सबका सामु रुँदै ती युवती

कात्तिक १६ गते जिल्ला अदालत परिसर लमजुङ निकै स्तव्ध बन्यो । बालविवाह तथा जवजस्ती करणीको आरोपमा झन्डै चार महिनादेखि पुर्पक्षमा रहेका विशाल परियार पेशीका लागि लगिएका थिए । उनलाई अदालत लगिँदै छ भन्ने खबर पाएर काठमाडौंबाट भागी लमजुङ पुगेकी थिइन् पीडित भनिएकी युवती ।

साढे एघार बजेतिर जिल्ला कारागारबाट विशाललाई अदालत पु¥याइएको थियो । पुलिसकै छेउमा हत्कडीसहित आएका थिए विशाल । गहभरि आँशुले भरिएकी ती युवती एक्कासि विशाललाई अंकमाल गर्दै डाँकै छाडेर रोइन् । काठमाडौमा सँगै बस्ने विशाल र ती युवती प्रेममा परेर नै विशालले भगाएर लगेका थिए । तर, युवतीका आफन्तले विशाललाई फसाउने हेतुले बालविवाह तथा जवरजस्ती करणीको संगीन आरोप लगाएर जिल्ला प्रहरीमा उजुरी गरे । विशाललाई अंकमाल गरेर रुदै गरेकी युवती आफन्तलाई मात्रै होइन अदालत र पुलिसहरुलाई पनि मुख छाडेर गाली गरिरहेकी थिइन् । ‘मलाई विशालले हैन, मैले नै विशाललाई भगाएको हो’ उनी भन्दै थिइन् । विशाल मेरो प्रेम हो, मेरो लोग्ने हो, किन उसलाई जेल हालेको भनेर चिच्याउन थालेपछि एकछिन त अदालतका कर्मचारी बाहिर निस्केर हेर्न थालेका थिए भने बार एशोसिएशन लमजुङका अध्यक्ष तथा विशालको मुद्दा हेरिरहेका वैतनिक वकिल कृष्णप्रसाद अधिकारीले अब विशाल छिट्टै छुट्छ भनेर सम्झाएपछि पीडित युवती थामिएकी थिइन् ।

काठमाडौंको एक नेवारको घरमा घरेलु कामदारको रुपमा राखिएकी बझाङकी क्षेत्री युवतीलाई विशालले गत भदौमा भगाएका थिए । विवाह गरेर घरमै बसेका विशाल दुईदिनमै प्रहरीबाट समातिए । अदालत परिसरमा रहेका सेवाग्राहीहरु कसैले पनि अदालत र प्रहरीमाथि धारेहात लगाउन छाडेनन् । यता, एक महिला जिल्ला प्रहरी कार्यालयका निरीक्षक कमल रजौरेलाई सत्तोसराप गर्दै थिइन् । केटीभन्दा तीन महिनाले कान्छो विशाललाई जवरजस्ती करणीको आरोप लगाएर जेल पठाउनमा पनि रजौरेकै हात हुनसक्ने उनले शंका गरिन् ।

घरमा राखिएकी एक बच्चीलाई पटक पटक करणी गरेको आरोपमा पक्राउ परेका भोटेओडारका केदार थापा परिवारले डर धम्की र पैसाको आडामा पीडित परिवारलाई बयान मात्र फेर्न लगाएनन् न्यायाधीशहरुलाई नै प्रभावमा पारे । आम जनदबाबका बावजुद पनि तत्कालीन प्रधानन्यायाधीश दामोदर शर्माकै प्रत्क्षय दवाव आएपछि जिल्ला न्यायधीश दीपक पन्तले साँझ पाँच बजेतिर मात्र फैसला सुनाएका थिए । पैसो चिनेका चतुर श्रीमान् काशीनाथ अधिकारीले बार्गेनिङ लामै चलाए । पेशी सार्दै आए ।

उपियाँ उछिट्टियो जुम्राको काल भनेझैँ सोझा पन्त श्रीमान् घानमा परे । राम्रै छवि बनाएका उनले केदार थापाको फैसलापछि धमिलिएको छविलाई विशाल परियारको फैसलामा के गर्छन् भनेर लमजुङेहरुले चासो राखेका छन् । सम्बन्धविच्छेद र जबरजस्ती करणीजस्ता मुद्दाको चाङ नै लागेको जिल्ला प्रहरी कार्यालयमा केही दिन अघिमात्रै महिला तथा बालविकास कार्यालयले धमिलीकुवाकै सीताराम विकले श्रीमतीलाई हातखुट्टा बाँधेर अप्राकृतिक यौन सम्पर्क राखी यातना दिएको आरोपमा मुद्धा दर्ता गराएको छ ।

– अञ्जनकुमार

टिप्पणीहरू