१५ राउण्ड अश्रुग्याँस,दर्जनौँ घाइते, नगरपालिका तोडफोड « Jana Aastha News Online
Logo
६ माघ २०७८, बिहीबार
|  Thu Jan 20 2022

१५ राउण्ड अश्रुग्याँस,दर्जनौँ घाइते, नगरपालिका तोडफोड

प्रकाशित मिति :  १६ असार २०७८, बुधबार १७:३०


उदयपुर बेलका नगरपालिकाको धौरी टप्पुलाई कबुलियत वन बनाउने सिफारिसविरुद्ध आन्दोलित स्थानीय र सुरक्षाकर्मीवीच झडप हुँदा दर्जनौं घाइते भएका छन् ।

घाइते हुनेमा प्रहरी र आन्दाेलनकारी दुवै छन् । बेलका नगरपालिकाको ३, ८ र ९ नम्बर वडाका कोशी नदी उकास क्षेत्रमा बसोबास गर्नेहरु छन् । आज दिउँसो एक बजेतिर नारा जुलुस गर्दै नगरपालिका घेर्न पुगेका आन्दोलनकारी तोडफोडमा उत्रिएपछि प्रहरीसँग झडप भएको थियो ।

प्रहरीले भीडलाई नियन्त्रण गर्न १५ राउण्ड अश्रुग्याँससमेत प्रहार गरेको छ । भीडले नगरपालिकाको प्रदेश ३– ०१– ०२२ च ९३४८ को सवारीसाधन पनि तोडफोड गरेको छ ।

अहिले स्थिति सामान्य र प्रहरी नियन्त्रणमा छ भने घाइतेहरुको उपचार शुरु गरिएको छ । कोशी उकास जमीनमा बसेका वस्तीलाई कबुलियत वन क्षेत्र घोषणा गरी उठाउने प्रपञ्च रहेको भन्दै नगरपालिकाविरुद्ध स्थानीय आक्रोशित हुँदै असार १ गतेदेखि आन्दोलित हुँदै आएका छन् ।

त्यसबेला वडा कार्यालय र नगरपालिकाले कबुलियत वन बनाउने सिफारिश गरे पनि त्यो निर्णय गलत भएकोले फिर्ता लिएको जानकारी गराएको थियो । त्यसपछि सामान्य बन्दै गएको अवस्था एकाएक भड्किएको हो ।

जानकारहरुका अनुसार भूमाफियाको चलखेलका कारण जनता आन्दोलनमा उत्रिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !