आन्दोलनकारीलाई निः शर्त रिहाई, नभए आन्दोलन चर्कने दलको चेतावनी

आन्दोलनकारीलाई निः शर्त रिहाई, नभए आन्दोलन चर्कने दलको चेतावनी

उदयपुर बेलका नगरपालिकाका ६ राजनीतिक दलले संयुक्त विज्ञप्ती प्रकाशित गर्दै हिजो भएको तोडफोड र झडपमा पक्राउ परेकाको बिना शर्त रिहाई र घाइतेहरुको उपचारको माग राखेका छन ।

दोहोरो झडपपछि स्थितिलाई सामान्य बनाउन क्रियाशिल दलका स्थानीय नेतृत्वले ‘खान, लाउन, बस्न र बाँच्न पाउने संविधान प्रदत्त नैसर्गिक अधिकारको विपक्षमा बेलका नगर सरकारको सिफारिशमा प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको जेठ ३ गते बसेको मन्त्री परिषदको बैठकले बेलका नगरपालिका २,३, ८ र ९ नम्बरका वडाका गाँउवस्तीलाई समेटेर कबुलियत बन बनाउने’ निर्णयको खारेजीको माग पनि गरेका छन ।

दलहरुले बेलका काण्ड स्थानीय जनतामाथि भएको अत्याचारी कदम ठहर गर्दै अविलम्व वार्ताको वातावरण तयार गर्न सम्वन्धित पक्षसँग माग राखेको छ । उनीहरुले वार्ता र समस्या समाधान गर्न पहल नगरे थप आन्दोलन हुने र त्यसबाट हुने क्षतिको जिम्मेवारी बेलका नगर सरकारले लिनु पर्ने बताएका छन ।

विज्ञप्तीमा नेपाल काँग्रेस नगर सभापति सुशिल सेढाई, नेकपा माओवादी केन्द्र नगर अध्यक्ष मनोज तामाङ, अध्यक्ष जनता समाजवादी पार्टी सुरेन्द्र राई, राप्रपा अध्यक्ष टीकाराम शर्मा र नेकपा सविच सुकदेव चौधरीले हस्ताक्षर गरेका छन ।

हिजोको झडपमा चार सुरक्षाकर्मीसहित डेढ दर्जन घाइते भएका छन भने झडपपछि १४ जना आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ । घटनामा प्रहरीले १० राउण्ड हवाइ फायर, १५ राउन्ड अश्रुग्याँस प्रयोग गरेको थियो । आन्दोलनकारीहरु करिब एक हजारको संख्यामा उपस्थित थिए । आन्दोलनकारीले कार्यालयमा तोडफोड गर्दा लाखौंको क्षति पुगेको छ । कबुलियत बन घोषणा गर्दै गाउँवस्ती उठाएर व्यक्ति पोस्ने नीति लिएपछि स्थानीयहरु आन्दोलित भएका हुन ।

कोसी उकास जमीनमा बसेका वस्तीलाई कबुलियत बन क्षेत्र घोषणा गरी बराहा हर्बल एण्ड एग्रो प्रा लि लाई लेमन ग्रासको खेती गर्ने योजना सरकार समक्ष पेश गरेको छ । सो निर्णयलाई जेठ ३ गते मन्त्री परिषदले पारित गरेको छ । यो निर्णयले गर्दा सो क्षेत्रमा बसोबास गर्ने करिब ५ सय घरको उठिवास हुनेछ भने बराहा हर्वलका सञ्चालक निलहरी काफ्लेले एकलौटीरुपमा व्यापारी हुने मौका प्राप्त गर्नेछन । जानकार र गाउँलेहरुका अनुसार सुरुमा काफ्लेले ६ कठ्ठा नदी उकासमा लेमन ग्रासको खेती गर्ने भन्दै गाउँलेहरुसँग सम्वन्ध गाँसेका थिए ।

अहिले उनले सो योजनामा अरुलाई संलग्न गराएर बस्ती उठाउँदै ६ सय विगाहामा कबुलियत बन बनाएर व्यापार गर्ने ग्रान्ड योजनामा छन ।

टिप्पणीहरू