बहुला मान्छेले टोक्ला

बहुला मान्छेले टोक्ला

प्रधानमन्त्री केपी शर्मा ओलीलाई यदि केही गरी कुनै बहुला कुकुरले टोक्यो भने के हुन्छ होला ? हामीलाई त थाहा छैन, के हुन्छ ।  तर, स्वयं प्रधानमन्त्री ओलीलाई चाहिँ थाहा रहेछ । यदि, उहाँलाई कुनै बहुला कुकुरले टोक्यो भने उहाँले सीधा गएर माधव नेपाललाई प्रधानमन्त्री बनाउनु हुनेरहेछ ।

अस्ति सीधै भन्नुभयो कि उहाँलाई अहिलेसम्म बहुला कुकुरले टोकेको छैन, त्यसैले माधव नेपाललाई प्रधानमन्त्री बनाउन सकिँदैन । यसको अर्थ त यही भयो कि जुन दिन उहाँलाई बहुला कुकुरले टोक्छ त्यही दिन माधव नेपाललाई प्रधानमन्त्री बनाइन्छ ।

प्रधानमन्त्रीलाई बहुला कुकुरले टोक्नु लगभग असम्भव छ । किनभने बहुला कुकुरलाई पनि त कुनै बहुला मान्छेले टोकेको छैन नि ताकि गएर प्रधानमन्त्री ओलीलाई टोकिदेओस् । जुन कुकुरले प्रम ओलीलाई टोक्छ त्यो कुकुर अब बहुलाउन बेर छैन ।

कलाई टोक्नु हुन्छ कसलाई हुन्न भन्ने कुरा त कुकुरले सुँघेरै पत्ता लगाउन सक्छ । त्यसैले प्रम ओलीलाई बहुला कुकुरले टोक्ने सम्भावना छैन नै भन्दा हुन्छ ।

तर, समस्या के छ भने उहाँ अहिले बालुवाटारमा हुनुहुन्छ । त्यहाँ टोक्ने कुकुर त छ जस्तो लाग्दैन । तर टोक्ने मान्छेहरू चाहिँ प्रशस्तै छन् । ओलीजीले यतातिर ध्यान दिनु राम्रो होला । कुकुरले नटोके पनि मान्छेले टोक्यो भने के होला ? यसबाट पनि त केही हुने सम्भावना छ होला नि !

टिप्पणीहरू