भारत पुग्नासाथ नेपाली भाउन्न

केही दिन अघिसम्म झापाको काँकडभिट्टा बजारमा खुलेआम भारु. कारोबार गर्ने महिला अहिले चुपचाप छन् । भारततर्फ जाँदै गरेका नेपालीलाई उनीहरू तानातान गर्थे । नेपाली रुपैयाँ लिएर भारतीय रुपैयाँ साटिदिन्थे । उताबाट आउनेहरूबाट भारु. लिएर नेरु. दिन्थे । मन लागेजति नाफा लिन्थे । कमाउने माध्यम नै यही थियो । हातमा पैसाको मुठो बोकेर मनी चेञ्जरको काम गर्थे, सडकमै ।

प्रहरीले लखेट्थ्यो कहिलेकाहीँ । तर, काँकडभिट्टामा यस्तो काम गर्ने थुप्रै छन् । भारत सरकारले आइसी ५ सय र हजार रुपैयाँको नोटमा प्रतिबन्ध लगाएपछि उनीहरू ‘बेरोजगार’ भएका छन् । ‘हामीसँग भएको भारु. चाहिँ बल्ल–बल्ल सल्टायौँ,’ १० वर्षदेखि भारु. साट्ने काम गर्दै आएकी एक महिलाले भनिन्, ‘अब फलफूल व्यापार गरेर खानुपर्ला ।’ भारत सरकारको निर्णयका कारण छोराछोरी पढाउनै धौधौ पर्ने उनले बताइन् ।

बिरामी ससुरालाई भेट्न मणिपुरबाट नेपाल आएका श्याम दियालीले यसपालि साह्रै दुःख पाए । ससुरालाई भेटिसकेर केही दिनदेखि नेपाल घुम्दै थिए । त्यति नै बेला भारत सरकारले ५ सय र हजारका नोटमा प्रतिबन्ध लगाएको समाचार सुने । दियालीले नेपाल प्रवेश गर्नेबित्तिकै भारुलाई नेरु. बनाइसकेका भए पनि मणिपुर फर्किन केही भारु. पनि च्यापेका थिए । ५ सय र हजारको नोट कारोबार नहुने सुनेपछि केही उपाय निस्किन्छ कि भनेर पानीट्यांकी पुगे । ‘साहै्र असुविधा भयो मलाई त, केही मिल्छ कि भनेर आएको,’ उनले भने, ‘यहाँ ज्वाइँ हुनुहुन्छ, उहाँको बैंक अकाउन्टमा डिपोजिट गरेर हुन्छ कि !’

भारत सरकारले नोटमा प्रतिबन्ध लगाएपछि यतिबेला दक्षिण एशियाली राष्ट्रमा त्यसैको चर्चा छ । नेपालमा पनि भारतीय रुपैयाँ चलाउने थुप्रै छन् । केही दिनअघिसम्म भारु खर्च गर्न लोभ गर्नेहरू अहिले समस्या सुल्झाउन भारततिर दौडधुपमा व्यस्त छन् ।

अरूबेला बट्टा तिर्दा पनि पाउन मुस्किल पर्ने भारु. यतिबेला ‘खोस्टो’सरह बन्दै छ । भारु. च्यापेर बसेकालाई काउछोजस्तै भएको छ । चोक, चिया पसल, सार्वजनिकस्थलमा सर्वसाधारण र व्यापारीबीच भारु. नोट सटही हुने÷नहुनेबारे चर्चा सुनिन्छ ।

भारत सरकारले नोट ५० दिनभित्र बैंकमा जम्मा गर्न भनेको छ । त्यहाँ खाता हुनेलाई केही राहत मिले पनि नेपालीलाई समस्या भएको हो । पानीट्यांकीमा मोटर पाटर््स व्यवसाय गरिरहेका निशान्त थापा ‘सरकार’ भन्छन्, ‘नेपालमा चाहिँ धेरैलाई असर गर्छ, अझ काँकडभिट्टामा त बट्टा खाने चक्करमा कसैले २० लाख, कसैले ३० लाख रुपैयाँसम्म राखेका हुन्छन्, उनीहरुको पैसा ड्यामेज हुँदै छ ।’

उनका अनुसार आफूसँग जति पैसा भए पनि एक जनाले बैंक खातामा अढाई लाख रुपैयाँ मात्र जम्मा गर्न पाउँछन् । नयाँ नोट आएपछि त्यो फेरि निकाल्न सकिनेछ । सीमाभन्दा बढी हुनेले सरकारलाई कर तिरिरहेको प्रमाण देखाउनुपर्नेछ । अनि मात्र बैंकमा राख्न पाइनेछ । भ्याटमा दर्ता भएर सरकारलाई नियमित कर तिरिरहेकाले भने बैंकमा ५० लाख रुपैयाँसम्म जम्मा गर्न पाउनेछन् । व्यवसायी थापाले भारत सरकारलाई ट्याक्स तिरिरहेका छन् । त्यसैले उनले आफ्नो खातामा ५० लाखसम्म राख्न पाउँछन् ।

नेपालबाट उनलाई भेट्न जानेहरूको लर्को छ । ‘कसैले ५ लाख, कसैले १० लाख बोकेर मेरैमा ३०/३५ जना आइसक्नुभयो,’ थापाले भने, ‘४ महिनापछि दिँदा हुन्छ, मेरो पैसा राखिदिनुस् भन्दै आउँछन्, म एक्लैले कति जनालाई मद्दत गर्न सक्छु र !’ नेपालीको १०/१५ लाख रुपैयाँ सल्टाइदिए पनि पानीट्यांकी पुगेपछि कुनै नेपाली मूलको व्यापारीसँग सहयोग माग्न सुझाव दिएका छन् । आफ्नो पसलमा मोटरसाइकल पार्ट्स किन्न आउनेसँग अझै पनि हजार र ५ सयको नोट लिइरहेका छन् । ‘भारतीय मूलका नेपाली व्यापारी र मणिपुर/आसामबाट नेपाल गएर बसेकाहरूसँग भारतमा बैंक खाता छ, उनीहरूलाई केही समस्या छैन, आफूसँग भएको पैसा बैंकमा हाल्छन्,’ उनले भने ।

तर, भारतका सबै व्यापारी थापाजस्ता मात्र हुँदैनन् । पानीट्यांकीमा ११ सयवटा दोकान छन् । तीमध्ये १२÷१३ वटाले मात्र सरकारलाई कर तिर्ने गरेको थापाको दाबी छ । त्यसकारण अधिकांश दोकानमा भारु. ५ सय र हजारको नोट चल्नै छाडिसक्यो । झापा, शान्तिनगर–१ बर्नेका राम राई पानीट्यांकी बजारमा भेटिए । सस्तोको लोभमा घरायसी सामान किन्न पारि पुगेका हुन् । तर, उनले बोकेको नोट व्यापारीले लिएनन् ।

त्यसकारण नेपाली रुपैयाँ तिरे । ‘नेरु. पनि पहिले एक हजारको भारु. ६ सयमा कारोबार हुन्थ्यो, अहिले ५५० मात्र हुन थाल्यो,’ उनले भने ।
पानीट्यांकी बजार नेपाली ग्राहकले चलेको छ । भारु. चल्न छाडेपछि नेपाली ग्राहक पनि पारि कम जान्छन् । अहिले पानीट्यांकी बजार सुनसान छ । पानीट्यांकीका हार्डवेयर व्यापारी सुकसागर राउत भन्छन्, ‘पहिले नेपाली पैसा बोकेर सामान किन्न आउनेहरू अहिले घरमा राखेको भारु. लिएर आउन थाले ।’

आफूले पुराना ग्राहकबाट मात्र ५ सय र हजारको नोट लिने गरेको राउतले बताए । भारु काण्डले व्यापार घटेको उनी सुनाउँछन् । झापा शनिअर्जुनका दीपक लिम्बू राउतकैमा हार्डवेयर सामान किन्दै थिए । भारु. पैसा खर्च गर्न मुस्किल परेको सुनाए । सामान किनेरै भारु. पन्छाइसके ।

झापा, दमककी बिना घिमिरे पानीट्यांकीमा व्यापार गर्छिन् । उनको पारि पनि बैंक खाता छ । आफूसँग भएको भारु. बैंकमा हालिसकिन् । ‘नेपालबाट सामान किन्न आउनेले आइसी मात्र बोकेर आउन थाले,’ भन्छिन्, ‘हामीले त्यो पैसा लिएका छैनौँ, व्यापार ठप्प छ ।’

– लक्ष्मी काफ्ले

टिप्पणीहरू