दक्षिण अफ्रिकी पूर्व राष्ट्रपतिलाई जेल सजायँ

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपतिलाई जेल सजायँ

दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति ज्याकोब जुमा छानबिनमा सहयोग नगरेकाले अवहेलना मुद्दामा जेल जाने भएका छन् । उनीमाथि लागेको भ्रष्टाचारको आरोप छानबिनको लागि असहयोग गरेको आरोपमा त्यहाँको सर्वोच्च अदालतले १५ महिनाको जेल सजायँ तोकेको हो ।

९ वर्ष लामो कार्यकालमा उनीमाथि वित्तीय घोटालाका धेरै वटा आरोप लागेपछि अघि बढाइएको भ्रष्टाचार अनुसन्धानमा उपस्थित हुन गरिएको अनुरोधलाई उनले अस्वीकार गरेपछि अदालतले उक्त आदेश दिएको हो ।

आज अदालतमा उपस्थित नभएका जुमालाई पाँच दिनभित्र आफ्नो अवस्थाबारे नजिकैको प्रहरी कार्यालयमा जानकारी गराउन भनिएको छ । अन्यथा, पक्रेर थुनामा राख्न सक्ने अधिकार प्रहरीलाई दिइएको छ ।

त्यहाँको संवैधानिक अदालतको बहुमतको निर्णय सुनाउन न्यायाधीशलाई झण्डै एक घण्टा लागेको थियो । आदेशमा भनिएको छ ‘जुमाले भ्रष्टाचार अनुसन्धानमा असहयोग गरेका छन्,त्यो अदालतको अवहेलना हो ।’

जुमा पूर्वराष्ट्रपति तथा रंगभेद विरोधी स्वर्गीय नेता नेल्सन मण्डेलाका मित्रसमेत हुन् । उनी सन् २००९ देखि सन् २०१८ सम्म त्यहाँको राष्ट्रपति थिए । उनी अफ्रिकी नेशनल काँग्रेस पार्टीका पनि वरिष्ठ नेता थिए ।

टिप्पणीहरू