धादिङमा जताततै बाढीपहिरोको उच्चजोखिम, पूर्वतयारी शुन्य

धादिङमा जताततै बाढीपहिरोको उच्चजोखिम, पूर्वतयारी शुन्य

-शंकर श्रेष्ठ

केही दिनदेखिको वर्षातले धादिङमा बाढी पहिरोको जोखिम उच्च बनेको छ । जिल्लाका अधिकांश नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ । सडक माथिबाट झरेको पहिरो र लेदो माटोले पृथ्वीराजमार्ग अवरुद्ध हुने र खुलाउने क्रम जारी छ ।

बाढी आएको बेला बेनिघाट रोराङ–५, बिशालटर नजिकै नदी किनारमा माछा मार्दै गर्दा २० वर्षका लक्ष्मण बिसुराल बेपत्ता भएका छन् । बिहीबार बिहान त्रिशुली नदीको बाढीले गजुरी गाउँपालिका–५, घाटबेसी नजिकै निर्माणाधीन मोटरेबल पुलमुनी रोकिराखेको स्काभेटर बगाएको छ ।

मलेखु खोलाको बाढीले महादेवस्थानको एक होटल पनि बगाएको छ । अर्काे दुई वटा होटलमा क्षति पुगेको छ । आसपासका खेती नष्ट भएको छ भने निर्माणाधीन ह्वासिन सिमेन्ट कम्पनीमा पनि क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

ज्वालामुखी गाउँपालिका–६, पोखरेपानीका जुना राना मगरको गोठ पहिरोले बगाएको छ । गोठमा बाँधिराखेको भैंसी, बाख्रा, कुखुरा सबै मरेको स्थानीयले बताएका छन् ।बेनिघाट रोराङको मलेखुखोला, गल्छीको महेशखोला, थाक्रेको आग्राखोला, धादिङबेसीको थोपलामा आएको बाढी बढ्ने क्रममा छ । खनियाबासको आँशीखोला, नेत्रावतीको किन्ताङखोला, लपाङखोला, त्रिपुरासुन्दरीको माङपाङ र कास्टे लगायतका खोलाहरूमा पनि बाढी आएको छ ।

खोला आसपासका बासिन्दाहरूलाई सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । वर्षा नरोकिएको र खोलाहरूमा बाढी आउने क्रम बढेकोले खोला आसपासका स्थानीयलाई सुरक्षित र सचेत रहन प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले आग्रह गरेका छन् ।

धादिङमा १५ सयभन्दा बढी खोला, खोल्साहरू छन् । त्रिशुली नदी, आँखुखोला, थोपलखोला, महेशखोला, कोशी खोला आसपासका क्षेत्र बाढीको जोखिममा रहेका छन् । उत्तरी धादिङको लापा, तिप्लिङ, सेर्तुङ, बसेरी, झार्लाङ, कटुञ्जे, गुम्दी र दक्षिणमा जोगिमारा क्षेत्र उच्च जोखिममा देखिन्छन् ।बाढी पहिरो, नदीको कटान जस्ता विपद्बाट गाउँबस्ती, बालीनाली र मानव स्वास्थ्यमा पु¥याउन सक्ने जोखिम न्यूनीकरणको लागि सरोकारवाला निकाय मौन बसेका छन् ।

विपद् आइपरेको खण्डमा राहत तथा उद्धार कार्यका लागि जिल्लास्थित सम्पूर्ण सुरक्षा निकाय, जिल्ला दैवी प्रकोप उद्धार समितिका सदस्य निकायहरूको अधिकतम रुपमा परिचालन गरी राहत तथा उद्धार कार्य छिटो र विश्वसनीय बनाउन ‘मनसुन पूर्वतयारी कार्ययोजना २०७४’ बनाइएको भए पनि अहिले त्यसप्रति कसैको चासो देखिँदैन ।

मध्यबर्खा लागिसक्दा समेत जिल्लाका बाढी र पहिरोबाट जोखिम स्थान पहिचान गर्न सकेको छैन । सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षाका निकाय, गैरसरकारी संस्था, रेडक्रस, स्वास्थ्यलगायत सरोकारवालासहितको समिति बनाएर तथ्याङ्क संकलन कार्य भइरहेको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिनुभएको छ । तर, जोखिमयुक्त क्षेत्रको अवस्था र विपद् आइहाले उद्धार सामाग्रीको अवस्थाको निम्ति कुनै तयारी गरिएको छैन ।

यी हुन् धादिङका बाढी पहिरो जोखिम क्षेत्र

पहिरो

धादिङमा झार्लाङ, लापा, रि, गुम्दी, तिप्लिङ, दार्खा, बसेरी पहिरोबाट अति जोखिममा रहेका साविकका गाउँपालिकाहरू हुन् । त्यस्तै निलकण्ठ नगरपालिका, सेर्तुङ, सत्यदेवी, फूलखर्क, सल्यानकोट, सेम्जोङ, कटुञ्जे, चैनपुर, जोगीमारा आदि पहिरोको कारणले उच्च जोखिममा रहेका स्थानहरू मानिन्छन् ।

बुढाथुम, आगिन्चोक, सल्यानटार, मार्पाक, कुम्पुर, किराञ्चोक, महादेवस्थान, बेनीघाट, धुषा भने मध्यम जोखिममा रहेका क्षेत्रहरू मानिन्छन् ।

त्यसैगरी मूलपानी, त्रिपुरेश्वर, धुवाँकोट, खरी, ढोला, ज्यामरुङ, खाल्टे, कल्लेरी, गोगनपानी, केवलपुर, मैदी, सलाङ, नलाङ, जीवनपुर, छत्रेदेउराली, नौबिसे, थाक्रे, तसर्पु, भुमेस्थान, बैरेनी, पिडा, गजुरी भने पहिरोको कारण न्यून जोखिममा रहेका क्षेत्रहरू मानिन्छन् ।

बाढी

बढीको हिसाबले धादिङको त्रिपुरेश्वर उच्च जोखिममा रहेका क्षेत्रमध्ये एक हो । नीलकण्ठ न.पा., बुढाथुम, सल्यानकोट, आगिन्चोक मध्यम जोखिममा रहेका क्षेत्र पर्दछन् । लापा, रि गाउँ, गुम्दी, तिप्लिङ, सेर्तुङ, झार्लाङ, दार्खा, सत्यदेवी, फूलखर्क, बसेरी, मूलपानी, सल्यानटार, मार्पाक, सेम्जोङ, धुँवाकोट, कटुञ्जे, चैनपुर, खरी, ढोला, ज्यामरुङ, खाल्टे, कल्लेरी, गोगनपानी, केवलपुर, मैदी, कुम्पुर, सलाङ, नलाङ, जीवनपुर, छत्रेदेउराली, नौबिसे, थाक्रे, तसर्पु, भुमेस्थान, बैरेनी, पिडा, किराञ्चोक, गजुरी, महादेवस्थान, बेनीघाट, धुषा, जोगीमारा बाढीका कारण न्यून जोखिम क्षेत्रका रुपमा चिनिन्छन् ।

टिप्पणीहरू