पति–पत्नीहरू, यसरी गति नछाड

पुरुषले गर्दा धेरै महिलाको जीवन बर्बाद भएको होला । अनि धेरै महिलाका कारण कैयौं पुरुष पीडित पनि बनेका होलान् । वैदेशिक रोजगारले धेरैलाई सम्पन्न बनाएको होला र थुप्रैलाई कष्ट पनि थपेको होला । कसैले पति र परिवार गुमाएका होलान् अनि कतिले पत्नी र परिवार । तर, मोरङ विराटचोकका एक अनाथ युवाले चाहिँ पत्नीले गर्दा वैदेशिक रोजगारबाट कमाएको लाखांै रकम मात्र होइन, छोरासमेत गुमाएका छन् । पत्नी भूमिका कार्कीले सम्पत्ति स्वाहा पारेर अर्कैसँग बिहे मात्र गरिनन्, छोराको थरसमेत बदलिदिएकी छन् अर्कैको बच्चा हो भन्दै ।

यो दर्दनाक कहानी हो, ३८ वर्षीय बिन्दोदास पौडेलको । आफन्त कोही नभएका उनलाई विराटचोकस्थित प्रणामीले फेला पारे । अनि त्यहीँको मन्दिरमा शरण दिए । बिन्दोदासले त्यहीँबाट स्कुल र क्याम्पस पढे । त्यसक्रममा मोरङ पथरीकी भूमिका कार्कीसँग हिमचिम बढ्यो । उनीहरूले २३ असार ०६३ मा प्रेम विवाह गरे । विवाहपछि बिन्दोदास सपरिवार डेरा लिएर विराटचोकमा बस्न थाले ।

यस्तैमा बिन्दोदासले एक छोरा सृजनको  जन्मपछि कमाउन अष्ट्रेलिया जाने मौका पाए । पत्नी भूमिकालाई भरपर्दो डेरा मिलाएर १ मंसिर ०६७ मा वैदेशिक रोजगारीका लागि अष्ट्रेलिया गए । त्यहाँ अथक मिहिनेत गरेर पटक–पटक २० लाख बढी रकम पठाए । तर, यता भूमिकाले चाहिँ मोरङ शनिश्चरे–८ की  प्रमिला पुडासैनीका पति गोविन्दसँग लागेर पैसा उडाउँदै गइन् । गोविन्दसँग बिन्दोदासको सम्पत्ति लुट्टिपट्टी पारेर स्कुल पढ्दै गरेको बालक छोरा सँगै लगी पुनः प्रेमविवाह गरिन् । यता, बिन्दोदासले पठाएको पैसाले मस्ती गर्दै उनीहरू काठमाडौंमा बस्न थाले । उता, बिन्दोदास पीडित बने अर्कोतिर गोविन्दकी पत्नी प्रमिलाले पनि दुःख पाइन् ।

गोविन्दसँग विवाह गरिसकेपछि पनि भूमिकाले पतिलाई सताउन छाडिनन् । ०७१ देखि निरन्तर अंशचलन,  दृष्टिबन्धक बदर, जालसाँज, सम्बन्धविच्छेद र लिखित गाली–बेइज्जती मुद्दा दर्ता गराइन् । एकातिर सम्पत्ति र छोरा गुमाउनुको पीडा अर्कोतिर किर्ते मुद्दा दर्ता, बिन्दोदास इन्तु न चिन्तु बने । तर, हिम्मत हारेनन् । र, खोजीनीतिमा लागे । पत्ता लाग्यो– पत्नी भूमिकाले सम्बन्धविच्छेद गराउनुअगावै गोविन्दसँग पति÷पत्नीको नाता कायम गराइसकेकी रहिछन् ।

१६ पुस ०७० मा काठमाडौं जिल्ला अदालतमा न्यायाधीश योगेन्द्रप्रसाद साहको इजलासबाट मोरङ पथरी शनिश्चरे–१ बस्ने गोपीबहादुरको छोरा गोविन्द पुडासैनी र नरबहादुर पाण्डेकी छोरी पथरी २ बस्ने शर्मिला उर्फ भूमिका पाण्डेले पति÷पत्नीको नाता कायम गराएका रहेछन् । तर, भूमिकाले यता मोरङ अदालतमा चाहिँ ०७१ मा मात्र बिन्दोदाससँग सम्बन्धविच्छेद मुद्दा दर्ता गराएकी छन् । उनको मुद्दा दर्ता संख्या १११० छ । अचम्मको कुराचाहिँ के भने, दोस्रो पति गोविन्द पुडासैनीको भनेर काठमाडौंको सीतापाइलास्थित रेसिडेन्ट पब्लिक बोर्डिङ स्कुलमा नाम लेखाएको छोरा सृजनको जन्मचाहिँ १ साउन ०६७ मा भएको हो । जुन कुरा विराटचोकस्थित द राइजिङ इंग्लिस बोर्डिङ स्कुल र सीतापाइलास्थित रेडिन स्कुलको  कागजातबाट पुष्टि हुन्छ ।

विराटचोकमा जन्मिएको छोरा सृजन पौडेल १५ वैशाख ०६९ मा विराटचोकस्थित स्कुलमा भर्ना भएका थिए । अर्थात् भूमिका र गोविन्दले विवाह गर्नुभन्दा ३ वर्षपहिले नै छोरा पाइसकेका रहेछन् ।

नेपालमा महिलाको बयानलाई नै प्रमाण मान्ने कडा कानुन छ । यसैले पुरुषले विवाह गरे तत्काल बहुविवाह मुद्दा दर्ता हुन्छ । तर, महिलाले गरे पुरुषले पीडित बनेर मुद्दा दर्ता गराउन पाउँदैन । बिन्दोदासको हकमा पनि यस्तै भयो । पत्नी भूमिकाले सर्वस्व स्वाहा पारेर सन्तानसमेत अर्कैको नाममा किर्ते गरी बहुविवाह गरेको सप्रमाण बिन्दोदास इप्रका पथरीमा मुद्दा दर्ता गराउन पुगे ।

तर, प्रहरीले चाहिँ बिन्दोदास पीडित हुन नसक्ने भन्दै मुद्दा दर्ता गराउन मानेन । प्रहरीले केही गर्दा पनि मुद्दा दर्ता गर्न नमानेपछि गोविन्दकी जेठी पत्नी प्रमिला कार्की (पुडासैनी) को सहयोगमा गोविन्दविरुद्ध बहुविवाह मुद्दा दर्ता गराएका छन् । अर्कोतिर कसैको सन्तान कसैले किर्ते गरेर आफ्नो बनाउनेलाई कारबाही गर्ने कानुन पनि नेपालमा छैन ।

यसैले बिन्दोदासले जन्माएका छोरा सृजनलाई गोविन्दले कानुनी रूपमै आफ्नो बनाए पनि उनीविरुद्ध अर्को मुद्दा दर्ता भएको छैन । हाल गोविन्द र भूमिका  बहुविवाह मुद्दाको अपराध अनुसन्धानका लागि  इप्रका पथरीको हिरासतमा छन् । छोरा सृजनचाहिँ काठमाडौंस्थित स्कुलको होस्टलमै छन् ।

– गणेश लम्साल

टिप्पणीहरू