मङ्गलवारसम्म सँसद फेरि ब्युँतिने प्रवल सम्भावना « Jana Aastha News Online
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022
Logo
११ माघ २०७८, मंगलवार
|  Tue Jan 25 2022

मङ्गलवारसम्म सँसद फेरि ब्युँतिने प्रवल सम्भावना

प्रकाशित मिति :  १८ असार २०७८, शुक्रबार १२:५८


प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा आज पनि बहस जारी छ । प्रधानमन्त्री तथा राष्ट्रपतिको कदमको बचाउमा सरकारी कानुन व्यवसायीले बहस गर्दैछन् । सरकारी पक्षसँग बहसका लागि डेढ घण्टामात्र समय बाँकी हुँदा आज बहसको प्रारम्भ रमेश गुरागाईले गरेका छन् ।

सरकारी पक्षका कानुन व्यवसायी रमेश गुरागाईले अदालतले संसद पुनर्स्थापना गरे पनि सरकार बन्नै नसक्ने ठोकुवा गरेका हुन् । पहिलो कुरा सरकार बन्ने अवस्था छैन,दोश्रो सरकार बन्नका लागि विश्वासको मत पाउने अवस्थै छैन यसर्थ दलहरुबीच द्वन्द्व भएका कारण सरकार बन्न नसक्ने गुरागाईको जिकिर छ ।

पहिलो प्रतिनिधि सभा बिघटनलाई अदालतले उल्टाइदिए पनि संसदले रिजल्ट दिन नसकेको,अविश्वासको प्रस्ताव पनि आउन नसक्दा जनतामा निराशा पैदा भएको दावा गर्दै उनले संसद पुन स्थापना भए राजनीति अस्थिर बन्ने जिकिर गरे ।

आज सरकारी पक्षका कानुन व्यवसायीले बहस सक्नेछन् ! त्यसपछि सभामुख अग्नि सापकोटा पक्षधर कानुन व्यवसायीको पालो छ । सभामुख पक्षधरका ५ जना कानुन व्यवसायीले बहसनामा बुझाएका छन् । सभामुखका तर्फबाट उपेन्द्रकेशरी न्यौपाने,लव मैनाली, श्याम खरेल,मेघराज पोखरेल र श्रीकृष्ण सुवेदीले बहस गर्दै छन् । सरकारी पक्षका कानुन व्यवसायीको लागि डेढ घण्टा समय छुट्टाइएको छ । सभामुख पक्षधर कानुन व्यवसायीले आफूहरुलाई डेढ घण्टा अपुग हुने भन्दै समय थपिदिन आग्रह गरेका छन् ।

सभामुख पक्षधरले बहस सकाएपछि एमिकस क्युरीको तर्फबाट सर्वाेच्च बार र नेपाल बारका प्रतिनिधिहरुले बहस गर्नेछन् । उनीहरुका निम्ति दुई घण्टा तोकिएको छ ।

एकिमस क्युरीको रायपछि जवाफी बहसको समय हुनेछ । यसपछि मङ्गलवारसम्ममा सर्वाेच्चले आदेश दिने सम्भावना छ ।


प्रतिक्रिया दिनुहोस !