ठक्कर दिएर मार्ने सांसदपुत्रको लाइसेन्स कस्तो ?

ठक्कर दिएर मार्ने सांसदपुत्रको लाइसेन्स कस्तो ?

निषेधाज्ञाको समय त्यो पनि मादक पदार्थ सेवन गरेर साँझपख तीब्र गतिमा कार कुदाउँदा मजदुरको हत्या गरेको आरोपमा प्रदेश १ सभाकी सांसद विन्दिया कार्कीको छोरा २४ वर्षे रविन कार्कीलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।

बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश सुदर्शन लामिछानेको इजलासले कार्कीलाई धरौटीमा छाड्न इन्कार गर्दै पुर्पक्षका लागि कारागार पठाएको हो ।

यसअघि जेठ २० गते बिराटनगरको एयरपोर्ट मार्गमा मापसे गरेर तीब्र गतिमा कुदाएको प्रदेश ३–०१–००२ च २१३९ नम्बरको कारले ठक्कर दिँदा उद्योगमा काम गरेर पैदल यात्रा फर्कंदै गरेका मजदुर ३५ वर्षीय भारतीय नागरिक मुकेश शर्माको मृत्यु भएको थियो ।

त्यो बेला लाइसेन्स नभएकै कारण सांसद पुत्र फरार भएका थिए । पहुँचवालालाई जोगाउन खोजेको भन्दै चौतर्फी बिरोध भएपछि प्रहरीले रबिनलाई चार दिनपछि घरबाटै पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको थियो । उक्त घटनामा मजदुर मोरङ कटहरी गाउँपालिका–२, का २२ वर्षीय राजकुमार राजवंशी घाइते भएका थिए ।

दुर्घटनाको बेला लाइसेन्स नभएकाले कर्तव्यज्यानमा परिने भयले फरार भएका रविनले २०७५ कात्तिक १२ गते बाग्मती प्रदेश यातायात व्यवस्था कार्यालयबाट सवारी अनुमतिपत्र बनाएको कागजात अदालतमा पेश गरेका छन् । तर कार्यालयले रविनको लाइसेन्सको नम्बरसहितको पत्र मात्र पठाएको छ । लाइसेन्सको सक्कली पत्र पठाएको छैन ।

रविनले चार वर्षअघि कसरी लाइसेन्स बनाए भन्ने चर्चा शुरु भएको छ । कारधनी सांसद आमा विन्दिया कार्कीले पनि त्यो बेला कार आफ्नो भएको तर छोरा समेत सहभागी भएको युवाहरुको कोरोना शव व्यवस्थापन समूहलाई निःशुल्क समाज सेवाका लागि कार प्रयोग गर्न दिएको तर आफनो छोराले मापसे गरेर कार नकुदाएको दाबी गर्दै आएकी थिइन् ।

सरकारी वकिलको कार्यालयले कार्कीलाई १० वर्षसम्मको कैद सजाय र एक लाख रुपैयाँसम्म जरीवाना माग गर्दै लाइसेन्स भएकाले कर्तव्य ज्यानमा नभई सवारी ज्यानमा अभियोगपत्र अदालतमा बुझाएको थियो ।

टिप्पणीहरू