भद्रगोल छ हजुर भद्रगोल

कस्तो समस्या ! मन्त्रीको कुर्सीमा गएर कर्मचारी बस्न नमिल्ने । विभागीय मन्त्रीले कार्यालयमा खुट्टै नटेकिदिने । मन्त्री कार्यकक्षमा नआइदिँदा उनको कुर्सीमा धुलो जमिसक्यो । कर्मचारीलाई धुलो झार्दाको हैरान । एक साता, दुई साता होइन विभागीय मन्त्रीले मन्त्रालयमा पाइला नटेकेको हिजोबाट ९४ दिन पुग्यो ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएको तीन महिना चार दिन पूरा भएको छ । उनको मातहतमा  पशुपन्छी विकास,खानेपानी,विज्ञान तथा प्रविधि र महिला, बालबालिका तथा समाज कल्याणसहित चारवटा मन्त्रालय छन् । यिनै विभागीय मन्त्री प्रचण्डले अहिलेसम्म यी कुनै मन्त्रालयमा पाइला टेकेका छैनन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको समयमा स्थापित पशुपन्छी विकास मन्त्रालयमा अहिले कृषि मन्त्रालयबाट उत्तमकुमार भट्टराईलाई सचिवको रुपमा पठाइएको छ । त्यहाँ मन्त्रीको सचिवालय पनि खडा छ । एक अधिकृत र दुई सहायक स्तरको कर्मचारी छन् । मन्त्रालय स्रोतका अनुसार कुनै फाइलमा मन्त्रीको दस्तखत चाहियो भने कि त कर्मचारी कुद्दै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पुग्छन वा बालुवाटार ।

त्यस्तै हालत छ, खानेपानी मन्त्रालयको । त्यहाँ पनि विभागीय मन्त्री प्रचण्डले अहिलेसम्म  पाइला टेकेका छैनन् । मन्त्रालय स्रोतका अनुसार मन्त्रीको सचिवालयमा २ जना अधिकृत खटिएका छन । मन्त्रालयका कर्मचारीले पीडा सुनाउँदै जनआस्थासँग भने, प्रधानमन्त्रीज्यूको  हस्ताक्षर गराउनुपर्ने केही फाइल छन् भने बालुवाटारतिरै दौडनुपर्छ ।

उस्तै पीडामा छन् विज्ञान मन्त्रालयका कर्मचारी । त्यहाँ अहिले खानी विभागका महानिर्देशक सर्वजीत महतोलाई सचिवको रुपमा तानिएको छ । मन्त्रालयका महŒवपूर्ण निर्णयहरुमा हस्ताक्षर गराउन मन्त्रीको फुर्सद नजुर्दा दर्जनौं फाइल घर्रामै थन्किएका छन् ।

उता, श्रम मन्त्रालयबाट समाज कल्याण मन्त्रालयमा तानिएका सचिव विष्णु लम्सालको पीडा पनि उस्तै छ । त्यहाँ पनि एक उपसचिव, एक अधिकृत र एक कम्प्युटर अधिकृत मन्त्रीको निजी सचिवालयमा खटिएका छन् तर  विभागीय मन्त्रीले मन्त्रालयमा पाइला टेक्दा महत्वपूर्ण कामहरु प्रभावित हुँदै आएका छन् ।

टिप्पणीहरू