुद्ध मुद्दा हाल्नुपरेको छ । नाम कान्छीमाया लामा । जीवनका २९ औं वसन्त पार गरिसकेँ । नुवाकोट ककनीका श्यामबहादुर लामासँग १३ वर्षअघि विवाह भएको । त्यो समयमा यस्तो दिनको कल्पनासमेत गरेको थिइनँ । उसो त एउटी नारीले कहिले सोच्न सक्छे र आफ्नो जीवनमा सौताको खेल । हिजोका भद्र र प्यारा श्रीमान् आज अर्र्कैको बनेका छन् । ३५ किलोस्थित घरलाई आफ्नो जिन्दगी बिताउने गँुड बनाएँ तर आज त्यही घर बिरानो भएको छ ।

जब एकबारको आफ्नो जिन्दगी कटाउने जीवनसाथीले धोका दिन्छ अनि यो समाजले हेर्ने हेयपूर्ण दृष्टि मनमा काँडाझैं गड्दो रहेछ । कुनै रहरले होइन, जिन्दगीमा घात भएपछि न्यायको ढोका ढक्ढक्याउँदै यसरी आइपुगेकी हुँ । आफ्नो जीवन सुरक्षाको भीख माग्दै हिँड्नुपरेको छ । न्यायको खोजीमा राष्ट्रिय महिला आयोगमा लोग्नेविरुद्ध मुद्दा दर्ता गराउनु मेरो पनि रहर त कहाँ हो र ? यो सबै श्रीमान्ले नै बाध्य बनाएर हो ।  भन्छन् न्यायको नौ सिङ हुन्छ । खै, न्याय पाउँछु भन्ने लागेको छैन अझै पनि ।

गनेकी छैन, त्यो बौद्धस्थित प्रहरी चौकी कति दिन धाएँ । अचम्म लाग्छ किन लिन मान्दैनन् उजुरी एउटा पीडित महिलाको । कुन नियमले बाँधेको छ, यहाँका हाकिमलाई ? भन्छन्, सत्यम् सेवा सुरक्षणम् तर व्यवहार अपराधीको संरक्षण ! जिन्दगीको आधा अंश यही बौद्ध क्षेत्रमा होटल चलाएर गुजारें । यहीँ मेरा कैयौं वसन्त बिते । रहर बिते । सपना बुनिए÷तुहिए । आज अवला पीडित एक्लो नारीको वेदनामा किन प्रहरी निवेदन स्विकार्न हिच्किचाउँछन् ? ह्यात होटलको आधा वसन्त गुजारें । लोग्ने विदेश जाँदै–आउँदै गथ्र्यो २÷३ वर्षको अन्तरालमा । सुरुका आठ वर्ष राम्रैसँग बित्यो । तर, उसले ढाँट्यो, छल्यो मेरो चोखो र पवित्र प्रेमलाई । घात ग¥यो जिन्दगीलाई । उसले नयाँ जिन्दगी रोजेको रहेछ र त पछिल्ला वर्षमा उसलाई निको लाग्न छाड्यो मेरो आवाज । फोन सम्पर्क टुट्दै गयो ।

छाँगाबाट खसें, जब विदेशमा भनिएको लोग्ने यही काठमाडौं खाल्डोमा अर्कै नकचरीसँग अँगालो मार्दै हिँडिरहेको भेटिन्छ । तब कुन नारीको मन नरोला ? हिजो जिन्दगीभरि नछुट्टिने कसम खाएको खसम आज सधैंका लागि छुट्टिने व्यवहार देखाउँदै छ । अर्थात् अर्कीलाई आफ्नो बनाएर ऊ उतै रमाएको छ । यो कस्तो समाज ! मैले न्याय माग्दा उल्टै बदनाम हुनुपर्ने ? लोग्ने गुमाउने मैले पनि बद्नामी खेप्ने । अँगालोभरिकी श्रीमती र काखे बच्चा छाडेर कान्छी च्यापी हिँड्ने पुरुष अझै मर्द कहलाइने ? यो कस्तो विभेदको पर्खाल ? भन्छन्, ‘महिलाको शत्रु महिला नै † नारीको बैगुनी नारी नै ।’ लोग्ने त पाइनँ–पाइनँ । यो संसारमा विश्वास कसैको भएन ।

राम्रा–राम्रा, मीठा–मीठा सपना बुनेको थिएँ । लोग्ने विदेशमा छ । पैसा कमाएर ल्याउँछ । अनि एउटा राम्रो जीवनशैली जिउन सकिन्छ । हाम्रो पनि सुन्दर सपना हुनेछ, सुन्दर घर हुनेछ । एउटा साधारण नारीले बिहेपछि योभन्दा धेरै के नै खोज्छे र ? म त साधारण लेख–पढ जानेको केटी के नै सोच्न सक्छु र † तर, जब कमाउन बिदेसिएको लोग्ने काठमाडौंमै कान्छी ल्याएर मोजमस्तीमा हराएको भेट्टाएपछि कसको बेहाल नहोला ? लामो समय सम्पर्क भएन । लोग्ने विदेश भासिएका । कतै मलाई नै सम्झिएर दुःखका दिन बिताएका छन् । जे गरेका छन् मेरै लागि गरेका छन्, यस्तै सोचेको थिएँ । आजको दुःख भोलिको सुख हुनेछ, यस्तै सोचेको थिएँ ।

परदेशको ठाउँ सात समुद्रपारि धेरै टाढा मरुभूमिमा कसैले गधाजस्तै जोतिरहेको होला अनि कसरी फोन गरोस्, कुरा गरोस्, यस्तै–यस्तै सम्झिन्थें÷कल्पिन्थेँ । तर, सोचेजस्तो भएन । त्यो होइन रहेछ । कल्पनामा डुबेको, तड्पिएको ती सब व्यर्थ भए । खेर गए । माटोमै विलिन भए, मेरा आँसुका ढिकासँगै । हरेक रात सपनामा आउने । त्यो लोग्नेको अनुहार/मन/हृदय बदलिएछ । अरू कसैले खोसिदिएछ । निद्राबाट ब्युँझिएजस्तै भएको छु आज अर्की केटी यो सहरमा लोग्नेको काँध जोडेर हिँडेको देख्दा ।

कसले सुख पाउँछ, कसले दुःख पाउँछ । यो समय परिस्थितिको नियम हो । कसले भन्न सक्छ ? नेपाली समाजमा एउटा नारीको घर बिग्रेपछि कस्तो अवस्था देखा पर्छ । भोग्नेलाई मात्र थाहा हुन्छ । नपर्नेले यसको अनुमान मात्र गर्न सक्छन् । दाजुभाइ तीन जना छन् । बाँच्नका लागि संघर्ष गर्नुपर्ने रहेछ । दुःख त मैले नै भोग्ने हो । न त मेरो दुःख अरू कसैले भोगिदिन्छ । अगाडि आउँछ ‘कठै बिचरी’ भन्छन्, पछाडि महिला साथीहरू नै कुरा काट्छन् । मलाई नै अगतिलो देख्छन् । लोग्नेलाई मर्द देख्छन्, तिनै महिला । साथीसंगी आफन्त यी सबैले त केही दिन माया–मोह देखाउने मात्र हुन् । केही सहयोग गर्ने मात्र हुन्, बिग्रिनु त जिन्दगी मेरै बिग्रेको हो ।

विस्तारै चित्त बुझाउँदै गएको छु । विस्तारै आफूलाई सम्हाल्दै गएँ । मेरो भन्नु कोही छैनजस्तो लाग्छ । माइती बस्ने पनि उही दुई÷चार दिन न हो, फेरि जीवनको नयाँ जहाज त समात्नै पर्छ । नेपालको नियम कानुन यही अधिकतम पुरुषले बनाएको हो । संविधानभित्र रहेर आफ्नो हकदाबी गरेको मात्र हुँ । न्याय मागेको हुँ, अरू केही होइन । उसको मन नपरेकी स्वास्नी भए पनि मैले पाउनुपर्ने अधिकार त पाउनुपर्छ । उसले बहुविवाह गरेको हो, उसैले स्विकारेको छ । तर, ऊ आफैं भागी–भागी किन हिँड्छ ? यो संसारमा भागेर कतिन्जेल बाँच्ने ? किन बुझ्दैन, न्याय दिलाउने प्रहरी ? यो निवेदन किन दर्ता गर्न मान्दैन । किन मेरो लोग्नेसँग गोप्य भेटघाटमा हराउँछ ।

के छ त्यस्तो । के भोलि आफ्नै दिदी–बहिनी यस्तो हालतमा पर्दा दाँत ङिच्याएर मात्र उनीहरू बस्न सक्छन् ? मेरो लोग्ने त खोस्यो, खोस्यो उसले, पाउनुपर्ने न्यायको भीख माग्दै मैले कति दिन हिँड्ने यी सरकारी संस्थासँग ? यदि, कुरा मिलेको थियो भने न्याय हुने निश्चित देखेको थिएँ भने यो महिला आयोगमा आउनुपर्ने थिएन । आफ्नो वेदना कति जनालाई देखाऊँ, मान्छे हँसाऊँ । म चाहन्छु मिडियाको सहयोग पुगोस्, एउटा पीडित नारीलाई न्याय दिलाउने कुरामा ।

नेपाली नारी मजस्तै अधिकतम लोग्नेकै भरमा बाँचेका हुन्छन्, घरपरिवार धानेर बसेका हुन्छन् । उसकै आफन्त भनेर बसेका हुन्छन् । हुँदाखाँदाको जागिर छाडेर बसेका हुन्छन् । तर, तिनै लोग्ने यस्तो विरूपमा देखिएपछि संसार अन्धकार लाग्दो रहेछ । त्यही घर आफ्नो भनी माइती घर छाडी हाड खियाएर बसेको हुन्छ । एउटा लोग्नेको सानो कारणले त्यही यो घर बिरानो हुँदोरहेछ । मेरोजस्तो दुर्दशा अरू कुनै नारीको नहोस् ।

कान्छीमाया लामा, बौद्ध

टिप्पणीहरू