मदिरा सेवनपछि महिलालाई अभद्र व्यवहार गर्ने वडाअध्यक्ष पक्राउ

मदिरा सेवनपछि महिलालाई अभद्र व्यवहार गर्ने वडाअध्यक्ष पक्राउ

मदिरा सेवन गरि महिलालाई अभद्र व्यवहार गरेपछि अछाममा एक जना वडा अध्यक्ष प्रहरी नियन्त्रणमा पुगेका छन् ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ८ का अध्यक्ष ताराप्रसाद खनाललाई प्रहरीले नियन्त्रणमा लिएको हो । बुधवार राति नगरपालिकाको केन्द्र रहेको विनायक बजारस्थित एक होटेलमा अध्यक्ष खनालले मदिरा सेवन गरि होटेलका सञ्चालकमाथि हातपात गर्नुका साथै महिलामाथि अभद्र व्यवहार गरेका थिए ।

पिडीतहरुले उजुरी गरेपछि प्रहरीले उनलाई बुधवार राति नै नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्याएको थियो । मदीराले लठ्ठ बनेका उनले प्रहरीलाई समेत हातपातको प्रयत्न गरेको बताइन्छ । मदिरा सेवनपछि मात्तिने स्वभावका खनालको पछिल्लो हर्कतले जनप्रतिनिधिको बेइज्जत भएको मेयर निकट स्रोतले जानकारी दिएको छ ।

नेपाली काँग्रेसको नेतासमेत रहेका मेयरले खनालले मदिरा सेवन गरेपछि भएको विवाद मिलाउन प्रयत्न भइरहेको जानकारी दिएका छन् ।

जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बोहराका अनुसार वडा अध्यक्ष खनालले मदिरा सेवन गरि अभद्र व्यवहार गरेको गुनासोका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको बताउनुभयो ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको भन्दै सूचना अधिकारी तथा प्रहरी निरीक्षक बोहराले कानुनअनुसारको कारबाही हुने जानकारी दिनुभयो ।

प्रहरी नियन्त्रणमा रहेका वडा अध्यक्ष ताराप्रसाद खनाल नेपाली काँग्रेसका तर्फबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । खनाल पञ्चदेवल नगरपालिकाको प्रभावशाली वडा अध्यक्षका रुपमा चिनिन्छन् ।

टिप्पणीहरू