कीर्तिपुरमा भीसी र विद्यार्थीको दह्रो टक्कर

कीर्तिपुरमा भीसी र विद्यार्थीको दह्रो टक्कर

त्रिभुवन विश्वविद्यालयले गरेको शुल्कबृद्धिका विरुध्द आन्दोलन गरिरहेको विद्यार्थी संघर्ष समितिले आज विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बाँस्कोटालाई ज्ञापनपत्र बुझाएको छ ।

शुल्क बृद्धि फिर्ता लिन तथा एमफिल र पिएचडीलगायतका अनुसन्धानात्मक कार्य नि:शुल्क गर्न माग गर्दै संघर्ष समितिले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउनुअघि विद्यार्थीहरुले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको घडी भवन अगाडिबाट प्लेकार्ड र ब्यानरसहित नाराबाजी गरेका थिए ।

प्रदर्शनमा संघर्ष समितिमा रहेका अखिल क्रान्तिकारी (बैध्य समूह)का केन्द्रीय सदस्य संघर्ष दाहाल,नेकपा एमालेको माधव नेपालनिकट अनेरास्ववियुका केन्द्रीय सदस्य तथा त्रिविवि ईकाईका अध्यक्ष प्रेम विश्ववकर्मा,मनिषा कार्की,नेकपा (विप्लव समूह) त्रिविवि ईकाईका सदस्य प्रेम चलाउने लगायत ३०/४० जनाको सहभागिता थियो ।प्रदर्शनकारी विद्यार्थीहरुले ‘विश्वविद्यालयलाई ज्ञान उत्पादनको थलो बनाऊ, ब्यापारको थलो होइन’, ‘राज्यको लगानीमा उच्च शिक्षाको सुनिश्चितता गर’, ‘त्रिविमा शिक्षाको व्यापार बन्द गर’, ‘एमफिएल, पिएचडीमा लगानी गर’, ‘शैक्षिक माफिया बन्द गर’, ‘नि:शुल्क, अनिवार्य र बैज्ञानिक शिक्षा लागू गर’, ‘शैक्षिक माफिया होशियार’, ‘शैक्षिक दलाल होशियार’, ‘हाम्रो आन्दोलन जारी छ’, ‘भ्रष्ट भीसी मूर्दावाद’, भ्रष्ट भीसी राजिनामा दे’, ‘भ्रष्ट कर्मचारी मूर्दावाद’, ‘भ्रष्टहरु होशियार’ लेखिएका प्लेकार्डसहित नारावाजी गरेका थिए ।

भीसी कार्यालयअगाडि नारावाजी गरिरहेका प्रदर्शनकारीहरुले उपकुलपति बाँस्कोटालाई कार्यालय प्रवेशमा रोक लगाउन खोज्दा प्रहरीले गेटमै रोकेको थियो । उक्त टोलीले १४: ३५ वजे उपकुलपतिलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझाउँदै विद्यार्थीहरुले प्रत्येक विद्यार्थीले ८० हजारका दरले तिरेको शुल्कमध्ये १५ प्रतिशत डिन कार्यालय र १० प्रतिशत भीसी कार्यालयमा जाने गरेकोमा असन्तुष्टि जनाएका थिए । साथै ललितकला क्याम्पसलाई उपेक्षा गरेर काठमाडौँमा मात्र एकीकृत गर्न नहुने, ललितकला विधामा बजेट बढाउनु पर्ने,हालैको भर्ना स्थगन गर्नुपर्ने उनीहरुको माग छ ।ज्ञापनपत्र बुझ्दै उपकुलपति बाँस्कोटाले विद्यार्थीको जायज माग सम्बोधन गर्न तयार रहेको र त्यसका लागि अनुसन्धान टोली गठन गरिएको बताएका थिए । सो क्रममा उनले बजेटको अधिकतम रकम तलवमै खर्च हुने भएकोले अनुसन्धानमा अप्ठेरो परेको बताए ।हाल ९ करोड अनुसन्धानका लागि छुट्याएकोले केही सहज हुने उनले विश्वास लिए ।

उनले त्रिविको सिनेटमार्फत राज्यको आवश्यकताअनुसार सीपमूलक शिक्षामा ध्यान दिँदै पाठ्यक्रम पुनरावलोकन गराउन आफू सकारात्मक रहेको प्रष्ट पारे । प्राध्यापकहरुको दक्षता अभिबृध्दि गर्दै शिक्षा क्षेत्रमा परिवर्तनको आभाष दिलाउन प्रयास गर्ने प्रतिवद्धता पनि उनले गरे ।

सो क्रममा उपकुलपति बाँस्कोटाले आईटी र ईन्जिनियर पढ्नेका लागि ३० एमबिपिएसको नि:शुल्क नेट संचालन गर्ने, त्रिविविमा पाँच वटा व्याण्ड राख्ने, सफ्टवयर संचालन गरी रिसर्चका लागि तयारी भैरहेको, भारतको सेन्ट्रल लाईब्रेरीको सहयोगमा ईलाईब्रेरी एक्सिस हालै पाएकाले विद्यार्थीलाई सहज हुने बताएका थिए ।

उनले पिएचडी र एमफिलको कोटा बृधि गर्ने पनि प्रतिवद्धता जनाए । अनुसन्धानका लागि एकीकृत ल्याबको स्थापना गर्ने, शुल्क घटाउने र भागवण्डा विषयमा खोजी गर्ने भन्दै उनले विद्यार्थीहरुलाई आश्वस्त परेका थिए ।

टिप्पणीहरू