सबैको नजर अब सर्वोच्चतिर

सबैको नजर अब सर्वोच्चतिर

प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा दायर ३० वटा रिटमाथिको सुनुवाई अन्तिम चरणमा पुगेको छ । मुद्दाका दुवै पक्षको बहस करिब सकिएको छ । प्रधानमन्त्रीको तर्फका कानुन ब्यवसायीलाई छुट्याएको मध्ये बाँकी १ घण्टा ३० मीनेटको बहस आज सकिएसँगै सुनुवाई अन्तिम चरणमा पुगेको हो ।

आज प्रधानमन्त्रीका निजी कानून व्यवसायीले बहस सकेपछि पर्सि आइतबार सभामुखको तर्फबाट बहस शुरु हुनेछ । सभामुख अग्नि सापकोटाको तर्फबाट बहसका लागि सरकार पक्षलाई दिएको समयबाट १ घण्टा र इजलासले आधा घण्टा थप गरेको छ ।

सभामुखका वकिलको बहसपछि रिट निवेदक पक्षले जवाफी बहस गर्नेछ । जवाफी बहसका लागि उसलाई ३ घण्टाको समय छुट्टयाईएको छ ।

आइतबार सभामुख र रिट निवेदकको बहस सकिए सोमबार टि ब्रेक अगाडि नै एमिकसले राय दिइसक्नेछ । नेपाल बार र सर्वोच्च बारबाट छानिएका एमिकसका चार जना वरिष्ठ अधिवक्ताहरूलाई ३० मीनेटका दरले दुई घण्टाको समय छुट्टयाइएको छ ।

सोमबार सम्पूर्ण सुनुवाई सकिए बुधबारसम्ममा फैसला आउनसक्ने अनुमान गरिएको छ । अघिल्लो विघटनको मुद्दामा सुनुवाई सकिएपछि चार दिनमा फैसला आएको थियो । तर, यसपटक प्रधानन्यायाधीशसहित संवैधानिक इजलासका न्यायाधीशहरु एकपटक पनि संयुक्त छलफलमा नबसेको अवस्था छ । अहिलेसम्म न्यायाधीशहरु छलफलमा नबसेको र फैसला लेख्न केही समय लाग्ने हुँदा बुधबार नै फैसला आउने कम सम्भावना छ।

मुद्दालाई ‘फास्टट्रयाक’ विधिद्वारा किनारा लगाउने तयारीका साथ सुनुवाइको समयसीमा निर्धारण गरेको संवैधानिक इजलासले मुद्धाका दुवै पक्ष र एमिकसलाई समेत समयसीमा तोकेको थियो । जसकारण फैसला छिट्टै आउने अनुमान गरिएको हो ।

टिप्पणीहरू