अमेरिकामा के रहेछ त्यस्तो अचम्म ! « Jana Aastha News Online
Logo
१८ मंसिर २०७८, शनिबार
|  Sat Dec 4 2021

अमेरिकामा के रहेछ त्यस्तो अचम्म !

प्रकाशित मिति :  ३ मंसिर २०७३, शुक्रबार ०८:१६


  • प्रेमराज सिलवाल

सन् १७८८ मा जर्ज वासिंगटनदेखि सन् २०१२ मा दोस्रो पटक बाराक ओबामा निर्वाचित हुँदासम्म पटकको हिसाबले ५७ औं र व्यक्तिको हिसाबले ४४ औं राष्ट्रपति अमेरिकाले पाएको छ । पहिलो, दोस्रो राष्ट्रपति कुनै पार्टीको नभए पनि त्यसपछिका सबै दलकै झण्डामा निर्वाचित भएका थिए । अमेरिकी प्रजातान्त्रिक इतिहासमा लोकप्रिय बनेर सन् १९३२ देखि सन् १९४८ सम्म लगातार ४ पटक डेमोक्रेटिक पार्टीबाट विजयी बनेका फ्रान्कलिन डि. रूज्बेल्टले सन् १९३९ देखि सन् १९४५ सम्म चलेको दोस्रो विश्वयुद्धपछि संयुक्त राष्ट्रसंघ स्थापनामा समेत महत्वपूर्ण भूमिका निभाएका थिए । बेलाबखत अन्य दलको उपस्थिति हुने गरे तापनि मूल रूपमा डेमोक्रेटिक र रिपब्लिकन दल नै सधैँजसो सत्तामा आएका छन् । सन् १७८९ मा संविधान अनुमोदन दर्ताका कुनै राजनीतिक दलको अस्तित्व थिएन । डेमोक्रेटिक पार्टीले २२ र रिपब्लिकन पार्टीले २१ पटक चुनाव जितेको पृष्ठभूमिमा सन् २०१६ मा ट्रम्प विजयी भएपछि दुवै शक्तिशाली पार्टीको जीत संख्या बराबरी अर्थात् २२ पुगेको छ ।

कुल ५३८ इलेक्टोरल भोट संख्या भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा २७० मत ल्याउनेले विजय हासिल गर्न सक्छ । मत बराबर भए वा दुवैले आवश्यक मत ल्याउन नसके मात्र हाउस अफ रिप्रेजेन्टेटिभबाट मतदान गरी राष्ट्रपति छनोट गरिन्छ । उपराष्ट्रपतिको हकमा त्यस्तो बेला सिनेटले निर्वाचन गर्छ र सो प्रयोजनका लागि प्रत्येक राज्यको एक मत रहन्छ । सन् १९७९ पछि ग्रिन पार्टी र लिबर्टियन पार्टीसमेत तेस्रो शक्तिको रुपमा उदाए पनि दुवै दलले सन् २००४ को निर्वाचनमा अमेरिकाभरबाट तीन लाख एकतीस हजारभन्दा कम मात्र मत ल्याएकाले त्यहाँ दुई पार्टीबाहेक कसैको अस्तित्व देखिन्न ।

डेमोक्रेटिक र रिपब्लिकन पार्टीबीच विचारधारात्मक र दार्शनिक हिसाबमा कुनै फरक नदेखिए पनि सामाजिक तथा राजनीतिक मुद्दामा मतभेद पाइन्छन् । अमेरिकामा व्यक्तिले सजिलै हतियार किन्न पाउने प्रावधानका कारण स्कुल, कलेजमा समेत मान्छे सन्काहाको रिसमा पर्ने र मर्ने गरेका छन् । सन् २०१५ मा विनाकुनै कारण बन्दुकको गोली खाएर मर्नेको संख्या ३ हजार १ सयभन्दा बढी पुगेको थियो । व्यक्तिलाई हतियार दिन डेमोक्रेटिक पार्टी खुकुलो नीतिमा देखिन्छ भने रिपब्लिकनले त्यसलाई पूर्णरूपमा निषेध गर्नुपर्ने नीति सार्वजनिक गर्दै आएको छ । सेम सेक्सको बहस अमेरिका र युरोपमा लामो समयदेखि आएको छ ।

कतिपय देशले त्यसलाई मान्यता दिएकोमा डेमोक्रेटिक पार्टी यो मुद्दामा नरम धारणा राख्छ । रिपब्लिकन पार्टीको भने यसमा परम्परागत रहेको पाइन्छ । अध्यागमनलाई कडा गरी अन्य देशबाट आउने आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने मान्यता रिपब्लिकनको छ भने डेमोक्रेटिक पार्टी त्यसप्रति उदार छ । डोनाल्ड जे. ट्रम्पले मुस्लिमलगायत कतिपय देशका मानिसलाई अमेरिका छिर्नै दिनुहुन्न भन्ने धारणा राख्दै आएका थिए । मृत्युदण्डलाई मान्यता दिने विषयमा पनि दुई पार्टीबीच मतभेद थियो । रिपब्लिकन पार्टी दोषी प्रमाणित कतिपय मुद्दामा फाँसीको पक्षमा देखिन्छ भने डेमोक्रेटिक त्यस्तो प्रावधानको विपक्षमा उभिएको छ ।

सन् १७७६ मा स्वतन्त्रता पाएर सन् १७८९ मा १३ ओरिजिन राज्यको हस्ताक्षरपछि बनेको अमेरिकी संविधानको धारा २ मा राष्ट्रपति निर्वाचन प्रक्रियाबारे उल्लेख छ । संविधानले राष्ट्रपति बन्न अमेरिकामै जन्मेको, ३५ वर्ष उमेर पूरा भएको, लगातार १४ वर्षदेखि अमेरिकामै बस्दै आएको जस्ता प्रावधान राखेको पाइन्छ । शपथग्रहणको दिनअघि नै मापदण्ड पूरा भएकै हुनुपर्छ । चारवर्षे कार्यकाल भएको राष्ट्रपति २ चोटि मात्र पदमा रहन सक्छ भने उपराष्ट्रपतिले पनि सोही प्रक्रिया पूरा गरेको हुनुपर्छ ।

इतिहासमा धेरै जना राष्ट्रपति दुई कार्यकाल निर्वाचित भए । राष्ट्रपतिलाई कार्यकारी शक्ति संविधानले दिएको भए पनि उनले गर्ने नियुक्ति संघीय सर्वाेच्च अदालतका न्यायाधीश, राजदूत, विदेशमन्त्रीको सिनेटबाट अनुमोदन गर्नुपर्ने प्रावधान छ । सिनेटमा ५० वटै राज्यबाट समान २÷२ जनाको दरले प्रतिनिधित्व हुन्छ, जसमा जनसंख्या र भूगोलको कुनै अर्थ हुन्न भने हाउस अफ रिप्रिजेन्टेटिभमा समेत सबै ९४ जिल्लाबाट न्यूनतम संख्यामा अनिवार्य प्रतिनिधित्वको व्यवस्था गरिएको देखिन्छ ।

व्यक्तिलाई हरेक प्रकारका पर्सनल राइट्सको वकालत गर्ने अमेरिकामा व्यक्तिका त्यस्ता अधिकार हनन हुँदा तत्काल प्रशासन र न्यायालयमा मुद्दा गर्ने अधिकार संविधान र कानुनले दिएको छ । अमेरिकामा १८ महिनादेखि थालिने राष्ट्रपति निर्वाचनमा सञ्चारमाध्यमको अत्यधिक प्रयोग हुने गर्छ ।

 सेनाका पूर्वअधिकारी, ठूला व्यापारी, उद्योगपति, परम्परावादी, गोरा जातिको बढी बाहुल्य रिपब्लिकन पार्टीतिर र जाति, जनजाति, आप्रवासी, अफ्रिकन, अमेरिकन र रोजागारमा रहेका गोरा अमेरिकनको बढी संख्या डेमोक्रेटिक पार्टीतिर देखिन्छ । यी दुई पार्टीबीच राजनीतिक, सामाजिक थुप्रै विषयमा मतभेद इतिहासदेखि नै कायम भए पनि विदेश नीति र सम्बन्धमा भने खासै भिन्नता पाइन्न ।

अमेरिका विश्वमा शक्तिशाली बन्नुपर्छ र त्यसका लागि हमला र हस्तक्षेपको समेत नीति लिनुपर्छ भन्ने विषयमा दुवैको समान मत छ । उनीहरूका चुनावी नारा, भाषण तथा ३ पटकसम्म भएका सार्वजनिक बहसमा समेत विदेश नीतिका सम्बन्धमा खासै मतभेद देखिएन । बरु, रिपब्लिकन उम्मेदवार ट्रम्पले मुस्लिमलगायतलाई अमेरिका प्रवेशमा कडाइ गर्ने र गैरकानुनी बसेकालाई निकाला गर्ने आशय व्यक्त गरेका थिए । अमेरिकी जनतामा करसम्बन्धी मुद्दा पनि सधैँ उठ्ने गरेकै हो । सन् १९९८ मा जर्ज डब्लु बुसको मुख्य चुनावी नारा ‘रिड माई लिप्स ः नो न्यू ट्याक्सेस’ थियो, अर्थात् नयाँ कर नलगाउने घोषणा नारामै उल्लेख थियो ।

सन् २०१२ मा बाराक ओबामाको मुख्य नारा ‘एस वी क्यान’  थियो भने उनकै पार्टीबाट सन् २०१६ मा उठेकी प्रथम महिला उम्मेदवार हिलारी क्लिन्टनको मूल नारा ‘स्टङोङ्गर टुगेदर’ रह्यो । त्यसैगरी, रिपब्लिकन पार्टीबाट विजयी डोनाल्ड ट्रम्पको नारा ‘मेक अमेरिका ग्रेट अगेन’ थियो र यो नारालाई अमेरिकी जनताले आफ्नै नारा सम्झेकाले विजय सहज भएको अनुमान गर्न सकिन्छ ।

अमेरिकी राष्ट्रपतिलाई भिटो लगाएर संसद्बाट पठाएको बिल फिर्तासमेत गर्ने अधिकार भए पनि संसद्ले दुई तिहाइको समर्थनसहित राष्ट्रपतिको समर्थन वा हस्ताक्षरविना पनि लागू गर्नसक्ने असीमित अधिकार छ । ट्रम्प १०० सदस्य भएको सिनेटमा ५१ सिट र ४३५ सिटको हाउस अफ रिप्रिजेन्टेटिभमा २४० भन्दा बढी स्थान ल्याएका छन्, यो उनको कार्यकालका लागि सुविधाजनक बहुमत हो । राष्ट्रपतिको निम्ति आवश्यक सिट २७० भए पनि उनले २ सय ८० भन्दा बढी इलोक्टोरल भोट जितेका छन् । अमेरिकामा अदालतलाई अति नै सम्मान र मर्यादा गरिन्छ । उसको निर्णयको विपक्षमा सडकमा नाराबाजी गर्ने प्रथा छैन ।

सन् २००० मा फ्लोरिडा राज्यको निर्वाचनमा मत गन्दा विवाद भएकाले मुद्दा अदालत गएको थियो । राष्ट्रपतिका उम्मेदवार जर्ज बुस र अल गोरको निकै कडा प्रतिस्पर्धा रहेको स्थितिमा अदालतले त्यो निर्वाचन रद्द गरी नयाँ निर्वाचन गर्ने कि कस्तो निर्णय दिने भन्ने अन्योल र अड्कलवाजीका बीच आफ्ना ९ जना न्यायाधीशबीच गोप्य मतदान भएको थियो । भोटिङमा ९ मध्ये ५ बुसको पक्षमा र ४ गोरको पक्षमा भएकाले बुसलाई राष्ट्रपति घोषणा गरियो । यस्तो अवस्थामा पनि गोर र सम्पूर्ण अमेरिकी जनताले उक्त गोल्डन रूलको सम्मान गरेकै थिए ।

पछिल्लो चुनाव ट्रम्पले जितेपछि कतिपय राज्यमा अल्पसंख्यक र डेमोक्रेटिक समर्थकले जुलुस निकालेका थिए । त्यसलाई सर्वेक्षण र अनुमानविपरीत नतिजा आएकाले देखिएको तत्कालको आक्रोश मान्न सकिन्छ । बाँकी विश्वलाई त्यसले खासै फरक पर्ने छैन । ट्रम्पको जितपछि नेपालमा समेत विभिन्न चर्चा र चासो शुरु भएको छ । कतिपयले अवैध रूपमा बसेका नेपालीले स्वदेश फर्कनुपर्नेमा चिन्ता देखाएका छन् भने केहीले अब डिभी चिा खारेज हुने आशंका प्रकट गरेका छन् ।

७० वर्षको बूढोले ५० राज्य घुमेर १८ महिनासम्म चुनावी प्रचारमा त्यसरी खट्न सक्छ भने हाम्रो यति सानो देशमा नेतालाई एकचोटि जिल्ला जान निर्वाचन कुर्नुपर्ने दुखद् स्थिति छ । व्यापार, व्यवसाय गरेर, कर तिरेर धन कमाएकालाई अमेरिकी जनताले सहजै स्विकारेको देखिन्छ भने पति बिल क्लिन्टनले दुई पटक राष्ट्रपति भएर कमाएको र शानको जिन्दगी जिएको आरोप हिलारीमाथि लागेको बिबिसीजस्ता मिडियाले जनाएका छन् ।

कहिल्यै सार्वजनिक र निर्वाचित पदमा नबसी एकैपटक अमेरिकाको राष्ट्रपति हुन सफल ट्रम्पको आगमनले विश्व र नेपाली राजनीतिलाई समेत थुप्रै शिक्षा र उदाहरण दिएको छ । नेपालमा राजनीतिक नेताले उद्योगधन्दा चलाउनु हुन्न भन्ने दरिद्र सोच पाइन्छ तर भित्री रूपमा तिनै नेताको जीवनस्तर सुविधासम्पन्न छ तर ट्रम्पले खुला रूपमा व्यापारबाट १० अर्ब डलर कमाएको भन्ने गरेका छन् । उनको दर्जनौं व्यापार व्यवसायमा लगानी छ, त्यसैले उद्योग, व्यापार र पेशा गरी वैधानिक तरिकाले कमाएर समाज सेवा र राजनीतिमा लाग्न सकिन्छ भन्ने राम्रो उदाहरण यसले दिएको छ ।

वास्तवमा यस्तो उद्योगी सोचले नेपाल नयाँ र विकसित बन्न सक्छ, बेतुकको नाराबाजीमा पोख्त बनाएर युवाको भविष्य बिगार्ने मात्र कार्य गर्नुहुन्न भन्ने अमेरिकी निर्वाचनको अर्काे सन्देश हो । चुनावमा जे–जस्ता चर्का भाषण गरे पनि ट्रम्प विजयी भए नेपाललाई त्यस्तो धेरै फरक नपर्ला भनेर अनुमान गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस !