टंगालभित्र अर्कै टन्टा

‘मर्ता क्या नहीँ कर्ता ?’ यही हिन्दी कहावतजस्तो स्थिति छ, लोकमानको । कुनै आश्चर्य भएर संसदले छाडिहाले पनि अदालतले बाँकी नराख्ने भएपछि आफ्ना पक्षमा बोलिदिने दुई–चार सांसद भए पनि भेट्ने काममा अहिले उनी व्यस्त छन् ।

अर्थका विवादास्पद अधिकृत नारायण अधिकारी अहिले निलम्बित अवस्थामा रहेका लोकमानको स्वकीय सचिवकै भूमिकामा छन् । र, उनैले सिन्धुपाल्चोकका सांसद मोहन बस्नेतलाई गत शुक्रबार भेटाए । त्यसको पर्सिपल्ट बस्नेतले संसदमा लोकमानको पक्षमा बोले । अर्का विवादास्पद पिए गोबद्र्धन श्रेष्ठ र अधिकारी मिलेर अहिले त्यस्ता सांसद बटुल्दै लोकमानलाई भेटाइरहेका छन् । कांग्रेसभित्र आफ्नो पक्षमा ८–९ जना हुनसक्ने अनुमान गरेकोमा अहिलेसम्म एकजना मात्र फेला परेका छन् ।

एमाले र माओवादीभित्र पक्षका सांसद खोज्न ‘दुःख’ नगर्ने भएका छन् । त्यसैले यी दुई पिए हिजोआज भटाभट मधेसी दलका नेतालाई फोन घुमाउन व्यस्त छन् । त्यसमध्ये महन्थ ठाकुर र हृदयेश त्रिपाठीसँग कुरा गरिसकेका छन् । उनीहरु आफैँ सांसद छैनन् । तर, आफ्ना सांसदलाई पक्षमा बोल्न लगाउने बचन दिएका छन् । लक्ष्मणलाल कर्ण र राजेन्द्र महतोलाई पटक–पटक फोन गरिए पनि उनीहरुले भेट्न वा कुरा गर्न चाहेका छैनन् । सर्वेन्द्रनाथ शुक्ला अमेरिकामा छन् । महाभियोग अघि आएमा भेट्ने र सहयोग गर्ने बचन दिएको बताइन्छ ।
उता, अख्तियारभित्र प्रहरीको अनुहार, बोलि र शैलीमा एकाएक परिवर्तन आएको छ ।

हेडक्वार्टरले डिआइजी देवेन्द्र सुवेदीलाई अख्तियारमा पठाएपछि लोकमानको इशारामा प्रहरीका हाकिमलाई नै नटेर्नेहरु त्यहाँबाट भाग्ने उपाय खोजिरहेका छन् । लोकमानले भनेको भन्दै आफ्ना स्वार्थ पूरा नरिदिने म्यानपावर कम्पनीमा रुवाबासी चलाउँदै आएका इन्स्पेक्टर शिव बस्नेत विभिन्न भनसुनमार्फत डिआइजनी सुवेदीको नजिक हुन खोजेका छन् । उनी अख्तियार बसेर थुप्रै पैसा कमाउनेमा दानबहादुरपछिका इन्स्पेक्टर हुन् ।

लोकमान ओरालो लागेपछि मुद्दा मिलाइदिने नाममा उनका आसेपासेले उठाएका रकम फिर्ता पाइन्छ कि भनेर पीडितहरु ताकेता गर्न थालेका छन् । रमाइलो के रहेछ भने, रामहरि अर्याल वीरगञ्ज भन्सारमा हुँदा अर्थमा रहेका नारायण अधिकारीले उनैसँग पैसा लिन भ्याएका थिए । जागिर सकिएर लोकमानले रामहरिलाई विज्ञ नियुक्त गरेपछि नारायणसँगको खटपटमा लामो समय रामहरि जिम्मेवारीविहीन भए । गोबद्र्धनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी सुवास निरौलासँग मुद्दा मिलाइदिने नाममा लिएको पैसा फिर्ता गराउने उपायमा निरौला लागेका छन् । उनले एक करोड खाएको आरोप छ ।

टिप्पणीहरू