प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने विद्यार्थीमाथि प्रहरीको धरपकड, केही घाइते (भिडियो)

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने विद्यार्थीमाथि प्रहरीको धरपकड, केही घाइते (भिडियो)

प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला जलाउने क्रममा रुकुम पश्चिममा पाँच जना विद्यार्थी नेता घाइते भएका छन् । प्रहरीले ११ जना पक्राउ गरेर अहिले भर्खरै छोडेको छ । पाँच वटा विद्यार्थी संगठनको आज बेलुकी सदरमुकाम खलंगाको विरोध कार्यक्रममा हस्तक्षेप गरी प्रहरीले विद्यार्थी नेताहरुलाई समातेको थियो ।

पुत्ला जलाउने क्रममा प्रहरीको लाठी लागेर अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष सुशील बिष्ट, अखिल क्रान्तिकारीका जिल्ला सचिव नारायण केसी, अनेरास्ववियु क्रान्तिकारीका निवर्तमान उपाध्यक्ष सोमपाल कामी, केन्द्रिय सदस्य सुन्दर शर्मा र जिल्ला नेता बिशाल बिस्ट घाइते हुनुभएको छ । उहाँहरुमध्ये सुशील बिष्ट र केसीको टाउकोमा चोट लागेको छ भने सोमपालको हातमा घाउ भएको विद्यार्थी नेता भावना शर्माले बताउनुभयो ।

घाइते बिष्ट र केसीसँगै अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य सुन्दर शर्मासहित ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उहाँहरुको रिहाईको माग गर्दै प्रहरी कार्यालयमा विभिन्न विद्यार्थी संगठनका नेताहरु पुगेपछि अहिले केही बेरअघि नेताहरु छुटेका छन् ।

संयुक्त विद्यार्थी संगठनको केन्द्रीय नीतिअनुसार यहाँका राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुले साँझ पुत्ला जलाउने कार्यक्रम राखेका थिए । प्रधानमन्त्रीले संसद विघटन, असंवैधानिक तवरले विभिन्न निकायमा गरेको नियुक्तिलगायत विभिन्न कदम चालेको र राष्ट्रपतिले त्यसको संरक्षण गरेको बिरोधमा पुत्ला जलाउने कार्यक्रम गरिरहेका विद्यार्थी नेतालाई प्रहरीले गिरफ्तार गरेको हो ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस् ।

टिप्पणीहरू