जेठ २ मा फर्किए पनि मिल्न कठिन

जेठ २ मा फर्किए पनि मिल्न कठिन

दशौँ महाधिवेशन आयोजक कमिटीलाई सर्वोच्च अदालतले बैधता नदिएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका सांगठानिक संरचनालाई माओवादीसँग एकतापूर्व अर्थात् २०७५ जेठ २ मा फर्काउन तयार हुनुभएको छ । हिजो बसेको उहाँपक्षीय स्थायी कमिटी बैठकले पार्टीका कमिटीहरु जेठ २ को अवस्थामा फर्काउने निर्णय गरेको हो ।

ओलीले कारवाही गरेका माधव नेपालनिकट कर्णाली प्रदेशका ४ सांसदलाई पुनर्बहालीको आदेश दिँदै सर्वोच्चले एमालेको महाधिवेशन आयोजक कमिटीलाई मान्यता दिन अस्वीकार गरेको थियो । सर्वोच्चले आयोजक कमिटीका नामबाट गरिएको कारवाही वैधानिक नहुने भन्दै फ्लोर क्रस गरेर माओवादी नेतृत्वको कर्णाली सरकारलाई विश्वासको मत दिएका चारै जना सांसदलाई पुनर्बहालीको आदेश सुनाएको हो ।

माधव नेपाल समूहले समेत पार्टी एकताका लागि जेठ २ लाई पूर्वशर्त बनाएर छलफलमा जुटेका बेला अदालतको आदेश आएको थियो । पार्टीले गरेका निर्णयको वैधता गुम्ने देखेपछि ओली जेठ २ मा फर्किन तयार भएको बताइन्छ । त्यसका लागि भाेलि केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

तर,माधव नेपाल समूह भने उक्त बैठकमा सहभागी हुने सम्भावना कम छ । नेपाल समूहका एक नेताले एकलौटी रुपमा बोलाइएको बैठकमा आफूहरु जाने अवस्था नरहेको बताए । उनले प्याकेजमै सहमति नहुँदासम्म बैठकमा जानुको अर्थ नहुने पनि दाबी गरे ।

फागुन २३ गते सर्वोच्चले नेकपाको एकता भंग गर्दै एमाले र माओवादीलाई पूर्ववत अवस्थामा फर्काउने फैसला गरेको थियो । त्यसको पाँच दिनपछि फागुन २८ गते अध्यक्ष ओलीले बालुवाटारमा आफूपक्षीय नेताहरुको भेला बोलाएर पदाधिकारी खारेज, नेताहरुको जिम्मेवारी हेरफेर, महाधिवेशन आयोजक समिति गठनजस्ता निर्णय गर्नुभएको थियो । ओलीले एकपक्षीय ढंगले केन्द्रीय कमिटी भंग गरेर नेताहरुको जिम्मेवारी खोस्नुका साथै पूर्वमाओवादीका २३ जनालाई मनोनित गरेपछि नेपाल समूहले चर्को असन्तुष्टि जनाउँदै आएको छ । त्यसयता बढेको विवाद फुटउन्मुख छ ।

नेपाल समूहले फागुन २८ यता ओलीले पार्टीमा गरेको निर्णय र पुस ५ यता चालेका राजनीतिक कदम सच्याउनुपर्ने माग राख्दै आएको छ । जेठ २ मा फर्किने निर्णयले मात्रै पार्टी एकताको वातावरण नबन्ने उसको ठम्म्याई छ । प्रधानमन्त्रीका रुपमा चालेका कदमले पार्टीको छवि गिरेकाले ओलीले सार्वजनिक रुपमा माफी माग्नुपर्ने अडान नेपाल पक्षका नेताहरुले राख्दै आएका छन् ।

ओलीले आफूहरुको माग सम्बोधन गर्नका लागि नभई अदालतको आदेशका कारण बाध्यतामा परेर जेठ २ मा फर्किने निर्णय गरेको ती नेताले सुनाए । त्यसैले ओलीले अहिलेसम्म गरेका राजनीतिक निर्णयहरु सच्याउने र सार्वजनिक रुपमा माफी नमागेसम्म जेठ २ मा फर्किएर पनि समस्या समाधान नहुने उनले दाबी गरे ।

एमाले पुनर्स्थापित हुँदा बित्तिक्कै जेठ २ मा फर्काएर लैजानुपर्नेमा ओलीले बलपूर्वक धकेलेर आफूहरुलाई बाहिरै राखेको नेपाल पक्षको गुनासो रहँदै आएको छ । उनी भन्छन्, ‘जेठ २ मा फर्किने कुरा त यसैपनि बाध्यता नै थियो, अदालतको पछिल्लो आदेशले पनि त्यहि भनेको हो । अर्को कुरा उहाँ (ओली) इमान्दारिताका साथ जेठ २ मा फर्किने निर्णयमा पुग्नुभएको हो या अदालतको आदेशले बाध्यतामा परेपछि भन्ने हामीलाई आशंका छ । त्यसैले हामीले प्याकेजमै सहमति हुनुपर्ने कुरा उठाएका हौँ ।’

ओलीले दुई पटकसम्म प्रतिनिधिसभा विघटन गरेर राजनीतिक तथा संवैधानिक अपराध गरेको नेपाल समूहको आरोप छ । त्यस्तै,संवैधानिक आयोगका नियुक्ति,महन्थ ठाकुरहरुसँगको सम्झौता लगायतका विषयमा पनि नेपाल पक्ष असन्तुष्ट छ । त्यसैले यी सबै विषयमा सहमति नहुँदासम्म जेठ २ मा फर्किएर पनि विवाद हल नहुने बरु ओलीले गरेका गलत कदमको साक्षी बस्न गएको अर्थ लाग्ने सो पक्षको बुझाइ छ ।

आयोजक कमिटीलाई मान्यता नदिने अदालतको आदेशविरुद्ध भ्याकेट निवेदन दिने ओलीको निर्णयप्रति पनि नेपाल पक्ष आशंकित छ । वरिष्ठ नेता नेपालसहित ११ जनालाई पार्टीबाट निश्कासित गरेको अवस्थामा कारवाहीले बैधता नपाउने देखेर आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्न खोजेको हुनसक्ने आशंका नेपाल पक्षका नेताहरुले गरेका छन् । ‘भोलि कारवाहीको लागि बाटो बनाएको त होइन भन्ने आशंका छ । हैन भने उहाँ किन भ्याकेटमा जानुभयो ?’, सो समूहका एक नेता प्रश्न गर्छन् ।

त्यसो त,प्रतिनिधिसभा पुनर्स्थापनाको सम्भावना देखेपछि प्रधानमन्त्री ओलीले संसदीय जोड-घटाउको हिसाब गरेर जेठ २ मा फर्किने निर्णय गरेको विश्लेषण पनि गरिएको छ । नेपाल समूह बाहिरिँदा सम्भावित सत्ता समीकरणमा कमजोर हुने आंकलन गरेर ओली एकताका लागि तयार भएको बताउनेहरु पनि छन् । संसद पुनर्स्थापना हुँदा नेपाल पक्षलाई इन्गेजमा राखेर महन्थहरुको समर्थनमा प्रधानमन्त्री बन्ने रणनीतिका साथ ओली अघि बढेको बताइन्छ । त्यहि बुझेर आफूहरु प्याकेजमा सहमति नहुँदासम्म बालुवाटारको बैठकमा नजाने अडानमा रहेको नेपाल समूहका नेताहरु बताउँछन् ।

यसैबीच फागुन २८ गते ओलीले एकतर्फी गठन गरेको महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक आजै बालुवाटारमा बसेको छ । बैठकले आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गरेको छ।

टिप्पणीहरू