चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी, बेइजिङमा भव्य समारोहको आयोजना

चिनियाँ कम्युनिष्ट पार्टीको शतवार्षिकी, बेइजिङमा भव्य समारोहको आयोजना

सत्ताधारी चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्षको उपलक्ष्यमा बेइजिङगको तियानमेन स्क्वायरमा आयोजित भव्य समारोहलाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले वाह्य शक्तिलाई आफूमाथि दमन गर्ने छुट कदापी नदिने बताउनुभएको छ ।

पश्चिमा राष्ट्रप्रति लक्षित भाषणमा राष्ट्रपति सीले कसैले त्यस्तो गर्ने दुस्साहस गरेमा १ अर्ब ४० करोड चिनियाँ जनताको रगत र शरीरबाट बनाइएको पर्खाल सामुन्ने त्यस्तो कुत्सित विचार विफल हुनेमा कुनै शंका नरहेको उल्लेख गर्नुभएको छ ।त्यसैगरी उहाँले ताइवान समस्याको समाधान गरी मातृभूमिको सम्पूर्ण एकीकरणलाई व्यवहारमा उतार्न चिनियाँ कम्युनिष्ट पार्टीले हरसम्भवका प्रयासहरू गरिरहेको भन्दै राष्ट्रिय सार्वभौमिकता र भूभागको अविच्छिन्नतामा चिनियाँ नागरिकको दृढ अठोट, इच्छा र क्षमताप्रति कसैले वेवास्ता गरे उसैमाथि त्यसको भार पर्ने सांकेतिक चेतावनी समेत दिनुभएको छ ।

विशेषगरी अमेरिकाले पछिल्लो समयमा ताइवानलाई हतियार बिक्री गर्दै चीनबाट अलग गर्ने नीति अंगाल्दै आएको छ । चिनियाँ राष्ट्रपति सीले ताइवानको निहुँमा चीनमाथि नखेल्न पनि पश्चिमा राष्ट्रहरूलाई सभ्य भाषामा आग्रह र चेतावनी दिँदै आउनुभएको छ ।९ करोड २० लाख सदस्य रहेको चिनियाँ कम्युनिष्ट पार्टी पछिल्लो ७२ वर्षदेखि चीनमा अटल र स्थिर रुपमा सत्तारुढ दल रहिआएको छ । विश्व कोरोना महामारीमा फसिरहेको समयमा चीनले भने तत्काल महामारी नियन्त्रण गर्दै पूर्वघोषित योजनाबमोजिम ९ करोड ८९ लाख ९० हजार ग्रामीण गरिबीलाई पूर्णरूपमा विपन्नताबाट मुक्त गरेको छ ।

पछिल्लो समय पश्चिमा मुलुकका विभिन्न खुफिया एजेन्सीहरूले गरेको अनुसन्धानमा समेत चिनियाँ कम्युनिष्ट पार्टीको लोकप्रियतादर ९५ प्रतिशत पुगेको छ । वर्तमान विश्वमा कुनै पनि मुलुकमा सत्तारुढ दलको लोकप्रियता ६५ प्रतिशतभन्दा माथि छैन । चीनमा भने महामारी नियन्त्रणपछि सत्तारुढ दलको लोकप्रियतामा झन् वृद्धि भएको छ ।चिनियाँ कम्युनिष्ट पार्टी विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल समेत हो । उसैको नेतृत्वमा चीन विश्वमा दोस्रो ठूलो अर्थतन्त्रको मुलुक बनिसकेको छ ।

कम्युनिष्ट पार्टीको शतवार्षिकी मनाउन राजधानी बेइजिङलगायत मुलुकका सबै ठूला साना सहर केन्द्र रङ्गीचङ्गी फूलले दुई साता अघिदेखि दुलहीझैँ सिँगारिएको छ । चोकचोकमा चिनियाँ कम्युनिष्ट पार्टीको एक सय वर्षको गौरवपूर्ण यात्रा देखाउने आकर्षक आकृतिहरू बनाइएका छन् ।

टिप्पणीहरू