पाहुना आउँदा के–के मिलेन ?

भारतीय राष्ट्रपति आए, गए । तर, उनी आएको बेला हामीतर्फबाट के–के गल्ती–कमजोरी भए ? कस्ता–कस्ता त्रुटि देखिए भन्ने विवरणचाहिँ निकै रोचक छ । भ्रमणको समीक्षा गर्दै सेनाले पावरप्वाइन्टमार्फतै गल्ती औंल्यायो, ‘क्याबिनेटले भ्रमणको रुट तय गर्दा गम्भीर गल्ती ग¥यो । एउटै बाटो सधैं प्रयोग गर्दा सुरक्षा खतरा त बढ्यो नै जनताले समेत अनावश्यक दुःख पाए । त्यसमाथि उही बानेश्वरको बाटो लामो र जाँदा–आउँदा वाक्क लाग्नेगरी सधैं प्रयोग हुनाले बढी सुरक्षाकर्मी खटाउनुपर्दा खर्चसमेत बढ्यो ।’ उसको निचोड थियो, ‘निर्णय वैज्ञानिक भएन । राजाकै पालामा ल्याइएको बुलेटप्रुफ गाडी दरबारमै थन्किँदा विदेशबाट आउने सबै पाहुनाले आफ्नोनिम्ति गाडी आफैं ल्याउने परिस्थिति सिर्जना भयो । मुलुकको दयनीय हालत देखियो ।’

प्रणव मुखर्जीलाई नागरिक अभिनन्दन गर्ने काठमाडौं महानगरपालिकाका प्रमुख रुद्रसिंह तामाङको समीक्षा पनि त्यस्तै थियो, ‘हामीले अभिनन्दन गर्नुपर्ने अनि भोजचाहिँ राष्ट्रपति र प्रधानमन्त्रीले मात्र ख्वाउने ? नागरिककै तर्फबाट दिवाखाना  भोज ख्वाउन पाएको भए अर्कै मज्जा हुन्थ्यो । राष्ट्रपतिको स्वागत गर्न विभिन्न झाँकीमा ठाउँठाउँबाट विद्यार्थी, कलाकार, जाति, जनजाति आए । नागरिक अभिनन्दनमा समाजका गन्यमान्य उपस्थित भए । उनीहरुले राज्यको इज्जत राख्न आफ्नोतर्फबाट सक्दो मेहनत गरे । तर, विचराहरुलाई एक कप चियासम्म पनि ख्वाउन पाइएन ।’

स्थानीय विकास मन्त्रालयका सहसचिव रेश्मीराज पाण्डेको गुनासो बेग्लै– ‘तयारीको समय नै कम भो । सबै काम हतारोमा गर्नुप¥यो । त्यसमाथि हाम्रा निकायबीच आपसी समन्वय भएन । एउटाले बाटो बनाउने, अर्कोले खन्नेजस्ता काम भए । लत्रेका तार उठाउँदैमा हैरान भो । कालिमाटी एरियामा त इज्जत बचाउनै साह्रो प¥यो । त्यसमाथि बाटाको छेउमा टाँगिएका झण्डाले त झन् बर्बाद पा¥यो । यत्तिका वर्षपछि भारतीय राष्ट्रपति आएका, बाटाभरि सबै झण्डा पुराना, थोत्रा र गुणस्तरहीन थिए । नेपाली र भारतीय झण्डा दुवैको गुणस्तर ठीक थिएन । लाजमर्दो भो ।’

परराष्ट्र मन्त्रालयले चाहिँ राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजमा कमजोरी औंल्यायो । यस्ताखालका राजकीय भोज आयोजना गर्नसक्ने एकमात्र सोल्टी होटलमा जम्मा २०८ जनालाई बोलाउने भनिएको थियो । तर, सहभागी हुनेको संख्या अन्तिमसम्म पनि बढेको बढ्यै गर्दा कार्ड पु¥याउनै गाह्रो भो । राष्ट्रपतिको भोज खान जुलुश नै लागेको थियो ।’

सिंहदरबारमा सातो

परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले शुक्रबार मन्त्रालयमा सबै कर्मचारी भेला पारेर सातो टिपेका छन् । उनको आक्रोश थियो, ‘मन्त्रालयका सूचना सबै चुहिन्छन् । किन ? कसले ? कामको गति हे¥यो, अत्यधिक सुस्त छ ।’

आदेश दिए, ‘कतिञ्जेलमा के–के काम गर्ने हिसाब–किताब (लग फ्रेम) चाहियो । सबै शाखा, महाशाखा र विदेशस्थित नियोगले एक हप्ताभित्र मलाई रिपोर्ट बुझाइसक्नू ।’

उनले राजदूतको नियुक्तिबारे आश्वस्त पारे, ‘भारतीय राष्ट्रपतिको भ्रमणका कारण यससम्बन्धी काम अगाडि बढाउन भ्याइएको थिएन । अब काम द्रूतगतिमा अघि बढ्छ ।’

हुन पनि परराष्ट्रमा अराजकताको पराकाष्टा नै छ । राम्रा र आकर्षक देशका लागि सधैं मारामारी हुन्छ भने मलेसियामा राजदूतपछिको दोस्रो पद लामो समयदेखि खाली हुँदा पनि कोही जान मानिरहेका छैनन् । हालै परराष्ट्रमा नयाँ पदस्थापन र कार्यजिम्मेवारी पनि फेरबदल गरिएको छ । कन्सुलर विभागमा जापानबाट कार्यवाहक राजदूतको जिम्मेवारी सम्हालेर फर्किएका गेहेन्द्र राजभण्डारीलाई विदेशी कूटनीतिज्ञका समस्या, बाहिर बस्ने नेपाली मर्दापर्दाका अप्ठेरो हेर्ने काममा पठाइएको छ भने प्रशासन प्रमुखको जिम्मेवारी पाकिस्तानबाट फर्किएका प्रवक्ता भरत पौडेललाई दिइएको छ ।

त्यस्तै ढाकाबाट आएका सुशील लम्सालले राहदानी विभाग सम्हाल्ने मौका पाएका छन् । नीति, योजना महाशाखामा मणि भट्टराईलाई पठाइएको छ । उत्तरपूर्वी एशिया तथा प्रशान्त क्षेत्र हेर्ने जिम्मा पाकिस्तानबाट फर्किएका दुर्गा भण्डारीलाई दिइएको छ ।

टिप्पणीहरू