दस्तावेजको भाइरलीकरण

जतिखेर संसारभरि सुश्री कुसुम श्रेष्ठको फोटो भाइरल हुँदै थियो त्यतिखेर नेपालमा भने एउटा फोटोकपी भाइरल भइरहेको थियो । संविधान संशोधनको लागि तयार गरिएको दस्तावेज भन्दै उक्त फोटोकपीलाई भाइरल बनाइएको थियो ।

मिडियाको बजारमा दुवै उत्तिकै चर्चित भए । फरक यति मात्रै थियो– कुसुम श्रेष्ठको फोटो थियो, दस्तावेज फोटोकपी थियो । कुसुम सोसल मिडियामा भाइरल भइन्, दस्तावेज मासमिडियामा भाइरल भयो । कुसुमको फोटो मैले निकालेको भन्ने मान्छे अगाडि आए, दस्तावेजको फोटोकपी मैले बनाएको भन्ने कोही देखा परेन ।

कसैकसैले यो फोटोकपी निकाल्ने त एमाले हो भन्ने आरोप पनि लगाए । तर, त्यो बेकारको आरोप हो । एमाले भनेको थोडै फोटोकपी पसल हो र यस्तो दस्तावेज फोटोकपी गरिरहनलाई ? ती आरोप लगाउनेहरूले कम्युनिष्टलाई टुकुचा गल्लीको फोटोकपी पसल ठान्या छन् कि क्या हो ?
तथापि यति चाहिँ हो कि एमालेका केही उच्चपदस्थ कमरेडहरू उक्त फोटोकपीको अलि छिट्टै आलोचना गर्नतिर लागे । दस्तावेजको एउटा कपी अध्यक्ष केपी ओलीको हातमा पनि परेको थियो अरे । तर, उहाँबाट यसको आलोचना भएन ।

ज–जसको हातमा दस्तावेज परेको थिएन, उहाँहरूबाट चाहिँ अलि चाँडै नै आलोचना निक्लियो । त्यसमध्ये कोही त कति चाँडो परे भने उनीहरूको आलोचना बाहिर आउँदासम्म दस्तावेज नै सार्वजनिक भइसकेको थिएन । दस्तावेज पछाडि प¥यो । आलोचना अगाडि प¥यो । नेताहरू दूरदर्शी हुनुपर्छ भन्थे । अब हेर्नोस्, दूरदर्शिताको नतिजा के भयो ! 

टिप्पणीहरू