माओवादी छाडेका प्यारा,आफ्नाचाँहि अप्ठ्यारा

माओवादी छाडेका प्यारा,आफ्नाचाँहि अप्ठ्यारा

बुधबार बालुवाटारमा बसेको एमालेको १०औं महाधिवेशन आयोजक समिति बैठकलाई पुरानो केन्द्रीय समितिमा रुपान्तरण गर्नुअघि अचम्मको निर्णय गरिएको छ । २०७५ जेठ २ पछि नेकपा हुँदै एमालेमा प्रवेश गरेका पूर्वमाओवादी नेताहरुलाई सोझै स्थायी समिति सदस्य बनाइएको छ । भाग मिलाउन एमालेकै अर्को पक्षका दुई जना नेतालाई पनि बढुवा गरिएको बताइएको छ ।

त्यसैले बुधबारको निर्णयको चिरफार गर्नुपर्ने आवश्यकता नै देखिएन भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल निकट एक जना नेताले भन्नुभएको छ, ‘प्रधानमन्त्री तथा एमाले अध्यक्षले मुखले २०७५ जेठ २ मा फर्किने कुरो गरे पनि व्यवहारमा गत फागुन २८ सम्म मात्र फर्कनुभएको हो ।’

जसरी भएपनि पूर्वमाओवादी रामबहादुर थापा बादल,टोपबहादुर रायमाझी,लेखराज भट्ट र मणि थापालाई स्थायी समितिमा र अन्य २३ जनालाई केन्द्रीय समितिमा मनोननयन गर्नैपर्ने रोडम्यापमा उक्त निर्णय गरिएको छ । उहाँ भन्नुहुन्छ, ‘बरु एमाले छिन्नभिन्न होओस्, पूर्वमाओवादीहरु २३ जना भए पुग्छ भन्ने ढंगले अध्यक्ष अघि बढ्नुभएको देखिन्छ ।’

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले नेकपा अस्तित्वमा रहँदाको केन्द्रीय समितिमा रहेकालाई केन्द्रीय समितिमा र स्थायी समितिमा रहेकालाई स्थायी समितिमा राख्ने सिद्धान्तमा त्यसो गरिएको बालुवाटार निकटस्थहरुको भनाई छ ।

प्रधानमन्त्री ओलीले जे कुरो अघि सार्दै आउनुभएको छ, त्यसैलाई अनुकूल हुने गरी निर्णय भएको देखिन्छ । बुधबारको महाधिवेशन आयोजक समिति भंग हुनुअघिको निर्णय पनि त्यहि श्रृंखलाको पछिल्लो रुप मात्र रहेको बताइन्छ ।

दुई तिहाई बहुमत नजिकको शक्तिशाली सरकारका प्रधानमन्त्री अहिले ९३ जना सांसद र ५ जना मन्त्रीमा सीमित हुनुभएको छ । दलभित्रको हालत त्यस्तै छ । यी सबै गतिविधि र चाहनालाई हेर्दा उहाँमा माओवादी छाडेर आएका जति प्यारा र आफ्ना पुराना कमरेड जति सबै अप्ठ्यारा लाग्दै गएको स्वतः अनुमान गर्न सकिन्छ ।

टिप्पणीहरू