आफैँं बिरामी छ इलाम अस्पताल

इलाम अस्पताललाई १५ शय्याबाट स्तरबृद्धि गरेर ५० बनाइएको वर्षौं बित्यो । तर, अस्पतालको स्तरोन्नति कागजमा मात्र सीमित छ । थोरै स्वास्थ्य उपकरण छन् तर जनशक्ति अभावमा माकुराले जालो लगाइरहेको छ । जनशक्ति र सामग्रीकै अभावमा अस्पतालले सेवा दिन नसकेपछि इलामका हेभीवेट नेताहरू झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङसँग जिल्लाबासीले बेला बेला आक्रोश पोख्दै आएका छन् ।

डाइलासिस मेसिन थन्कियो

रोटरी क्लब र इलाम नगरपालिकाले खरिद गरेर दिएको महँगो चार थान मेसिन सञ्चालन हुन नसक्दा इलाम, पाँचथर र ताप्लेजुङका मिर्गाैला रोगीले डाइलासिस सेवाबाट वञ्चित हुनुपरेको छ ।

इलाम नगरपालिका र रोटरी क्लब धरानले ६ महिनाअघि इलाम अस्पताललाई मेसिन हस्तान्तरण गरेका हुन् । डायलासिस सञ्चालन गर्न इलाम नगरपालिकाले एक जना नर्सको व्यवस्था गरिदिएको छ । एक जना स्वास्थ्यकर्मीलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम पनि दिइएको हो । तर, उनीहरूले अन्तै काम गरिरहेका छन् । डायलासिस मेसिन त्यसै थन्क्याएर राखिएको छ ।

इलाम नगरपालिकाको १५ लाख र रोटरी क्लबको ४५ लाख रुपैयाँ गरी ६० लाख बराबरको स्वास्थ्य उपकरणबाट बिरामीले सेवा लिन सकिरहेका छैनन् । जनशक्ति नभएको र तालिमसमेत पूरा नभएकाले डाइलासिस सेवा दिन नसकिएको अस्पताल प्रमुख डा. प्रभू साह बताउँछन् । यता अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले भने उपकरण चलाउनका लागि दुई जना स्वास्थ्यकर्मीले तालिम लिएको तर कोभिडका कारण सञ्चालनमा आउन नसकेको बताए ।

करुणा फाउण्डेसनले अस्पताललाई दिएको झण्डै सात लाख बराबरको क्रायो थेरापी मेसिन पनि प्रयोगमा आउन सकेको छैन । महिलाको पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक उपचारका लागि प्रयोग हुने क्रायो मेसिन दुई वर्षअघि नै हस्तान्तरण भएको हो । ‘यो मेसिन ठूलो ठाउँमा मात्र चल्छ । यहाँ यसको काम छैन ।’ डा. साहले भने, ‘बरु उपयोग हुने ठाउँलाई दिए हुन्छ ।’

अक्सिजन प्लान्ट पनि अनिश्चित

सरकारले भर्खरै इलामसहित पूर्वका ताप्लेजुङ, धनकुटा, तेह्रथुम, खोटाङ, खोलुखुम्बुका अस्पताललाई अक्सिजन प्लान्ट राख्न ७५ लाखको दरले बजेट विनियोजन ग¥यो । स्वास्थ्य उपकरणको अभाव झेलिरहेको इलाममा ७५ लाखको अक्सिजन प्लान्ट बन्ने कुराले जिल्लावासीलाई निकै उत्साहित बनायो । जिल्लाका हेभीवेट खनाल र नेम्वाङ्गका कार्यकर्ता बीच त आफ्नो नेताको पहलमा रकम विनियोजन भएको हो भनेर प्रचारयुद्ध नै चल्यो ।

तर, अहिलेसम्म प्लान्ट राख्ने प्रक्रिया अघि बढ्न सकेको छैन । आर्थिक वर्षको अन्त्यमा विनियोजन भएको यो रकम फ्रिज भएर जाने सम्भावना बढी देखिन्छ । खरिद प्रक्रिया लामो हुने भए पनि अहिलेसम्म शुरु नभएकाले प्लान्ट बन्ने निश्चित छैन । बजेट विनियोजन भए पनि स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालय प्रदेश नं. १ ले टेण्डर खोल्नका लागि आवश्यक पर्ने दर रेट दिन नसक्दा प्रक्रिया अघि बढाउन नसकिएको अस्पतालले जनाएको छ ।
दरबन्दी १४, हाल कार्यरत एक जना

इलाम अस्पतालको मुख्य समस्या भने जनशक्ति अभाव हो ।स्तरवृद्धि गरिएपछि यहाँ विशेषज्ञसहित १४ जना डाक्टर र ५९ स्वास्थ्यकर्मीको दरबन्दी छ । तर, स्थायी डाक्टर भने एक जना मात्र छ । स्त्रीरोग विशेषज्ञ डा. प्रभू साह मात्र स्थायी दरबन्दीका डाक्टर हुन् । करार छात्रवृत्तिका सात जना छन् । बाँकी दरबन्दी खाली छ । यसरी नै २७ जना स्वास्थ्यकर्मी मात्र कार्यरत छन् । दरबन्दीअनुसार जनशक्ति माग गरेर पत्राचार गरे पनि हालसम्म नपठाइएको डा. साहले बताए ।

– सटेन्द्र जबेगुबाट

टिप्पणीहरू