आन्तरिक उडान खुल्ने बितिक्कै विमानस्थलमा देखियो भीड

आन्तरिक उडान खुल्ने बितिक्कै विमानस्थलमा देखियो भीड

कोभिड–१९ महामारीको दोस्रो लहरका कारण बन्द भएको आन्तरिक हवाई उडान आजबाट शुरु भएको छ । संक्रमणलाई मध्यनजर गर्दै सरकारले वैशाख १६ गते निषेधाज्ञा जारी गरेपछि पश्चात् वैशाख २० गतेदेखि आन्तरिक उडान समेत बन्द भएको हो ।

झण्डै दुई महिनापछि आजदेखि आन्तरिक उडान सुचारु भएको छ । आन्तरिक उडान खुलेसँगै मलुु लकका विभिन्न भेगबाट मानिसलाई काठमाडौं आउन र काठमाडौं बाहिर जान सहज भएको छ । हवाई यात्रा मार्फत् विभिन्न ठाउँबाट काठमाडौं उत्रिएका यात्रुले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँदै सुरक्षित तवरले विमानस्थलमा उत्रिएको प्रतिक्रिया दिएका छन् ।

उडान खुलेको पहिलो दिन आज काठमाडौंको आन्तरिक टर्मिनल भवनमा भीडभाड देखिएको छ । स्वास्थ्य सावधानी अपनाउँदा यात्रुहरुबीच भौतिक दूरीको पालना गराउन नसकिएमा कोरोना संक्रमणको जोखिम बढ्ने देखिएको छ ।

बर्खायाममा यात्रुहरुको रोजाई पाएसम्म हवाई यातायात हुने गरेको छ । आज पहिलो दिनमा काठमाडौंको आन्तरिक टर्मिनल भवनमा यात्रुहरुको चापले पनि त्यो पुष्टि गरेको छ । काठमाडौंमा यातायातका साधनलाई जोरबिजोर प्रणाली लगाइएको छ । तर विमानस्थलमा यात्रु पुर्याउन र लिन जानेको संख्या धेरै रहेको छ ।

कोरोना संक्रमणबाट जोगिन र जोगाउन विमानस्थलमा समेत जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गराउनुपर्ने जनस्वास्थ्यविद्हरुले बताएका छन् ।

टिप्पणीहरू