कसैमाथि निरन्तर पीडाको पहाड

कस्तो दुःखद् संयोग, २०५८ जेठ १९ को दरबार हत्याकाण्डमा राजा महेन्द्रका ११ सन्तान (बुहारीसहित) मारिँदा बाँचेकी एक मात्र कान्छी छोरी शोभा शाहीलाई जीवितै उद्धार गरेर अस्पताल पु¥याउने सेनाका एकजना अंगरक्षकसमेतको गतहप्ता दुःखद् अन्त्य भएको छ । त्यो पनि विदेशी भूमिमा ।

०४२ सालमा आफ्नै बागबजारस्थित घरमा ग्रिनेड पड्कँदा यसरी नै ती सैनिकको दुई र तीन वर्षका छोरा र एक सिपाहीको मृत्यु हुन पुगेको थियो भने श्रीमती बृन्दा नराम्ररी घाइते भएकी थिइन् । उनै बृन्दासहित छोरी भेट्न दशैंपछि अमेरिका गएको बेला एट्लान्टाको सवारी दुर्घटनामा पूर्व दुईतारे जर्नेल केशवराज महतको देहावसान भएको हो ।

अमेरिकी सवारी अनुमतिपत्रको निम्ति ट्रायलको क्रममा कार ब्याक गर्दागर्दै हृदयाघात भएर महतको ज्यान गएको बताइन्छ । गाडीमा श्रीमती पनि सँगै थिइन् । पाकिस्तानमा यो जोडीका एक छोरा चिकित्साशास्त्र अध्ययन गर्दैछन् । हिन्दू विधिअनुसार दाहसंस्कार गर्न महतको शव शनिबार नेपाल ल्याइँदैछ । महतका तीनै दाजुभाइ रमेश र दीपक पनि सेनामै छन् । काकाका छोरा बलदेव भने अहिले नेपाली सेनाको दोस्रो वरियताका तीनतारे जर्नेल हुन् । बलदेवका भाइ सोभेन्द्रसहित सबै महत परिवार एकाघरमा बस्छन् ।

यसबीच अनेकन घोटाला प्रकरणमा केही कर्णेलमाथि जंगी अड्डाले छानबिन शुरु गरेको छ । मुस्ताङस्थित माउन्टेन वारफेयरका प्रमुख इन्द्र रायमाझीलाई वयानका लागि काठमाडांै झिकाइएको छ । सिन्धुलस्थित माओवादीले छाडेको शिविरका प्रमुख सेनानी बुद्धि खड्का र काठमाडौंको छाउनीस्थित हवाई सुरक्षा राजदल गणमा पनि निर्माणसम्बन्धी अनुसन्धान थालिएको छ ।

पाँचपटकसम्म मौका पाएर बल्लबल्ल स्टाफ कलेज उत्तीर्ण रायमाझीलाई शान्तिसेनाको गणपतिको हैसियतमा विदेश पठाउँदा पनि चित्त नबुझी राम्रै राशन खाओस् भनेर हिमालतिर पठाइएको थियो तर त्यहाँ पनि उनले दायाँबायाँबाट खान छाडेनन् । इन्जिनियरले तोकेको नक्शाविपरीत बाथरुम र भान्साको झ्यालढोका नै फेरेको आरोप उनीमाथि छ । भावी प्रधानसेनापति पूर्णचन्द्र थापा आफैं जोमसोम जाने क्रममा अनियमितताको उजुरी भेटेपछि सहायक रथी इश्वरकान्त मैनालीलाई यथार्थ बुझ्न मुस्ताङ पठाइएको थियो ।

तर, त्यहीबेला संसद्को राज्यव्यवस्था समितिका पदाधिकारीले अल्मल्याइदिएको हुँदा जंगी अड्डाले रायमाझीसँग विस्तृत वयान लिन पाएको थिएन । उता सिन्धुलीबाट राम्रै आम्दानी हुने हाइटी मिसन पुगेका बुद्धि खड्कामाथि पनि उताबाट फर्कनासाथ यस्तै अनियमितता प्रकरणमा वयान लिन थालिएको छ ।

टिप्पणीहरू