उताको साउजिन, यताको मनाङ–मुस्ताङ « Jana Aastha News Online
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022
Logo
२ भाद्र २०७९, बिहीबार
|  Thu Aug 18 2022

उताको साउजिन, यताको मनाङ–मुस्ताङ

प्रकाशित मिति :  २५ कार्तिक २०७३, बिहीबार ०८:११


– डा. नम्रता पाण्डे


नेपाल–चीन मैत्री सम्बन्धले ६०औं वर्षगाँठ मनाइसक्दा, भृकुटी–अरनिको पालादेखिको सम्बन्ध अनि नेपालका हरेक असहज परिस्थितिमा प्राप्त सहयोग सधैं प्रशंसनीय छन् । सिल्क रोड, वन बेल्ट वन रोड र व्यापारिक नीतिको अवधारणामार्फत जुन नीति अपनाउन कटिबद्ध छ त्यसले अवश्य नेपालको हित गर्नेछ ।

उत्तरी छिमेकी, मनाङ–मुस्ताङ भेगकै बासिन्दासँग मिल्दोजुल्दो अनुहार, चालचलन र भौगोलिक परिवेश । दिगो विकासबारे गोष्ठी अनि कृषि उत्पादन र व्यवसायीकरण नै राष्ट्रको आर्थिक उन्नतिको एउटा पाटो भन्ने मत चीनको साउजिन काउन्टी र नेपालको मनाङ–मुस्ताङलगायत हिमाली भेगमा लागू हुने ।

आफूले काम गर्ने हिमाली आयोजनाको उद्देश्य, साउजिन काउन्टीमा अपनाइएको स्थानीय कृषि उत्पादन र व्यवसायीकरण प्रविधि ठ्याक्कै मिल्दोजुल्दो हुनाले यसपटक चाइना फाउण्डेशन फर पिस एण्ड डेभलपमेन्ट संस्थाले आयोजना गरेको ‘दिगो विकास’ शीर्षक गोष्ठी मेरो सिकाइ र अनुभवमा अरू निखार ल्याउन सफल रहेको अनुभूति भयो । सामान्यतया विदेशमा हुने गोष्ठीमा जुनसुकै संस्थाले आयोजना गर्ने भए पनि जाने, नयाँ–प्रसिद्ध ठाउँ र शहर घुम्ने, अन्तरक्रिया गर्ने र फर्कने हुन्छन् ।

तर, यसपटक सिएफपिडी ले त्यो नगरी चीनका दुर्गम, भौगोलिक विकटता भोगेका, प्राकृतिक प्रकोप र भूकम्पले तहसनहस गाउँ कसरी ६÷७ वर्षमै पुनर्निर्माणद्वारा विकसित भएका छन् भन्ने देखायो, बुझायो र त्यो नीति लागू गर्न सके नेपाल पनि केही वर्षमा आर्थिक उन्नतिको शिखरमा पुग्न सक्ने व्यावहारिक ज्ञान प्रदान ग-यो ।

चाइना फाउण्डेशन फर पिस एण्ड डेभलेपमेन्टले सन् २०१२ देखि छिमेकी मित्रराष्ट्रको हैसियतले, नेपाली जनताको जीवनस्तर उकास्ने, शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ । तर, यसपटकको भ्रमण र गोष्ठीमार्फत माछा मारेर दिने होइन, माछा मार्ने कला सिकाए उनीहरूले । बरु माछा छोप्न जाल बुन्ने सामग्री उपलब्ध गराउन सधैं तत्पर रहेको बताए ।

चीनले ६ सय मिलियन जनतालाई गरिबीको रेखाबाट माथि उठाउन सफल भएको राज प्रथमतः स्थानीय कृषि उत्पादन र व्यवसायीकरण नै थियो । ग्रामीण पुनरुत्थान, दिगो विकास र जनसहभागिता नै त्यहाँको गरिबी उन्मूलनको कारण थियो जुन विश्वमै अनुकरणीय मान्नुपर्छ ।

हाम्रो हिमाली भेगका जनताको स्थिति सुधार्न, जीवनस्तर उकास्न र आधारभूत आवश्यकता मात्र पूरा गर्न पनि त्यहाँका स्थानीय वस्तु पहिचान गरी कृषि, पशुपालन, जडीबुटी खेती, याक र चौंरी पालन, स्याउ, आलु खेती, ऊन प्रशोधन, कृषि, पर्यटनजस्ता व्यवसायमार्फत व्यवसायीकरणमा जोड दिने हो भने केही वर्षमा धेरै प्रगति भेटिनेछ ।

हाल हिमाली आयोजनाले, एशियाली विकास बैंकको सहयोगमा सोलुखुम्बु, संखुवासभा, दोलखा, रसुवा, मनाङ, मुस्ताङ, जुम्ला, हुम्ला, मुगु र डोल्पामा कृषि, पशुपालन, जडीबुटी खेतीमार्फत र ती जिल्लामा उत्पादन हुन सक्ने चिजको अन्य क्षेत्रमा उपआयोजना सञ्चालन गरी जीवनस्तर उकास्ने काममा सहयोग गर्दै छ । साउजिन काउन्टीका ग्रामीण र अन्य क्षेत्रमा सञ्चालित गुलाफ, तरकारी, स्याउ खेती, याक र चांैरीपालन तथा हिमाली आयोजनाद्वार सञ्चालित गरेका उपआयोजनाको उद्देश्य मिल्न आउँथ्यो ।

रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने, बजार व्यवस्थापन गराउने र निर्वाहमुखी खेती प्रणालीबाट उद्योगी बनाउने उद्देश्य हिमाली आयोजनाको पनि हो । यसपटकको चीन भ्रमणले यस्ता आयोजना विस्तारै नेपालभरि फैलाउनुपर्ने बोध दिलाएको छ । हिमाली आयोजनाको प्रयास पनि १० जिल्लाबाट बढाएर कम्तीमा २० जिल्ला समेट्ने र यो मोडेल देशभरि लागू गर्नुपर्ने दिशामा केन्द्र्रित छ । उत्पादनसँगै बजारीकरण र बढ्दो उत्पादनका लागि प्रशोधन तथा संकलन केन्द्रलाई साउजिन काउन्टी र अरू ग्रामीण क्षेत्रले त्यही प्राथमिकतामा राखेका छन् तर हामीकहाँ उत्पादन बढाउन मात्र सके हुन्थ्यो भन्ने अपेक्षा छ किनकि हाम्रा उत्पादनले अझै थेग्दैन ।

आयातित वस्तुकै निर्भरतामा बाँचेका छौं हामी । जलस्रोतको धनी मुलुक भनिए पनि अझै पर्याप्त बिजुली निकाल्न सकिएको छैन भने प्रशोधन केन्द्रलाई चाहिने बिजुली कसरी पु¥याउने ? यो भिन्नता प्रष्ट अनुभूति भएको छ । अझै धेरै कुरामा ध्यान पु¥याउनु छ हामीले ।

अक्टोबर १६ देखि २३ सम्मको चीन भ्रमणमा सिएफपिडीले विभिन्न क्षेत्रमा काम गर्ने, अनुसन्धानकर्ता, समाजशास्त्री, सञ्चारकर्मी, पत्रकार, राजनीतिज्ञ र समाजसेवी गरी २० जनाको टोलीलाई ‘नेपालको दीर्घकालीन विकास’ विषयमा अन्तरक्रिया, आफ्ना धारणा र वर्तमान परिप्रेक्ष्यमा छलफल र चीनका विकट गाउँ भ्रमण गर्ने अवसर जुटाइदिएको थियो । बार–बार परिवर्तन भइरहने सरकार, राजनीतिक अस्थिरता र अन्योलताले राष्ट्रको आर्थिक उन्नति हुन नदिएको हामीले बुझेकै हो ।

विकासका लागि दिगो नीति, सबै सामाजिक संघ–संस्था, गैरसरकारी संस्थासँग सहकार्य जरुरी रहेछ । दिगो विकासको अवधारणा र ग्रामीण विकासको प्राथमिकता अनि कृषि उत्पादन र बजारीकरणको व्यवस्थालाई निरन्तरता दिनु नै आर्थिक सम्पन्नतातिरको पहल हो भन्ने चिनियाँ ठम्याइलाई हामीले पनि मोडेलको रूपमा लिन सक्छौं । नेपाल र नेपालीसँग भएका जनशक्ति परिचालन गरी जलस्रोत र जडीबुटीबाट मात्र पनि पर्याप्त उत्पादन र निर्यात गर्न सकिने विश्वास चिनियाँ साथीले समेत व्यक्त गरेका छन् ।

संकल्प, आत्मविश्वास, निरन्तरता र व्यवस्थापनजस्ता गुणले गर्दा ४० वर्ष अगाडिसम्म पुरातन कृषि प्रणाली र अभावको जीवन भोगेका चिनियाँ आज विश्वको दोस्रो आर्थिक सम्पन्न भएका छन् । मानिस, मानवीय स्वभाव, विकास र प्रयास जुन देशका मानिसको पनि चाहना हो । नेपालले पनि यसबाट पाठ सिक्नुपर्छ र छिमेकी मुलुकलाई विश्वस्त पार्न सक्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !