माओवादीसँग मिल्दा ओलीको आपत्ति

माओवादीसँग मिल्दा ओलीको आपत्ति

बेला–बखत केन्द्र र प्रदेशमा आफ्नो पार्टी माओवादीसँग नजिकिएको र सहकार्य गरेको कुराले रुकुमका कांग्रेसलाई पिरोल्दो रहेछ । कर्णाली प्रदेश सरकारसँगको सत्ता सहकार्य र केन्द्रमा चुनावी सहकार्य गाइँगुइँ सुनिएको कुराको यहाँका कांग्रेसले खरो प्रतिवाद गरिरहेका छन् ।

कांग्रेस रुकुम पश्चिमका सभापति प्रेमप्रकाश ओलीले यही कुरामा आपत्ति जनाएर केन्द्रको गम्भीर ध्यानाकर्षण गराएका छन् । १४ अाैं महाधिवेशनको संघारमा रहेको कांग्रेसको केन्द्रीय समितिलाई सन्देश दिन वडा भेला गर्नुभन्दा पहिला साउन पहिलो साता जिल्ला भेला गर्ने र त्यहीँभित्र व्यापक छलफल गरेर केन्द्रीय नेतृत्वको ध्यानाकर्षण गराउने योजना छ ।

अन्य जिल्लामा पार्टी सभापतिको दाबेदारी भैरहेको बेला रुकुममा भने त्यसको चर्चा छैन । माओवादी नेता जनार्दन शर्माको प्रभाव बढी रहेको यस जिल्लामा आगामी चुनावमा गतिलो उम्मेदवार उठाउन पनि हालका सभापति प्रेमप्रकाश ओलीलाई सहमतिबाटै सभापति बनाउने कोसिस भइरहेको बुझिएको छ ।

सभापतिमा पूर्वसभापति मानबहादुर नेपाली र गत चुनावमा सभापतिका प्रत्यासी कृष्ण रोकायको पनि तीव्र आकांक्षा रहेकै छ । वर्तमान सभापति ओली ब्याक हुने अवस्था आएमा खड्कबहादुर डाँगी लगायतको युवा पंक्ति पछि नहट्ने बुझिएको छ ।

यस विषयमा ओलीले गम्भीर हुँदै भनेका छन्, ‘तीन तहका निर्वाचनलाई फेस गर्ने परिस्थिति छ, केन्द्रले जिल्लाको भावना र पीडा बुझेको छैन, निर्वाचनमा तिनै माओवादीसँग समन्वय गर्नेगरी कुरा भइरहरेको अपुष्ट कुरा छ, हामी यहाँ माओवादीको दमन, दम्भ र निषेधको राजनीतिको शिकार भइराखेका छौँ, सहमतिमै जिल्ला नेतृत्व बनाउँछौँ ।’ अघिल्लो चुनावमा कतिपय जितेको ठाउँमा पनि हारिएको कुरालाई नभुलेको र गहन समीक्षा गरेकाले आगामी नेतृत्व सहमतिबाटै बनाइने कांग्रेसको आन्तरिक गृहकार्य छ ।

वडादेखि पालिका र जिल्लाको अधिवेशनसमेत तयारी भइरहेकाले रुकुम जिल्लाको पार्टी समिति पनि साताैँ जिल्ला अधिवेशनको विशेष तयारीमा जुटिरहेको छ । सोमबार मात्रै क्रियाशील सदस्यहरूको नामावली टुंग्याइएको छ । जिल्लाबाट ३ हजार २ सय ३५ जना नयाँ र १ हजार ९ सय ९५ जना पुराना गरेर ५ हजार २ सय ३० को क्रियाशील सदस्यता सिफारिस गरिएको छ ।

टिप्पणीहरू