उपत्यकामा गाडीको ताँती,स्वास्थ्य मन्त्रालय भन्छ-जोखिम उत्तिकै छ

उपत्यकामा गाडीको ताँती,स्वास्थ्य मन्त्रालय भन्छ-जोखिम उत्तिकै छ

-शिव अधिकारी

निषेधाज्ञा खुकुलो भएसँगै उपत्यकामा सवारी साधनको चाप बढेको छ । कोरोनाको दोस्रो लहर देखिएसङ्गै स्थानीय प्रशासनले गत बैशाख १६ गतेदेखि लगाएको निषेधाज्ञाका कारण सुनसान उपत्यकाका सडक दुई दिनयता भरिभराउ हुन थालेका छन् ।

उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरुको बैठकले हिजोदेखि सार्वजनिक सवारीमा समेत जोर विजोर प्रणालीका आधारमा सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु बोक्न पाउने गरी सञ्चालन अनुमति दिएको थियो । सार्वजनिक सवारी चलाउन दिने प्रशासनको निर्णयसँगै सडकमा भीडभाड देखिन थालेको हो ।

प्रशासनले निश्चित मापदण्डका आधारमा सवारी सञ्चालन गर्न पाउने निर्णय गरेपनि त्यसको पालना नहुँदा गाडीको चाप बढेको हो । यातायात व्यवसायी नै सिट क्षमताको ५० प्रतिशत यात्रु बोक्न पाउने निर्णयको विरोधमा उत्रिएकाले क्षमताभन्दा बढी यात्रु बोकेका सवारी साधन देख्न सकिन्छ । सवारी साधनको चाप बढ्न थालेपछि दुई महिना सुनसान रहेको उपत्यकामा भीड बढेको हो ।

कोरोनाको जोखिम नघट्दै अत्यधिक भीडभाड बढेपछि सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । काठमाडौँका सिडिओ कालीप्रसाद पराजुलीले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरेर सवारी सन्चालनको अनुमति दिइएको बताए । मापदण्ड पालना नभएकाले सवारीको चाप बढेको हुनसक्ने उनको स्वीकारोक्ति छ । आज जनआस्थासँगको कुराकानीमा सिडिओ पराजुलीले ‘सवारी साधन चलाउन दिएपछि चाप नबढेर हुन्छ त !” भन्ने जवाफ दिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने जोर-बिजोर प्रणालीका कारण आज चाप बढेको हुनसक्ने बताए । जोर नम्बरका सवारी साधन बढी भएकाले सडकमा बढी देखिएको उनको भनाइ छ । उनले भोलि सवारी साधनको अवस्था हेरेर मात्र भन्न सकिने बताए । अनुगमनलाई ब्यापक बनाईएकाले मापदण्ड विपरितका सवारी साधन गुड्न नपाउने सिडिओ निरौलाको दाबी छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले भने मापदण्ड विपरित सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी साधनलाई कारवाही गरिएको बताएको छ । महाशाखाले बिहान ९ बजेसम्म काठमाडौँमा १५,भक्तपुरमा ३ र ललितपुरमा २ गरी २० यात्रुवाहक बसलाई कारवाही गरेको जानकारी दिएको छ ।

सवारीको चाप अत्याधिक बढेपछि महाशाखाले सोहीअनुरुप जनशक्ति खटाएर अनुगमन प्रभावकारी बनाएको महाशाखाको भनाइ छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने,तोकेभन्दा बढी यात्रु बोक्ने सवारी कारवाहीमा परेको महाशाखाले जनाएको हो ।

कोरोना महामारीको संक्रमणदर केही कम भए पनि ढुक्क हुने अवस्था नरहेकाले तोकेको मापदण्ड पूरा गरेर मात्र सवारी संचालन गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले संक्रमण केही हदसम्म घट्दोक्रममा रहेपनि जोखिम उत्तिकै रहेको बताए । पौडेलले प्रमुख जिल्ला अधिकारीहरुले यातायात खुलाएर महामारीलाई पुनरागमनको निम्तो दिएको आरोप पनि लगाए ।

जनआस्थासँगको कुराकानीमा पौडेलले आज देखिएको सवारी चापले जोखिमको खतरा बढाएको बताए । डेल्टा भेरियन्ट सक्रिय अवस्थामा रहेको बेला यातायात खुलाउने निर्णयले महामारी भित्र्याउन पुलको काम गरेको उनको दाबी छ । सतर्कता अपनाएर सवारी सञ्चालन गर्न आग्रह गर्दै उनले अन्यथा फेरि महामारी फर्किने खतरा औंल्याए ।

टिप्पणीहरू