जयन्त नै बन्ने हुन् त कमरेड प्रचण्ड ? « Jana Aastha News Online
Logo
१५ मंसिर २०७८, बुधबार
|  Wed Dec 1 2021

जयन्त नै बन्ने हुन् त कमरेड प्रचण्ड ?

प्रकाशित मिति :  ३ मंसिर २०७३, शुक्रबार ०८:१०


  • नारायण नेपाल

गोर्खाका राजा नरभूपाल शाहले जयन्त रानाको नेतृत्वमा नुवाकोट त्रिशूली पूर्वको राज्यमा आक्रमण गर्न आफ्नो फौज पठाएका थिए । गोर्खाली सेना पराजित भयो र जयन्त रानालगायत नुवाकोटमा समातिए । पछि, नुवाकोट राज्यमा काठमाडौंले जयन्त राना प्रमुख बनाएको थियो ।
गोर्खाली फौजले बेल्कोटमाथि आक्रमण गर्दा जयन्त पक्राउ परे र उनलाई धोकाधडी र गद्धारीको आरोपमा छाला काढेर नुनचुक लगाउँदै गोर्खाली फौजले मारेका थिए । यस्तै, काठमाडौं जित्न आएको माओवादी आन्दोलनका नायक नै आज खलनायक भएका छन् । माओवादीका सुप्रिमो प्रचण्डलाई विप्लवले सिंहदरबारमा पत्र पठाएर खाद्य सम्प्रभुता, जनजिविका र राष्ट्रियताको पक्षमा आफ्नो माग सुनाएका थिए ।
प्रहरी दमन र चिलले चल्ला टिपेझैं विप्लवका कार्यकर्ता टिप्ने प्रचण्डका सरकारी प्रहरीको रबैया माओवादीमाथिको अतिवादी आरोप, २५ बुँदे राष्ट्रघाती सहमति र मुखर्जीमाथिको लम्पसारवादले विदेशीको नुनपानी खाएकै तथ्य प्रमाणित भएको छ । लेनिनले भन्नुभएझंै इतिहासको पुनरावृत दुई पटक हुन्छ एकपटक मजाक र अर्को दुःखान्त । के त्यस्तै हुन खोजेको होला त हाम्रो नेपालमा ? आज देशमा विदेशीसामु लम्पसारवादी बन्नेहरूको चर्तिकला हेरिनसक्नुको छ ।
आजको नेपाल कायरहरूको नेतृत्वमा छ । जसले हामीलाई नयाँ लेन्डुपहरूको जन्म दिन्छ । तेस्रो पार्टीले देश हाँक्दै गरेकाले महान् नायक भएको धाक लगाउँदै छन् । हनुमानहरू सत्ताको कुर्सीका लागि विदेशीको गोडा मोल्छन् दलाली र चाकरी गर्छन् अनि उनैको ठूलो कुरा हुन्छ । हामीले विगतमा तेस्रो समूहबाट सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दको सरकार देखेकै हो, प्रचण्ड सरकारझैं ३ नम्बरको पार्टीको । भैंसी पुज्छन् एक÷एक भोटका लागि ‘बोल बम’को फेटा बाँध्छन् । आशीर्वाद थाप्न रामदेवको टीका लाउँछन् उसैको विज्ञापन गर्छन्, पैसा उठाउन द्यौसी–भैलो मात्र होइन, औंशी–पूर्णिमामा समेत आफन्त बोलाएर भोज चलाउँछन् । दसैं–तिहार बहिष्कार गरेर ‘भौतिकवादी नैतिकता’को पालना गर्छन् । छोराछोरीको बर्थ–डे र जनवादी विवाहको विवाह वर्षगाँठ मनाउन हजारांैको भोजभतेर गर्छन् । क्या काइदा छ, कामरेडहरूको ।
केही समययता केही मिडियाले यस्तो प्रचार गर्दै थिए कि प्रचण्ड नेतृत्व सरकारले आधारभूत वर्गलाई हित पुग्ने गरी काम गरिरहेको छ । अनि यस्तो महान् कामको विरोध गर्ने जति सबै उग्रवादी र अतिवादी हुने सडकमा विरोध गर्न निस्कनेबित्तिकै चिलले कुखुरा टिपेझंै टिपेर खोरमा हाल्ने किन ? महँगी घटाऊ, देश नबेच जनताको समस्या समाधान गर भनेर क्रान्तिकारी सडकमा आउन नपाइने अनि संसद्ले महाअभियोग लगाएका भ्रष्ट प्रतिगामी मतियार लोकमानलाई बचाउन जुलुस लगाउन पाइने क्या गजबको लोकतन्त्र छ देशमा । कम्युनिस्ट बिग्रिएपछि गुन्द्रकझंै हुने होइन कुहिन थालेपछि निकै नमज्जाले कुहिने पो रहेछन् । लाज भए मुख छोपेर हिँडे हुन्छ नि किन कोकोहोलो गर्नु †
माओवादी लडाकुको नाममा क–कसले के–के लतारे समयले हिसाब देखाउला । अयोग्य र अपमान र आत्मग्लानिले अरबका खाडीदेखि गाउँघरसम्म पीडा र आत्महत्यासमेत गरेको कथा हाम्रा युवाको व्यथा हो । हाम्रा नेपाली युवा छापामार लडाकु, होइन पूर्वलडाकु त झनै होइन, लडाका होइन र कदापि हुने छैनन् । उनीहरू त लालसेना हुन्, उनीहरू त जनमुक्ति सेना हुन् । कोही समायोजन त कोही अवकाशमा पैसाको बिटा बोकेर आएका छन् । अनि बिचरा ती चार हजारलाई मात्र किन सौतेनी व्यवहार गरियो र दुई लाखको रोइलो गाउँदै पेरिसडाँडा र रिपोर्टर्स क्लबमा अलाप–विलाप गर्दै छन् आज कुरा गम्भीर थियो हिजो नै † छातीमा तातो रगत उमालेका नयाँ सपना र अदम्य साहस भएको हाम्रो प्यारो–प्यारो जनमुक्तिसेना हुन् उनीहरू । किन अपमान छ, आज पूर्वलडाकु भन्दै । हिजो हातमा बन्दुक बोकेर जीवन हत्केलामा राखेर लड्नेलाई कसले किन नांगै र भोकै बनायो अनि आज पेरिसडाँडामा कसले किन परेड खेलायो ? जनतालाई थाहा छ । समय आएपछि हिसाब–किताब हुन्छ । तर, सर्बहारावर्गको गुरु कार्ल माक्र्स लेनिन र माओको प्रतिमा साक्षी राखेर जनसेनाका निशस्त्र छापामार ठटाउन पुलिस लगाउने किन ? वार्ता र छलफलमा विश्वास छैन । कोही कार्यकर्ता अधिकार र गाँस, बास माग्ने मगन्ते र अर्काथरी नेता दिने दाता र मालिक हुने संस्कार कसरी विकास भयो ? नेपाली क्रान्तिकारी माओवादी आन्दोलनमा यसको जरो खोतल्न जरुरी छ । त्यही भएर होला लेनिनले भन्नुभएको आधा सकिएको क्रान्ति खतरनाक हुन्छ ।
अब केही समय प्रतीक्षा नै गरेर बसे हुन्छ दलालले, तिनीहरू फेरि मार्चपास गर्दै आउनेछन् नयाँ छापामारको सान र माओवादी पहिचानमा हुनेछन् । उनीहरू आउनेछन् नेपालमा एकपटक अन्तिम युद्धमा लड्न आउनेछन् ।
आज–भोलि प्रहरीले दैनिकजसो माओवादी कार्यकर्ता समाउँदै छाड्दै गरिरहेको छ । विगतदेखि यो छाम्ने र तौलने प्रक्रियाको सरकारी तरिकामा छ । म यो सरकारी दमनलाई हार्दिक स्वागत गर्दछु । किनकि हामीलाई थाहा छ । नेपाली जनताले बुझेका छन् । हामीले नलडी, अलिकति रगत–पसिना नबगाई, गिरफ्तार नभई जेल नगई सहजै फेसबुक र सामाजिक सञ्जालमा लेखेर मात्र सजिलो तरिकाले यो शासन सत्ता ढल्दैन । कतिपयलाई ढल्छजस्तो पनि लाग्ला । यो त केवल क्रान्तिकारी रोमान्स मात्र हो । सधँै चियापसलका गफ र तक्मे बूढाको नाइन्टिन फोन्टिनको कथा हालेर बैठक बस्दैमा नाचघरमा नर्तकी नाटक अब चल्दैन । देश र जनताप्रति संवेदनशील हुने चुनौती सामना गर्ने बेला भइसकेको छ । हिजो महेन्द्र पुलिस क्लबमा पुलिसले लगेको कृष्ण सेन आजसम्म घर आएनन् । दण्डपाणि न्यौपाने, पूर्ण पौडेल बिपिन भण्डारी र मैना सुनारहरू पनि आएनन् । आजभोलि माओवादी नेता गिरफ्तार हुँदा सेल्फी खिचेर बस्छन् । हातमा मोबाइल खेलाएर बस्छन् । मुहारमा न गम्भीरता छ न त क्रान्तिप्रतिको वीरताभाव नै झल्किन्छ । ससुराली गएको ज्वाइँसा’बजस्तो । माओले भन्नुभएको थियो, ‘वर्ग संघर्ष चियापानको खेल होइन ।’
नेपालको इतिहासमा पृथ्वीनारायण शाहको एकीकरणले जमिन हडप्ने र राजाको भाइ छोराहरूलाई राज्य बाँड्ने नाममा टुक्र्याउने प्रथाको अन्त्य भयो । भूगोलको एकीकरण भयो । त्यसपछि नेकपा(माओवादी)को नेतृत्वमा सञ्चालित जनयुद्धले मात्र देशमा उतिठूलो उथलपुथल ल्यायो । आज नेपाली माओवादी जनयुद्धको आर्दशमाथि विद्रुपीकरण भएको छ । जित्ने सत्य ठहरिने र उसैको स्तुति गाइने संस्कार बोकेको नेपाली समाजमा माओवादीको पराजित नेताहरूले जनयुद्धको आदर्श रक्षाका लागि प्रतिवाद गर्ने ल्याकत राख्दैनन् । उनीहरू अरूलाई वैकल्पिक नेता मान्न पनि तयार छैनन् । नेपाली जनयुद्ध प्रत्याक्रमणको तेस्रो तथा अन्तिम चरणमा केन्द्रीय राज्य सत्तामाथि निर्णायक हमला गर्ने र विजय हुने चरणमा आएर पराजित भएको छ । पराजित माओवादीको नेता प्रचण्ड प्रतिक्रियावादी सरकारको नेतृत्वमा खडा गरिएका छन् । सडकबाट उठ्न खोजेको माओवादीलाई उनीसहित लागेर घेरा हाल्न खोजिँदै छ । यो घटनाक्रमले नेपाल एकीकरणकालीन इतिहास पुनरावृत्ति हुने सम्भावना छ । प्रचण्डको नियति तिनै जयन्तको जस्तो नहोला भन्न सकिन्न ।


प्रतिक्रिया दिनुहोस !