डा. शेरबहादुर देउवा

शेरबहादुर देउवाको नामै यस्तो छ जसलाई सुनेपछि जल्लाई पनि केही दिउँ दिउँ जस्तो लागिहाल्छ । नाम लिनेबितिकै ‘देऊ बा !’ भनेपछि कसरी केही नदिई बस्नु ? अस्ति पार्टीको चुनाव हुँदा त्यही ‘देऊ बा’ भनेको कारणले कार्यकर्ता जम्मैले भोट दिए । अहिले पनि उहाँ भारतको गोवा जानुभयो । त्यहाँ पनि त्यही ‘देऊ बा’ भनेको कारणले हुनुपर्छ, उनीहरूले उहाँलाई एउटा विद्यावारिधीको उपाधि दिई पठाए ।

त्यो उपाधि पाउनेबित्तिकै उहाँ शेरबहादुर देउवाबाट ‘डा. शेरबहादुर देउवा’ बन्नुभएको छ । अब उहाँको नाम लिँदा भन्नुपर्छ – भूतपूर्व प्रधानमन्त्री (अब ६ महिनापछि आउने भविष्यको पनि प्रधानमन्त्री) तथा नेपाली कांग्रेसका सभापति डा. शेरबहादुर देउवा ।

यो उपाधिले उहाँको कुनै पनि काम कारवाहीलाई खासै असर त गर्दैन होला । तर आफ्नै श्रीमतीको सामु फूर्तिसाथ उभिने अवसर भने अवश्य दिन्छ होला । किनभने उहाँकी श्रीमती डा. आरजु देउवा उर्फ राणा पनि एक विद्यावारिधीधारी विद्वान हुनुहुन्छ । श्रीमती ‘डा.’, श्रीमानचाहिँ कोही न कोही । सन्तुलन मिलेको थिएन । अब श्रीमान् देउवा पनि ‘डा.’ भएर आएपछि सन्तुलन मिलेको छ ।

श्रीमान श्रीमती दुवै डाक्टर ।

(पुनश्च : नेपालमा शैक्षिक प्रगति गर्न नसक्ने विद्यार्थीहरू अक्सर भारततिर गएर शैक्षिक प्रमाणपत्र लिई आउने गर्छन् । त्यस्ता प्रमाणपत्रधारीहरू अहिले ‘नक्कली डाक्टर’को केशमा पक्राउ पर्दैछन् ।)  

टिप्पणीहरू