सानो घेराको “बा” बन्ने कि देशको अविभावक ?

सानो घेराको “बा” बन्ने कि देशको अविभावक ?

कामचलाउ प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली वाकपटुतामा पोख्त हुनुहुन्छ । अभिव्यक्तिद्वारा मान्छेको ध्यान आफूतिर केन्द्रित गर्न र उखान–टुक्काको सहारामा मीठो भाषण गर्नसक्ने खुबी उहाँमा छ । बिरोधी कित्तामा रहेकालाई चोटिलो प्रहार गर्न खप्पिस प्रधानमन्त्री ओली पछिल्लो समय भने हदैसम्म तल ओर्लेर पूर्वप्रधानमन्त्रीहरूमाथि अशोभनीय गालीको वर्षा गरिरहनुभएको छ । आइतबार मात्रै उहाँले आफ्नै पार्टीका वरिष्ठ नेता,देशकै पुरानो पार्टी नेपाली काँग्रेसका सभापति र पछिल्लो राजनीतिक परिवर्तनको नेतृत्व गरेको माओवादी केन्द्रका अध्यक्षलाई सत्तोसराप गर्नुभयो ।

अरुलाई चोटिलो शब्द प्रयोग गरी उखानको शैलीमा घोचपेच गर्न सिपालु ओली अन्य राजनैतिक दल र तिनका नेतामाथि नियमित रुपमा व्यङ्ग्य गर्नुहुन्छ । अरुलाई होच्याएर बोल्नु उहाँको विशेषता नै बनिसकेको छ । उहाँले कसलाई बाँकी राख्नुभयो र ! गणतन्त्रको आन्दोलन गर्नेलाई खिसीट्युरी गर्नुभयो । माओवादी आन्दोलनविरुद्ध आगो ओकल्नुभयो । मधेस आन्दोलनविरुद्ध पनि त्यस्तै गर्नुभयो । तर,बिडम्बना नै भन्नुपर्छ,त्यहि आन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक शासन व्यवस्थाको कार्यकारी पदमा अहिले उहाँ विराजमान हुनुहुन्छ । तर,पनि उहाँको गालिपुराणमा ब्रेक लागेको छैन,बरु स्पिड झन् बढेको छ ।

आफैंले बिरोध गरेको शासन प्रणालीको हर्ताकर्ता बन्नु सायद उहाँकै लागि पनि अकल्पनीय थियो होला ।

राजनीतिमा असम्भव केही हुन्न भने झैँ आफैंले बिरोध गरेको शासन प्रणालीको हर्ताकर्ता बन्नु सायद उहाँकै लागि पनि अकल्पनीय थियो होला । त्यसो त, प्रधानमन्त्रीको सुनिश्चितताका लागि उहाँले हिजो नामै सुन्न नचाहनेसँग पार्टी एकीकरण नै गरिदिनुभयो । आफ्नो स्वार्थको लागि जस्तोसुकै कदम चाल्न पछि नपर्ने ओली आफैँले बिरोध गरेको नागरिकता अध्यादेश ल्याएर मधेसवादी दलसँग साँठगाठ गर्दै सत्ता टिकाउन कम्मर कसेर लाग्नुभयो ।

पार्टीको विधानविपरित एकलौटी निर्णय गर्ने,पटक–पटक प्रतिनिधिसभा विघटन गर्ने, पार्टीका वरिष्ठ नेतालाई कारबाही गर्ने,अदालतको फैसलाविपरित राष्ट्रपतिसँगको साँठगाठमा कानूनविपरित कार्य गर्नेजस्ता अराजक क्रियाकलापका कारण पार्टी र राष्ट्रिय राजनीतिमा एक्लिँदै जानुभएको छ । त्यसैले होला अहिले उहाँ तुच्छ गालीको सहारामा आफ्नो सत्ता रक्षाका लागि भगिरथ प्रयत्नमा लाग्नुभएको विश्लेषण गर्न थालिएको छ ।

आफ्नो गल्तिको रियलाइजेसन कहिल्यै नगर्ने ओली प्रवृत्ति अहिले राष्ट्रिय राजनीतिको मूल समस्या हो । आफूले जे गरे पनि ठीक ठान्ने अहंकारी सोचलाई अहिले राष्ट्रिय राजनीतिमा ओली प्रवृत्ति भनेर परिभाषित गरिएको छ । आफ्नो आलोचना गर्नेलाई जसरी पनि सिध्याउने उहाँको शैलीले अहंकारको परिचय पाएको हो । सत्ता जोगाउन जस्तोसुकै सम्झौता गर्न नपर्ने उहाँको राजनीतिलाई ओलिटिक्स भनिन्छ ।

माओवादीसँगको एकता,विशाल कम्युनिष्ट पार्टी,झण्डै दुईतिहाइ मत,आफ्नै नेतृत्वमा सरकार ओलीटिक्सको उपलब्धि भएको बल्ल प्रमाणित हुन थालेको छ । तर झण्डै दुई तिहाइ मतलाई खण्डित गराएर ९३ सांसदमा खुम्चिएपछि राजेन्द्र महतोसँग घाँटी जोड्नुचाहिँ ओलीटिक्सको चरम रुप हो ।

अब एकछिन ओलीटिक्सलाई छोडेर पोलिटिक्सको कुरा गरौँ । एमाले र माओवादीको एकतापछि शक्तिशाली नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बन्यो । त्यसले कार्यकर्ताको मात्र समर्थन लिएन जनअनुमोदन पनि पायो । कम्युनिष्ट सरकारले देश र जनताको पक्षमा काम गर्छ भन्ने अपेक्षासहित जनताको अमूल्य मत लिएर ओलीलाई सरकार बनाउने सुनौलो अवसर प्राप्त भयो । जनताले दिएको विश्वासको आधारमा ओलीको नेतृत्वमा सरकार बन्यो । राजनीतिक स्थिरता,स्थायित्व,सुशासन, विकास र सम्बृध्दिको नारा उरालेर हासिल गरेको जनमतको अहिले यसरी हुर्मत लिईंदैछ ।

एकीकरणताकाको सहमतिअनुसार पार्टीलाई अगाडि बढाउन ओली नै खलनायक बनेर निस्किएपछि एकता प्रक्रिया नै धरापमा पर्यो । सहमति कार्यान्वयनमा उदासीन ओली एकलौटी निर्णय गर्न थालेपछि नेकपाभित्रको आन्तरिक विवाद चुलियो । पार्टीमा आलोचना हुन थालेपछि अल्पमतमा पर्ने डरले पाँच वर्षे कार्यकालको झण्डै दुई वर्ष बाँकी छँदै गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेर देशलाई अन्योलताको बाटोतिर धकेलियो ।

प्रतिनिधिसभा विघटन असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले पुनःस्थापना गरिदिएपछि नेकपाभित्र ओलीको चर्को आलोचना भयो । पार्टी र राष्ट्र हितविपरित काम गरेको ठहर गर्दै नेकपाले ओलीलाई कारबाही गर्यो । यसबीच सर्वोच्च अदालतले नेकपाको एकता टुटाउँदै एमाले र माओवादीलाई पुरानै हैसियतमा फर्काइदिएपछि एमालेभित्रको अन्तरविरोध चुलिएको हो । अदालतको फैसलापछि माओवादी केन्द्र अलग भएर आफ्नै गतिविधि सञ्चालन गरिरहेको छ भने एमालेभित्र ओली र वरिष्ठ नेता नेपाल पक्षबीच अन्तरसंघर्ष चर्किएको छ ।

प्रधानमन्त्री ओलीको कारण उहाँको पार्टी मात्र हैन,मुलुकमा समेत अस्थिरता पैदा भएको छ । एकातिर कोरोना कहरले देश अप्ठेरोमा छ भने अर्कातिर राजनैतिक खिचातानीका कारण डाँवाडोलको अवस्थाछ । कोरोना महामारीले दैनिक सयौंको संख्यामा मानिसहरू बितिरहेका छन् भने हजारौं संक्रमित भइरहेका छन् । यो जटिल परिस्थितिलाई नियन्त्रणमा लिएर जनताको ज्यान जोगाउनेतर्फ सरकारको ध्यान जानु पर्ने हो । तर, विडम्वना ! प्रधानमन्त्रीलाई त्यसतर्फ सोच्ने फुर्सद छैन । बरु कुर्सीको खेलमा समीकरण मिलाउन भ्याइनभ्याइ छ ।

चुनावी गठबन्धन हुँदै दुई ठूला कम्युनिष्ट पार्टीहरू मिल्दा मुलुकले विकास र सम्बृध्दिको यात्रामा गति लिने आमअपेक्षा थियो । तर, जनताको अपेक्षामाथि तुषारापात हुनेगरी विगतमा राज्यविरुद्ध अभिव्यक्ति दिएका राजेन्द्र महतोहरूजस्ता अराजक जत्थालाई काखी च्यापेर सरकार जोगाउनुपर्ने अवस्थामा प्रधानमन्त्री पुग्नुभएको छ ।

टुट्फुट र गुटको राजनीतिले क्षणिक आनन्द मिले पनि त्यसले देश,जनता,एमाले र प्रधानमन्त्री स्वयमको हित गर्दैन । वर्षौंदेखिका आफ्नै सहयात्रीलाई पाखा लगाएर बनाइएको अपवित्र गठबन्धनले एमालेको गौरवशाली इतिहासलाई धुलिसात गराइदिन्छ ।

प्रधानमन्त्रीज्यू,अझै ओलीटिक्समा रमाएर अचाक्ली गालिगलौजमा उत्रिने कि सच्चा पोलिटिक्स गरेर वामपन्थी शक्तिको एकताका लागि पहल गर्ने ? इतिहासमा गौरवगाथा कोर्ने कि कलंकित पात्रको नाम लेखाउने ? सानो झुण्ड बोकेर ‘बा’ बन्न रमाउने कि आमशोषित, पीडित जनताको कमरेड हुने ? आगे यहाँकै मर्जी !

टिप्पणीहरू