कोरोनाको डेल्टा भेरियण्टले अष्ट्रेलियादेखि रुससम्म तहल्का मच्चाउँदै

कोरोनाको डेल्टा भेरियण्टले अष्ट्रेलियादेखि रुससम्म तहल्का मच्चाउँदै

कोरोना रोकथामको लागि लगाइएको निषेधाज्ञा नेपालमा अहिले खुकुलो बनाइएको छ । आजदेखि सार्वजनिक यातायात समेत आंशिक खुल्ला गरिएको छ ।

तर छिमेकी मुलुक बंगलादेशसहित विश्वका ८५ वटा मुलुकमा कोरोना भाइरसको नयाँ भेरियण्ट डेल्टाले तहल्का मच्चाउन थालेको बताइन्छ । पछिल्लो दिनमा अष्ट्रेलिया, रुससहित बंगलादेशमा डेल्टा भेरियन्टका कारण कोरोना संक्रमणको तीब्र रुप देखिन थालेको हो ।

अस्ट्रेलियाको सिड्नीमा एकैपटक डेल्टा भेरियण्टसँग सम्बन्धित १ सय २८ जना संक्रमित भेटिएपछि विश्वभर नयाँ तरङ्ग शुरु भएको हो । अष्ट्रेलियामा धेरै महिनापछि एकैचोटी थुप्रै शहरमा संक्रमित देखिएको यो पहिलो घटना भएको बताइएको छ । बढ्दो संक्रमणका कारण सिड्नीमा ९ जुलाईसम्म लकडाउन घोषणा गरिएको छ ।

रुसमा संक्रमित र मृतक संख्या दुबैमा अस्वाभाविक वृद्धि भइरहेको छ । २० जुनयता रुसमा कोरोना संक्रमणका कारण ३ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ । अहिले रुसमा १ लाख ३२ हजार नयाँ संक्रमित भेटिएका छन् । यसरी एकाएक कोरोना संक्रमण बढ्नुमा सरकारी अधिकारीहरुले डेल्टा भेरियण्टलाई दोष दिएका छन् ।

बंगलादेशमा पनि कोरोनाको कहर लगातार बढेको छ । डेल्टा भेरियण्ट केसहरूमा ‘खतरनाक र डरलाग्दो’ वृद्धिका कारण सोमबारबाट त्यहाँ पनि राष्ट्रव्यापी कडा लकडाउन घोषणा गरिएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले विश्वका ८५ देशमा डेल्टा भेरियण्ट देखिएको बताएको छ । उसले भनेको छ ‘हालको अवस्था जारी रहेमा यो पनि कोभिड १९ को नयाँ र खतरनाक भेरियण्ट हुनसक्छ ।’

टिप्पणीहरू