कस्तालाई अब केन्द्रमा लाने कमरेड ?

कस्तालाई अब केन्द्रमा लाने कमरेड ?

– बिदुर खड्का

माओवादीले केन्द्रीय समितिमा २० प्रतिशत ४० वर्ष उमेरवरिपरिका युवालाई प्रवेश गराउने नीति बनाएको छ । यो विषय समेटिएको विधान बनाउने काम लगभग सकिएको छ । नेपाली राजनीतिमा ६५ देखि ८० वर्ष वरिपरिका बयोबृद्ध नेताले पार्टीको नेतृत्व गर्ने र त्यसैको हाराहारी उमेरका केन्द्रीय सदस्य हुने परम्परा छ । एकपटक केन्द्रीय सदस्य भएपछि नमरुन्जेल छाड्नु हुँदैन भन्ने संस्कार छ ।

नेपालका दलहरु र तिनका पदाधिकारीमा वयोवृद्धहरूको एकाधिकार छ । यदाकदा केही युवाले केन्द्र र पदाधिकारीमा पनि प्रवेश पाएको त देखिन्छ तर त्यहाँ उनीहरू हस्तक्षेपकारी भूमिकामा भन्दा पनि डोमिनेन्ट सदस्यका रुपमा निरीह भएर बस्नुपर्ने अवस्थामा हुन्छन् । जस्तो गगन थापा, योगेश भट्टराई र लेखनाथ न्यौपाने ।

पार्टी विचार र विधिअनुसार चल्नुपर्छ भन्ने कम्युनिष्ट पार्टीको मान्यता हुन्छ । राजनीतिक उद्देश्यअनुसारको वैचारिक स्पष्टता र वैचारिक अवधारणाअनुसार विधान र कार्यक्रम बन्ने गर्छन् । तर, नेपालमा कम्युनिष्ट पार्टीका धेरै नेताले माक्र्सवादी सिद्धान्तको जतिसुकै व्याख्या गरे पनि नेपाली सापेक्षतामा त्यसलाई लागु गर्ने सन्दर्भमा छेउटुप्पै मिलाउन सक्दैनन् । समयसापेक्ष विचारको विकास गर्ने भनिएता पनि आफूअनुकुल हुँदा क्रान्तिकारी, नत्र दक्षिणपन्थी संशोधनवादी भनेर छाला काढ्ने चलन छ । त्यसो हुँदा विचार र व्यवहारमा तालमेल मिल्दैन । यसले मनलागेको काम लुकेर गर्नुपर्ने बाध्यता सिर्जना हुन्छ । त्यसैले त उनीहरूलाई कम्बल ओढेर घ्यू खाने जात भन्ने आरोप लाग्ने गरेको छ । बूढा नेताहरू पार्टी र राज्यको सत्तामा रहिरहन विभिन्न बहाना बनाउँदै विधानलाई आफूअनुकूल बनाउँछन् र सत्तावरिपरि घुमिरहन्छन् । यस्तोमा विधिअनुसार पार्टी चल्नुको पनि के अर्थ ? जब विधिले नै उनीहरूलाई त्यसै गर्न छुट दिएको हुन्छ ।

नेतृत्व कसैले दिने वा बनाउनेभन्दा पनि आन्दोलनबाट विकास हुने कुरा हो । जस्तोः मोहनविक्रम सिंह, निर्मल लामाहरूलाई क्रस गरेरै प्रचण्ड, प्रकाशहरू नेतृत्वमा आउन सफल भएका हुन् । यसमा किरणले प्रचण्डजस्तो भरभराउँदो युवालाई सहज तरिकाले नेतृत्व हस्तान्तरण गरेको घटना पनि चाखपूर्ण नै छ । तर, सेक्टर काण्डले उनीहरूलाई त्यो ठाउँमा घचेटेको थियो । यद्यपि, सिपी गजुरेललगायतको त्यसमा आपत्ति कायमै थियो । उनी जुनियर प्रचण्डलाई सहजै नेतृत्व स्वीकार्न तयार थिएनन् । अहिले उनी पार्टीबाहिर बस्नु पनि त्यही घटनाको प्रतिविम्ब हो भन्ने गरिन्छ । विचार, भिजन, योजना, कार्यकुशलता, बाचाल, वाकपटुता, चातुर्य, निर्णय क्षमताजस्ता गुणले नेतृत्वलाई सफल वा असफल बनाउँछन् । सापेक्षित रुपमा प्रचण्डमा त्यो क्षमता बढी भएका कारण अन्यको तुलनामा उनलाई सफल मानिन्छ । यद्यपि, पार्टी सञ्चालनमा पछिल्ला दिन उनमा आत्मविश्वासको अभाव रहेको प्रष्टै देखिन्छ । त्यो कमी भर्न उनी पार्टीमा नेतृत्व क्षमता भएका युवालाई केन्द्रीय समितिमा तान्न चाहन्छन् भन्ने बुझिन्छ ।

३५ वर्षको उमेरमा पार्टीको महामन्त्री सम्हालेका प्रचण्डले अहिले ३५–४१ वर्ष उमेरका युवालाई माथि लैजाने मनसाय बनाएका छन् । यो उनको सकारात्मक र दीर्घकालीन सोंच हो । यसले उनी युवालाई माथि ल्याएर प्रतिस्पर्धा गराई नेतृत्व हस्तान्तरण गर्ने मनस्थितिमा छन् भन्ने सहजै बुझ्न सकिन्छ । सोहीअनुसार पार्टीभित्र क्षमतावान युवाको छानबिन हुन थालेको देखिन्छ । पार्टी कस्तो बन्छ ? अबको राजनीतिक भ्याकुमलाई भर्न सक्ने, जनताको भावना र आवश्यकतालाई संबोधन गर्न सक्ने, जनताको विश्वास जितेर ‘हो, यस्तो हुनुपर्छ पार्टी भनेको’ भन्ने आमप्रतिक्रिया ल्याउन सक्ने पार्टी बन्छ कि बन्दैन ? भन्ने छनोट गरेर केन्द्रमा कस्ता युवा लगिन्छन् भन्ने कुराले निर्धारण गर्नेछ ।

हामीले विगतमा देखेका छौं, केन्द्रमा नेतैपिच्छेका गुटा, उपगुट र विचार समूह हुन्थे, छन् । एउटा गुटले अर्को गुटको छाला काढेर सार्वजनिक हुर्मत लिन्थ्यो । एकले अर्कोलाई निषेध गरेर, सिध्याएरै छाड्ने परम्परा थियो र छ । तिनै गुटको नेतृत्व गर्ने नेताहरू अहिले पनि युवा छानेर सिफारिस गर्ने वा निर्णय गर्ने ठाउँमा छन् । केही मान्छे आफूवरिपरि केन्द्रिकृत गरेर, ताली पड्काउन लगाएर, फेसबुकमा जयजयकार लेख्न लगाएर, मसँग ठूलै शक्ति छ भन्ने देखाएर प्रचण्डसँग बार्गेनिङ गर्ने र सधैंभरि सत्तामा टाँसिइरहने परम्परा सबैले देखिरहेकै हो । अहिले पनि तिनै नेताज्यूहरू निर्णय गर्ने ठाउँमा छन् । उनीहरूले नै गरेको निर्णयलाई मान्नै पर्ने ठाउँमा पार्टीका युवा छन् । यो परिदृश्यले कस्ता र कसका युवा केके आधारमा केन्द्रीय समितिमा सिफारिस होलान् भनेर अनुमान लगाउन सकिन्छ ।

राजनीतिमा पार्टीको वा सरकारको सत्तामा टिकिरहन शक्ति सञ्चय गरिरहनुपर्छ भन्ने गहिरो ज्ञान भएका मझौला उमेरका नेताको अहिले पनि राम्रो होल्ड छ । यो एकखाले रोग हो । यसले सही–गलत छुट्ट्याउन सक्दैन वा दिँदैन । यसले सही वा गलतको आधारमा भन्दा पनि मेरो कि उसको भन्ने नजरबाट, आफूले परिचालन गर्न सक्ने हो कि अरूले सञ्चालन गर्ने खालको हो भन्ने नजरबाट मूल्यांकन गरेर छनोट गरिने सम्भावना धेरै छ । यसरी युवालाई केन्द्रमा लाने विषय पनि मझौला नेताबीच शक्ति र गुटबन्दीकै नयाँ स्वरुपको संघर्षका रुपमा पटाक्षेप हुने सम्भावना देखिन्छ । यसले क्षमतावान युवा छुट्ने र गुटको गानाबजान गर्ने लम्पट युवा केन्द्रीय सदस्यमा तानिने सम्भावना पनि उत्तिकै छ ।

माओवादी पार्टीमा युवाको कमी छैन । एक से एक क्षमतावान युवा नेतत्वको लाइनमा छन् । सदस्यहरूबाट चुनिने विधिको अझै अभ्यास हुन नसकेका कारण नेताहरूबाटै छानिएर माथि पुग्ने चलन छ । युद्धकालमा त्यो ठीकै थियो भनेर जस्टिफाई गर्न सकिन्छ तर संसदीय राजनीतिमा यसरी तानेर नेता बनाउने कुरालाई राम्रो तरिका मानिँदैन । नयाँ विधानले माओवादी पार्टीलाई छिट्टै सदस्यहरूबाट चुनिने संगठनको पार्टी बनाउला ।

विचारमा, विधिमा, नीतिमा योजनामा बहस गर्न सक्ने, प्रगतिशील भिजन दिन सक्ने र राम्रो कार्यकुशलता भएको युवालाई नेतृत्वमा नल्याएर भोलिका दिनमा त्यसले निर्वाचन क्षेत्रबाट वा पार्टीबाट हामीलाई विस्थापित गर्छ कि भन्ठान्दै यस्तालाई छाडेर कमजोर क्षमता र लगानीका फाइफुइँ मात्रै गर्ने युवालाई नेतृत्वमा हुक गर्ने जुन आशंका छ, त्यसको निवारण हुनेगरी नेतृत्वले काम गर्न जरुरी छ । पार्टीमा लामो समय योगदान गरेका, पाएको जिम्मेदारी पूरा गरेका, क्षमता भएका तर उचित स्थान नपाएर क्षमता देखाउन नपाएका युवालाई छाडेर नयाँका नाममा चर्चामा रमाउने, दुईचारवटा पपुलिष्ट काम गरेर मिडियामा छाएका, माक्र्सवादको आधारभूत ज्ञानसमेत नभएका, पैसावाल छ भन्दैमा यस्तालाई केन्द्रीय समितिमा लगियो भने इमानदारीपूर्वक पालो कुरेर बसेका युवाको मन दुख्नेछ । फ्रष्टेशन आउनेछ र त्यो पंक्ति या त पलायन हुनेछ या त हतोत्साही ।

ठोकुवा गरेर भन्न सकिन्छ, १४/१५ वर्षको उमेरदेखि कम्युनिष्ट आन्दोलनमा यो वा त्यो रुपले लागेको ४०/४२ वर्ष उमेरका युवा नै अबको नयाँ ढंगको पार्टी निर्माणका लागि मुख्य सञ्चित शक्ति हुन् । यो शक्तिलाई चिन्न नसकेर, कस्तुरीले आफ्नो शरीरको बीना थाहा नपाएर सुगन्धको स्रोत खोज्न दोडिएजस्तो युवा खोज्ने भन्दै धेरै तलतल र बाहिर–बाहिर मात्रै नजर डुलाउने हो भने पनि गतिलो पार्टी बन्दैन । भुइँस्तरको संगठनमा काम नगरेका, संगठनका विभिन्न तहगत संरचनामा काम नगरेका युवाले पार्टी निर्माणको भाव समात्न सक्दैनन् भन्ने कुरा बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी निर्माणमा गरेको अभ्यासले प्रमाणित गरिसकेको छ । यो कोर्सको नकारात्मक पाठ त्यताबाट पनि सिक्दा राम्रो हुनेछ ।

हो, केही नेताको गलत स्वभाव, जीवनशैली र महत्वाकांक्षामा सहपाठी भएर शक्ति र सत्ताको दुरुपयोग गर्दै पार्टीलाई बदनाम गरेर अझै पनि ठुल्ठूला डंका पिटेर आफूहरूले नै पार्टीको मूलखाँबो थेगेको फुइँ हाँक्ने झन् बढी करप्टेड युवाहरू पनि पार्टीमा नभएका होइनन् । तर ती समग्र यो उमेरसमूहका युवाहरूको प्रतिनिधि होइनन् । सबैलाई एउटै घानमा हाल्नाले पनि सत्य मर्छ । एक रुपैंयाँ पार्टीको नाममा चन्दा उठाएर नखाएका, मुद्दामामिला मिलाउने भन्दै कमिशन खाने काम नगरेका, पार्टीको नाम र हैसियत बेचेर कुनै पनि गलत काम नगरी इमान बचाएर बसेका क्षमतावान नैतिकवान युवाहरू पनि पार्टीमा छन् भनेर देख्नसक्ने नजरको ढकनी छनोटकर्ता र सिफारिसकर्ता नेताहरूले खुला राख्न जरुरी छ ।

नयाँ काम पुरानै चेतना र तरिकाबाट गर्न सकिँदैन । पुरानै मूल्य मान्यताबाट गर्न सकिँदैन । बुढेसकाल भइसकेपछि पुराना आग्रह–पूर्वाग्रह त्याग्न पनि गा¥हो हुने रहेछ । तर, निर्णायक ठाउँमा बसेपछि त्यस्ता संकीर्णता त्याग्ने हिम्मत राख्नै पर्छ । मूल्यांकन गर्नेले आग्रह–पूर्वाग्रह पाल्नेबित्तिकै सत्य मर्छ । कसैले वस्तुवादी आलोचना गर्ने हिम्मत गर्छ भने सबैभन्दा उत्तम मित्र त्यही हो भन्ने हिम्मत नेतामा हुनै पर्छ । आलोचना गर्न पाउनु तल्ला कमिटी र जनताको अधिकार हो । यसैका आधारमा मूल्यांकन प्रभावित हुनु हुँदैन । सकारात्मक परिणामको अपेक्षा गरौं ।

टिप्पणीहरू