लन्ठुहरू उचाल्छन् लोकमानलाई

निलम्बन भएकै दिनदेखि टंगालस्थित अख्तियार कार्यालयकै पछाडि सरकारी आवासमा बस्दै गरेका लोकमानसिंह कार्कीलाई आजभोलि नै आफ्नै कार्यकक्षमा दिन बिताउन पठाउने खेल शुरु भएको छ । उनीविरुद्धको महाभियोग प्रस्ताव संसदभित्र प्रक्रियामा प्रवेश गरिसकेको छ । सर्वोच्च अदालतमा केही मुद्दा चलिरहेका छन् । क्यानाडाबाट फर्किएर काठमाडौं ओर्लिनासाथ संसदमा महाभियोग दर्ता भई स्वतः निलम्बित उनले त्यही दिनदेखि कार्यालय टेकेका छैनन् । तर, उनको निवासमा बिहान–बिहानै झुरुप्प भेला हुनेहरु अस्ति सोमबार विहान पनि भन्दै थिए, ‘अफिस त जानैपर्छ ।’

निलम्बित अवस्थामा कार्यालयका नियमित काम गर्न पाइँदैन । हाजिर मात्र गर्न भए पनि कार्यकक्षमा नगई हुन्न हजुर भन्दै हनुमानहरुले उनलाई उचालेका छन् । अख्तियारले केही लोकमाननिकटस्थका मुद्दा अगाडि बढाउने सुर कसेपछि उनले आयुक्त राजनारायण पाठक र कानुन विज्ञबाट हटाइएका वकिलहरुको सल्लाह बढी नै सुन्न थालेका छन् । जेजस्तो भए पनि सशरीर उपस्थित भइसकेपछि आफूनिकटस्थका मुद्दा अघि बढाउने विषयमा कर्मचारीहरु हच्किने कारण यस्तो गर्न लागेको बताइन्छ । कान्छा ज्वाइँको आफन्त पर्नाले एन्फा पूर्वअध्यक्ष गणेश थापाविरुद्ध विदेशी मुद्रासम्बन्धी नेपाल राष्ट्र बैंकमा रहेको मुद्दामा जबरजस्ती सफाई दिने निर्णय सच्याएर उक्त मुद्दा राष्ट्रबैंकलाई नै फिर्ता पठाउने तयारीको सुइँको पाउनासाथ यसरी आसेपासेहरू सल्बलाएका हुन् ।

लोकमान निवासमा हिजोआज पनि एकाविहानै विज्ञबाट हटाइएका गोबद्र्धन श्रेष्ठहरुको ताँती झुम्मिने गरेको छ । गोबद्र्धन त लोकमानलाई ‘बुबा, दर्शन’ भन्दै निहुरमुन्टी लगाएर पुग्ने गर्दछन् । जबकि उनी लोकमानभन्दा चार वर्षले जेठा हुन्, तर बुबा भन्छन् । कारण हो, लोकमानको दाइ जगतबन्धुकी छोरीसँग भाइटीका लगाउने † त्यसबाहेक मेडिकल विज्ञबाट निकालिएकी जेठी छोरी डा.आध्या पनि सुवाशिषसँगै बिहानै पुग्छिन् । कान्छो ज्वाइँ प्रवल थापाचाहिँ ‘मामा (गणेश थापा) लाई दीप बस्न्यातले डुबाउन लाग्यो’ भन्दै पुग्ने गरेका छन् ।
लोकमानको सचिवालयमा कार्यरत १२ मध्ये १० प्रहरी हेडक्वार्टर फिर्ता पठाइएका छन् । तर, अझै पनि केही प्रहरी विभिन्न महाशाखामा काम गरिरहेका छन् । मुद्दाको अभियोजन तथा अनुसन्धान प्रक्रियाका लागि प्रत्येक महाशाखामा सातदेखि १० जनाका दरले प्रहरी खटाइएका थिए । तर, अब सरकारी वकिल समूहबाट गएका उपसचिव र शाखा अधिकृतमध्येबाट अनुसन्धान अधिकृत तोक्ने र त्यस प्रक्रियामा कानुन समूहका कर्मचारीमात्र राख्ने कागजी काम सकिन लागेको छ । अहिले अख्तियारभित्रै कानुन समूहका सात जना सहसचिव (सहन्यायाधिवक्ता) छन् । तर, लोकमान बाहिरका वकिलबाट मुद्दामा बहस गराउँथे । यो क्रम बन्द गरेर प्रत्येक बहस सरकारी वकिलबाटै गराउने गरी वकिल तोक्ने कामको जिम्मा सहन्यायाधिवक्ताहरुलाई दिन लागिएको हो । यस्तो स्थितिमा विगतमा दर्ता भएपछि मोलाहिजा गर्दै गुपचुप राखिएका कतिपय फाइल खुल्ने भएको छ ।
उता, डिस्कोबाट निस्कँदा दरबारमार्गमा गाडी दुर्घटनामा परेको विषयमा लोकमान निलम्बनपछि पनि बडिगार्ड दानबहादुर थापाले ‘किन कुरा बाहिर लगिस्’ भन्दै इञ्जिनियर दीपक देवकोटालाई थर्काएको बताइन्छ । उनले दुर्घटना गराएको बा.१२च ९५५९ नम्बरको स्यान्ट्रो गाडी मर्मत गर्नमा देवकोटा सक्रिय थिए । ठमेलस्थित होटल मस्र्याङ्दीअगाडिको सिएनआई क्लब (डिस्को) मा दशैंको मुखमा बबाल भएपछि त्यहाँबाट निस्कने क्रममा दानबहादुरको गाडी दुर्घटनामा परेको थियो ।

युटर्न

निलम्बनपछि लोकमानसँग नियमित भेटिरहने एकमात्र राजनीतिक व्यक्ति हुन्, लैनचौरका दूत तथा सांसद अमरेशकुमार सिंह । उनी टंगालस्थित सरकारी निवासमै जान्छन् र गोप्यमा कुरा गर्न थाल्छन् । उनले भारतीय च्यानल मिलाएको बताउने गरेका छन् र राजदूतलाई आफ्नो मोबाइलबाट नम्बर डायल गराई लोकमानसँग कुरा गराउने गरेका छन् । कांग्रेसमा महाभियोग पक्षधरको बहुमत हुँदा पनि पार्टीले निर्णय लिन नसक्नुमा आफ्नो भूमिका रहेको दावी गर्ने गरेका छन् । र, फर्किने बेलामा पैसा लिएर जान्छन् । बहाना हो, ‘फलानोलाई डिनर खुवाउँदा, चिलानोलाई प्लेन चढाउँदा…!’

शंकैशंका

उता, लोकमानकै निर्देशनमा माओवादी लडाकु शिविरको अनियमितता छानवीनसम्बन्धी फाइल बोकेर केही नेतालाई बयानका लागि बोलाउन ठिक्क परेका अनुसन्धान अधिकृत गोविन्द श्रेष्ठ अहिले ‘रुनु न हाँस्नु’ को अवस्थामा छन् । एमाले र माओवादीका नेतालाई बयानमा बोलाउने र पक्राउनेसम्मको योजना चुहाएको भन्दै लोकमान निकटस्थले चुक्ली लगाएपछि यो अवस्थामा पुगेका हुन् । १८ वर्षदेखि अख्तियारमा छन् । खुमबहादुर खड्का, जयप्रकाशप्रसाद गुप्ता, चिरञ्जीवी वाग्लेसमेतको मुद्दामा काम गरेका उनलाई लोकमानले क्यानाडाबाट फर्किनासाथ लडाकु शिविर र केही एमाले नेताका मुद्दा अगाडि बढाउने बताएका रहेछन् ।

अर्को शंकाको पात्र बनेका छन्, सहसचिव (प्रवक्ता) गणेशराज कार्की । लोकमानका खास मान्छेको रुपमा मोरङको सिडिओबाट सोझै अख्तियार सरुवा भएका हुन् । दोस्रो संविधानसभा निर्वाचन अघिदेखि गणेश त्यहाँको सिडिओ थिए । चुनावपछि बनेको सरकारले देशभरका सिडिओ सरुवा गर्दा उनी त्यसमा परेनन् । कारण हो, लोकमानको दबाब । तर, अहिले लोकमानको गाली खान थालेका छन्, उनैले । उनले प्रवक्ताकै हैसियतले लोकमानले गर्ने भनी प्रचारित केही काम हल्लाका लागि मात्र भएको अभिव्यक्ति दिएपछि ‘बिगार्ने त यही साले रहेछ’ भन्दै लोकमान पड्किन थालेका हुन् । कार्की भए पनि लोकमानका नातेदार हैनन् । लोकमानहरु धनकुटाबाट मोरङ, हसन्दह झरेका, गणेशहरु ओखलढुंगाबाट सुनसरी, मधेसा झरेका हुन् ।

स्वाभाविकै हो, निलम्बनयता लोकमानको रक्तचाप नियन्त्रण गर्ने औषधीको सेवन मात्र बढेको छैन, पिएपछि घरी–घरी पूर्वन्यायाधीश गिरिशचन्द्रको नाम लिने गरेका छन् । कारण रहेछ– नैतिकताको प्रश्न गरेर प्रमुख आयुक्तमा नियुक्तिपूर्व परेको एउटा रिटमा सुशीला कार्कीले अन्तरिम आदेश जारी गर्दा नियुक्ति प्रक्रिया अवरुद्ध भयो । पछि अनेकन तारतम्य मिलाएर न्यायाधीश गिरिशको बेञ्चले अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु नपर्ने भनेपछि प्रक्रिया अघि बढ्यो । यत्रो गुनको बदलामा लोकमानले उनैका भाइ रतिशचन्द्रलाल सुमनलाई एउटा बनावटी मुद्दामा सिध्याइदिए । नागरिक उड्डयन प्राधिकरणको तर्फबाट नेपाल पर्यटन बोर्डको पदेन सदस्यको रूपमा भत्ता मात्रै खाने गरी बैठकमा उपस्थित भएबापत उनी जागिरबाट रिटायर्ड हुन एक महिना बाँकी हुँदा गलहत्याइए । भाइलाई समस्या परेपछि गिरिशचन्द्रले लोकमानलाई भने । तर, लोकमानले सुनेको नसुन्यै गरी मुद्दा चलाएरै छाडे ।

टिप्पणीहरू